२७ पुस, विराटनगर । विराटनगरस्थित देशकै जेठो जुट मिल जोगाउन भन्दै स्थानीयवासीले बिहीबार प्रर्दशन गरेका छन् ।
मिल सञ्चालक समितिले गैरकानुनी तरिकाले हत्याएको शेयर सरकारलाई फिर्ता गर्न माग गर्दै उनीहरुले जुटमिल क्षेत्रमा प्रर्दशन गरेका हुन् ।
विराटनगर जुटमिल क्षेत्रमा रहेको हडताली हाडबाट विराटनगर जुटमिल बचाउ अभियान समितिको अगुवाइमा निस्केको जुलुस बजार परिक्रमा पछि जुटमिल परिसरमा आएर कोणसभा गरेको थियो ।
कोणसभामा बोल्दै जुटमिल बचाउन अभियान समितिका सदस्य र स्थानीयवासीहरुले बन्द उद्योग संचालन गर्ने बहानामा जुटमिलको सम्पत्ति बिक्री गरिएको र शेयर पनि गैरकानुनीरुपमा व्यक्तिगत बनाएर अर्बाैको सम्पत्ती हडप्न खोजिएको आरोप लगाएका छन् ।
जुटमिल बचाउन अभियानका संयोजक धर्मानन्द सञ्जेल, जुटमिलका पूर्व कर्मचारी आइतबहादुर तामाङले विराटनगर जुटमिल सञ्चालन गराउन आफूहरुले वर्षौदखि पहल गर्दै आएको तर जुटमिलको सम्पत्ति व्यक्त्तिको हातमा जान दिन नहुने धारण राखेका थिए ।
उनीहरुले वर्तमान संचालक समितिले जुटमिल संचालन गर्ने बहाना बनाएर मिलको सम्पत्ति बेचबिखन गर्न थालेको र शेयर समेत हत्याइसकेकोले जुटमिलको अस्तित्व संकटमा परेको बताएका थिए ।
राष्ट्रिय उद्योगका रुपमा चर्चित विराटनगर जुटमिलको ६८ प्रतिशत सरकारी शेयर वर्तमान सञ्चालक समितिले गैरकानुनी तरिकाले ३३ प्रतिशतमा झारेको थियो ।
डेढ महिना अघि मात्र मिल पुनः सञ्चालनमा
देशकै जेठोे उद्योग बिराटनगर जुट मिल्स गत १० मंसिरमा मात्रै पुनःसञ्चालनमा आएको आएको हो ।
१९ भदौ ०७२ बाट बन्द भएको मिल नयाँ व्यबस्थापनका साथ करिब तीन वर्षपछि पुनःसञ्चालन ल्याएको हो ।
विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक निलहरी काफ्लेका अनुसार पहिलो चरणमा मिल्समा जुटको सुतली र बोरा मात्रै उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।
विराटनगर जुट मिल्समा रहेको दुई वटा नयाँ र पूराना मिल मध्ये पहिलो चरणमा उद्योग पूरानो मिल्सलाई सञ्चालनमा ल्याएका थियो ।
३ करोडको लागतमा एउटा मिल्स सञ्चालन भएको छ र थप २ करोड पूजीको व्यबस्थापन गरेर पुस महिनादेखि दुबै मिल्स पूर्णरुपमा सञ्चालनको तयारीमा रहेपनि हालसम्म सञ्चालनमा भने आउन सकेको थिएन ।
मिलले हाल दैनिक ५६ टन जुट सामग्री उत्पादन गर्दै आएको थियो भने ८५ जनाले रोजगारी पाएका छन् ।
२०७२ साल पुस २१ गतेदेखि कम्पनी ऐन अनुसार मिल्सले नयाँ ब्यबस्थापन पाएको छ ।
नयाँ व्यबस्थापनले आफ्नो अनुकुल मिल्स सञ्चालनका लागि सरकारको सेयर घटाएर ३३ प्रतिशतमा पुर्याएको छ ।
नयाँ व्यबस्थापनले मिलको पूजी वृद्धिका लागि यस अघि २५ हजार कित्ता सेयर बिक्री गरको थियो ।
मिल सञ्चालक समितिका अनुसारप्रति कित्ता १६० रुपैयाँको दरमा बिक्री हुँदा ४० लाख पूजी बृद्धि भएको छ ।
मिल्सको कूल ९३ हजार ७ सय ५० कित्ता सेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता सेयर रहेको छ ।
यसअघि मिल्स सञ्चालनका लागि सरकारबाट पटक पटक गरी ल्याएको १ सय १३ करोड ऋण तिर्न बाकी रहेको थियो ।
सरकारले यस अघि सरकारले भारतीय विलसम इन्टरनेशनल कम्पनीलाई भाडामा मिल्स सञ्चालनका लागि दिएको थियो । तर, केही समय मिल सञ्चालन गरेर विविध समस्या देखाउँदै विलसन कम्पनी भारत फर्केपछि १९ भदौ २०७२ बाट मिल्स पूर्ण रुपमा बन्द अवस्थामा रहेको थियो ।
वि.सं. १९९३ मा विराटनगरमा जुट मिल स्थापना भएको थियो ।
प्रतिक्रिया 4