News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट हेरी विभिन्न चित्र बनाउने गरिएको भन्दै गुनासो व्यक्त गरेका छन् ।
- प्रचण्डले भने, 'म विल्कुल हतारिएको छैन, मैले क्रमभंग भन्यो भने के उत्पात गर्न थाल्यो भन्छन्, यो त प्रकृति र मानव समाजको नियम हो ।'
- परिस्थिति फेरिएसँगै कम्युनिस्ट नेताहरू पनि फेरिनुपर्नेमा जोड दिँदै उनले सधैं एकै ठाउँमा बस्ने नेताहरू कहिल्यै अगाडि बढ्न नसक्ने जिकिर गरेका छन् ।
१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बेला बेलामा विभिन्न कोणबाट विश्लेषण गर्दै विभिन्न चित्रहरू बन्ने गरेको भन्दै दुखेसो गरेका छन् ।
उनले आफूले क्रमभंगको कुरा गर्दा उत्पात नै गर्न थाल्यो भन्ने गरेको टिप्पणी गरे ।
नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले एउटै क्रममा बस्ने नेता कहिँ पनि नपुग्ने जिकिर गरे ।
आफू एकताका लागि नहतारिएको पनि उनको भनाइ थियो ।
‘म विल्कुल हतारिएको छैन । हुन त मलाई मानिसहरूले विभिन्न कोणबाट हेर्दै विभिन्न चित्र बन्ने गरेको छ । मैले क्रमभंग भन्यो भने के उत्पात गर्न थाल्यो भन्छन् । यो त प्रकृति, समाज र मानव समाजको नियम हो, निरन्तरतामा क्रमभंग । मैले त्यही भन्ने गर्छु । गरिराख्नुपर्ने हुन्छ, क्रमभंग,’ प्रचण्डले भने।
आफ्ना केही साथीहरू सधैं एकै ठाउँमा बस्ने गरेको र भिक्षु बनेर घण्टी बजाइरहेको टिप्पणी पनि उनले गरे ।
‘क्रममै बस्नुभयो भने, जानुभयो । हाम्रा धेरै साथीहरू बसिरहेका छन् । बौद्ध भिक्षु रहेछौं घण्टी बजाइराख्छु भन्या छ, अहिले पनि नयाँ जनवाद नै भनेको छ, त्यो कुराले कहिँ लाँदैन,’ प्रचण्डले भने, ‘अहिले परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ । यसलाई तपाईं गतिशील ठान्नुहुन्छ, परिवर्तनको बुझ्ने नेता ठान्नुहुन्छ, धन्यवाद । अर्को ठान्नुहुन्छ, त्यो पनि धन्यवाद ।’
परिस्थिति अनुसार विचारलाई परिवर्तन गर्ने क्षमता कम्युनिस्टमा हुनुपर्ने प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया 4