News Summary
Generated by OK AI. Editorially reviewed.- मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चार पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा उपस्थित भई वाम आन्दोलनबारे विमर्श गरेका छन् ।
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिणामबाट पाठ सिक्दै कम्युनिस्ट शक्तिहरूलाई कार्यशैली र जनसम्बन्ध सुदृढ गरी एकजुट हुन आग्रह गर्नुभएको छ ।
- नेकपाका नेताहरूले वाम एकता र सहकार्यको आवश्यकता औंल्याउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने पार्टीका नीतिहरू सही रहेको भन्दै अडान कायमै राख्नुभएको छ ।
१४ असार, काठमाडौं । एकअर्कालाई सिध्याउनेगरी खुलेआम संघर्ष गर्दै आएका कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिएका छन् ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउण्डेसनले गरेको कार्यक्रममा कम्युनिस्ट पृष्ठभूमिका चार जना पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एउटै मञ्चको अतिथि बनाएको हो ।
पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल अतिथि–वक्ता थिए । जबकी समायान्तरमा यी सबै नेता एकअर्काविरुद्ध लडेका छन्/लड्दै छन् ।
अघिल्लो वर्ष १४ असारमा मनाइएको मदन जयन्तीकै सन्दर्भलाई उदाहरणका रुपमा लिन सकिन्छ । ७४औं मदन जयन्तीको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् ।
आफ्नो विकल्पमा भण्डारीले एमालेको नेतृत्व लिनेगरी सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि त्यही सभाबाट ओलीले मदन भण्डारीकै अपमान हुनेगरी बोलेका थिए ।
चार वटी श्रीमती र सहकारी ठगीको आरोप लागेको भनेर मदनप्रति अपमान गरेका ओलीले विद्याको पार्टी सदस्यता नै नवीकरण नगर्ने निर्णय लिएका थिए । ओलीसँग विवादकै कारण माधव नेपाल र झलनाथ खनालले आफैं संस्थापक भएर बनाएको एमाले छोडेका हुन् ।
एमाले पृष्ठभूमिकाका ओली, नेपाल र खनालविरुद्ध प्रचण्डले दश वर्षे सशस्त्र संघर्षकै नेतृत्व गरेका थिए । यी नेताहरूबीच पछिल्लो संघर्षको शृङ्खला भने ५ पुस ०७७ मा ओलीले प्रतिनिधि सभाको विघटन गर्ने असंवैधानिक निर्णय गरेपछि शुरु भएको हो ।
प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक निर्णयकै कारण एमाले र माओवादीबीच ०७४ मा जुटेको एकता टुटेको थियो भने एमाले विभाजित भएको थियो ।

एमाले विभाजित हुँदा नेकपा एकीकृत समाजवादी बनाएका माधव र झलनाथ अहिले प्रचण्डसँगै नेपाली कम्युनिस्ट पार्टीमा छन् ।
यसरी एकअर्काविरुद्धको संघर्षका क्रममा अलग–अलग भूमिकामा पुगेका नेताहरूलाई फाउण्डेसनले एउटै मञ्चमा उभ्याएर कम्युनिस्ट आन्दोलनबारे विमर्श गराएको छ । फाउण्डेसनका सदस्य सचिव भेषराज अधिकारी भने यसलाई संयोग मात्र मान्छन् ।
‘मदन भण्डारीको जन्मजयन्तीमा उहाँको योगदानलाई हामीले वर्षेनी यसरी सम्झँदै आएका छौं, यसपटक थोरै भिन्न शैलीमा सम्झियौं,’ उनी भन्छन्, ‘यसले वाम आन्दोलनलाई सहयोग पुगेको हुन सक्छ, तर हाम्रो मूल उद्देश्य मदन भण्डारीको योगदान सम्झनु हो ।’
सदस्य सचिव अधिकारीले संयोग भनेपनि राजनीतिक घटनाक्रम, निकट विगतका शक्ति–संघर्ष र नेताहरूको अभिव्यक्तिले भने फाउण्डेसनको उद्देश्य लुक्दैन । पूर्वराष्ट्रपति भण्डारी सल्लाहकार रहेको फाउण्डेसनले कम्युनिस्ट पार्टीहरूबीच एकता गराउने उद्देश्य राखेरै यो कार्यक्रम तय भएको बुझिन्छ ।
तिक्ततापूर्ण सम्बन्धमा रहेका नेताहरूलाई एउटै मञ्चमा उभ्याउनुको अर्थ वाम एकताको चाहना नै भएको भण्डारी निकट एक नेता पनि स्वीकार्छन् ।
‘गत चुनावको नतिजाले कम्युनिस्ट आन्दोलनलाई संकटतिर धकेलेको छ । तर कम्युनिस्टहरू विभाजित मनस्थितिमा छन्,’ उनी भन्छन्, ‘यस्तो स्थितिमा पूर्वराष्ट्रपतिले पहल कम्युनिस्ट एकजुट हुन्छन् भने राम्रो हो ।’
उत्साहित प्रचण्ड, ओलीले मञ्च मात्र प्रयोग गरे
एमाले र नेकपाका शीर्ष नेतृत्वलाई फाउण्डेसनको ब्यानरमा एउटै मञ्चमा राखेर पूर्वराष्ट्रपति भण्डारीले चुनावी नतिजाप्रति गम्भीर बन्न आग्रह गरिन् ।
‘हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ,’ लिखित सम्बोधन गरेकी भण्डारीले भनिन्, ‘यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ ।’
तर कम्युनिस्ट आन्दोलन सकिएको अर्थमा चुनावी नतिजालाई नबुझ्न आग्रह गरिन् । ‘कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निकर्ष निकाल्नु उचित हुँदैन,’ भण्डारीले भनिन् ।
नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको सभागृहमा पूर्वराष्ट्रपति भण्डारीले दिएको सम्बोधनमा भन्दा पनि यो कार्यक्रमको प्रबन्ध मिलाएकोप्रति धेरैको चासो थियो ।
नेकपाका संयोजक प्रचण्डले त यो कार्यक्रमलाई ०७४ सालको चुनावी सहकार्य घोषणा सँगै तुलना गरे । ‘०७४ सालको निर्वाचन आउँदै थियो, हामीले यही हलमा कार्यगत एकता, निर्वाचनमा सहकार्यको घोषणा गरेका थियौं,’ सम्बोधनको शुरुमै प्रचण्डले भने, ‘त्यतिबेलाका प्रमुख दुई वटा पार्टीहरूका बीचमा र त्यहीबाट पार्टी एकतामा जाने उद्घोष पनि गरेका थियौं । आज फेरि हामी तिनै दुई वटा पार्टीका नेताहरू मात्रै छौं । हल यही नै हो ।’ प्रचण्डले यसो भन्दा हल तालीले गुञ्जिएको थियो ।
प्रचण्डले वामपन्थी र देशभक्तहरूबीच सहकार्य आवश्यक रहेको तर्क गरे ।
‘हामीले ढिलो नगरी राष्ट्रिय स्वाधिनताको पक्षमा, निरंकुशताको विरुद्ध, फासिज्मको विरुद्ध, वैदेशिक दबाब हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ,’ प्रचण्डले भने ।

यसको अर्थ तत्काल पार्टी एकता भने नहुने पनि उनको प्रष्टोक्ति थियो । ‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो बुझ्नै सकिएन भनेर पनि कुरा गर्छन् मलाई अनौठो लाग्छ,’ प्रचण्डले भने, ‘मैले कही पनि भोलि नै पार्टी एकता गरौं, बेलुका नै पार्टी एकता गरौं भनेको पनि छैन । सहकार्य चाहिँ आजै सकिन्छ भने आजै गरौं । भरे सकिन्छ भने भरे गरौं, भोलि सकिन्छ भने भोलि नै गरौं ।’
शुरुमै बोलेका पूर्वप्रधामन्त्री झलनाथ खनाल भने वाम एकताको पक्षमा तुलनात्मक उत्साहित थिए । वाम एकताको पक्षमा उनले लामै व्याख्या गरेका थिए । ‘एउटा देशमा एउटा कम्युनिस्ट हुन्छ, हजार हुँदैन,’ खनालले भने, ‘अब हामीले कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्ने संकल्प गरौं । त्यस अवधिसम्म कार्यगत एकता गरौं ।’
पूर्वप्रधानमन्त्री माधव नेपालले भने सतर्कतासहित एकताको पक्षमा बोले । ‘अहिले चर्चामा आउने गरेको छ । कम्युनिस्ट पार्टी आजै मिले, भोलि मिले, विहानै मिले, बेलुकै मिले, यो प्रश्नको जवाफ दिदा मेरो पनि दिमाग खराब भइसक्या छ,’ उनले भने, ‘म त्यस्तो देखिरहेकै छैन ।’
तर समायान्तरमा एकता गर्न भने उनी पनि तयार देखिए । ‘विषय मिलेको कुरामा मिलेर अगाडि बढ्ने हो । सबै विचार मिल्दै गयो भने, मन मिल्दै गयो भने, भावना मिल्दै गएपछि एकताबद्ध हुने पनि हो,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘आज मिलेको छ, भोलि फेरि फुटेको छ । त्यो काम नहोस्, विगतमा पनि त्यस्तो भएको छ ।’
०७४ मा भएको एकता टिक्न नसक्नुको समीक्षा गरेर मात्रै फेरि एकताको हात फैलाउन सकिने माधव नेपालको सर्त थियो । उनको सर्तमा त्यही मञ्चबाट प्रचण्डले पनि सहमति जनाए ।
तर एमालेका अध्यक्ष ओलीले भने यो मञ्चलाई आफ्नो पक्षमा उपयोग मात्रै गरे जस्तो देखियो । अरु वक्ताहरू भन्दा लामो समय लिएर बोलेका ओलीले जेनजी आन्दोलन पछाडि सार्वजनिक रुपमा राख्दै आएका अडानलाई नै निरन्तरता दिए ।
ओलीको सम्बोधनमा वाम आन्दोलनको कुनै चिन्ता थिएन । बरू अरु लोकतान्त्रिक र कम्युनिस्ट पार्टीहरूले कुरा नबुझ्दा प्रतिक्रियावादीहरूले खेल्ने अवसर पाएको तर्क ओलीको थियो ।
लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिएर, पुराना दलहरूबीच गठबन्धन हुन नसकेर र जनतालाई प्रतिक्रियावादीले भ्रममा पारेकाले चुनावी नतिजा बिग्रिएको निष्कर्ष ओलीले सुनाएका थिए ।
प्रचण्ड, माधव र झलनाथले समाजवादी आन्दोलनलाई ध्यानमा राखेर कम्युनिस्ट एकता हुनुपर्ने तर्क गर्दा ओलीले उल्टै प्रतिवाद गरेका थिए ।
‘हामी यतिखेर कहाँबाट समाजवाद निर्माण गर्नु, यहाँ प्रतिगमन गरेर हैरान छ । यतिबेला यो प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो,’ ओलीले भने, ‘प्रतिगमनलाई पराजित गर्नुपर्छ यतिखेर सबै लोकतान्त्रिक शक्तिहरू, सबै वामपन्थी शक्तिहरू मिलेर ।’
एमालेले कसैसँग एकता गर्न भनेर आफ्नो सही नीतिहरूमाथि छलफल नगर्ने अडान पनि ओलीले लिए । ‘हामीले असाधरण काम गरेका हौं । हाम्रा नीतिहरू सही छन् । हाम्रा नीतिहरू विल्कुल सही छन्,’ ओलीले भने, ‘त्यसकारण मैले भन्ने गरेको छु, नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदैछैन ।’
जेनजी आन्दोलनका क्रममा सेनाको हेलिकोप्टरबाट ज्यान जोगाउनु परेका ओलीका निम्ति यो पहिलो सार्वजनिक कार्यक्रम थियो । जहाँ, उनले आफ्ना पुरानै अडानलाई निरन्तरता दिए ।
ओलीले जस्तो अडान लिएपनि दुवै पार्टीका नेताहरूले यो कार्यक्रमलाई वाम एकताको बहस सुरु गरिएको रुपमा बुझेका छन् । ‘भोलि के हुन्छ थाहा छैन, तर तिक्ततापूर्ण सम्बन्धमा रहनु भएका नेताहरू एउटै मञ्चमा उभिएको सन्देश देशभर गयो,’ नेकपाका एक शीर्ष नेता भन्छन्, ‘अब तलतलसम्म यो विषयमा छलफल हुन सक्छ ।’
व्यक्तिगत रुपमा भने फाउण्डेसनले जुराइदिएको यो कार्यक्रमले स्वयं पूर्वराष्ट्रपति भण्डारी, ओली, प्रचण्ड र माधव नेपाललाई पनि लाभ पुगेको छ । सवैभन्दा बढी लाभ त भण्डारीलाई नै भएको छ । किनकी एमालेको सक्रिय राजनीतिमा आउन ओलीले उनको पार्टी सदस्यता नै नवीकरण नगर्ने निर्णय लिएका थिए । तर आज ओली आफैं विद्या भण्डारीलाई प्रमुख अतिथि मानेर कार्यक्रममा सहभागी भए ।
पार्टीभित्र पनि आफ्नो गुटले मात्रै सम्झने अवस्थामा पुगेका ओलीका निम्ति आफ्नो कुरा राख्न यो मञ्च अवसर बन्यो । नेकपाका नेताहरूलाई पनि एमाले नेतृत्वसँगै उभिएर कम्युनिस्ट एकताको बहस गर्ने अवसर पाए ।
प्रतिक्रिया 4