२९ चैत, काठमाडौं । एकाएक नोटबन्दीको घोषणा भएपछि भारतमा अर्बौ स्रोत नखुलेका सम्पत्ति रातारात खोस्टा भए ।
तर, नोटबन्दीको मारमा नेपाली पनि परे । नेपालमा रहेको ५०० र हजारका भारु सटहीका लागि अझै कुनै व्यवस्था भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३-२५ मा भारत भ्रमण गर्दा पनि भारु सटही एजेण्डामा परेको थियो ।
यद्यपि अझै ठोस उपलब्धी भएको छैन ।
तर, नेपालमा रहेको ५०० र हजारका भारु साटिने आशमा भारतबाट नेपालमा पैसा ओसार्ने प्रयास सुरु भएको छ ।
प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित होटल सांगि्रलाबाट भारतमा प्रतिबन्धित ५ सय र १ हजार रुपैयाँ दरको ४९ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मोरङको कटहरी गाउँपालिका ३ का ५३ वर्षीय सुनिलदेव वैश्य र नुवाकोट शिवपुरी गाउँपालिका ५ का ५० वर्षीय चेतबहादुर नेपालीलाई पक्राउ गरेको हो ।
उनीहरुलाई एक हजार दरका २२ सय ६ थान र ५ सय दरका ५४५१ वटा नाेटसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
सीमावर्ती क्षेत्रबाट ठूलो परिणाममा रकम सङ्कलन गरेर काठमाडौंसम्म ल्याउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंले छापा मारेको थियो ।
पछिल्लो समय भारतीय प्रहरीले नेपाल पठाउन लागिएका प्रतिबन्धित ५ सय र १ हजारका नोट थुप्रै बरामद भएको छ ।
हालै मात्र कानपुरमा ९६ करोड बराबरका प्रतिबन्धिन नोटसहित दुई जना पक्राउ परेका थिए भने मिरिकमा पनि ५ सय र १ हजारको नोट २५ सय करोड बरामद भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।