News Summary
Generated by OK AI. Editorially reviewed.- रेनबो डिसएबिलिटी नेपालले प्राइड महिनाका अवसरमा १२ असारमा राष्ट्रिय पोशाक डिजाइन प्रतियोगिता सम्पन्न गरेको छ।
१४ असार, काठमाडौं । रेनबो डिसएबिलिटी नेपाल (आरडीएन) को आयोजनामा राष्ट्रिय पोशाक डिजाइन प्रतियोगिता सम्पन्न भएको छ । प्राइड महिना २०२६ को अवसर पारेर असार १२ गते पोशाक डिजाइन प्रतियोगिता आयोजना गरिएको हो ।
विविधता, समावेशिता तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वियर) समुदायको पहिचान र प्रतिनिधित्वलाई सिर्जनात्मक रूपमा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन् । प्रतियोगितामा विभिन्न समुदायका सहभागीहरूले आफ्ना मौलिक पोशाक डिजाइन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा डिजाइनर आर्मन्टद्वारा तयार गरिएका राष्ट्रिय पोशाकहरू विभिन्न अल्पसंख्यक समुदायका १० जना मोडलले प्रदर्शन गरेका थिए । नेपाली मौलिकता, विविध सांस्कृतिक पहिचान र समावेशी सोचलाई समेटिएका ती पोशाकहरूले विशेष ध्यान आकर्षित गरेका थिए ।

कार्यक्रमका क्रममा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो । त्यसपछि आयोजित प्रतियोगितामा सहभागीहरूले आफ्नो सिर्जनशीलता, मौलिकता र समावेशी अवधारणामा आधारित डिजाइन प्रस्तुत गरेका थिए । निर्णायकहरूको मूल्यांकनपछि उत्कृष्ट डिजाइनलाई विजेता घोषणा गरी पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा अमेरिकन हिमालयन फाउन्डेसन, एफजेएस इन्टरनेशनल लिमिटेड, क्वियर युथ ग्रुप, युवा तथा प्लान इन्टरनेशनल लगायत संस्थाहरूको सहकार्य रहेको थियो ।

कार्यक्रममा सहभागी डिजाइनरहरूले कला र सिर्जनशीलतालाई सामाजिक रूपान्तरणको माध्यमका रूपमा प्रस्तुत गरेका थिए ।
यस प्रतियोगिताले नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको दृश्यता, सम्मान र सामाजिक स्वीकार्यता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ ।
प्रतिक्रिया 4