Comments Add Comment

बाहिर गोरेका गुण्डाको घेराबन्दी, भित्र विभत्स मृत्यु

एयरपोर्टमा जागिर खाएर धनी बन्ने हो ? सानु बनबाट पाठ सिक्नोस् !

२० वैशाख, काठमाडौं । मानिसलाई रातारात धनाढ्य हुने ‘भुत’ ले जब समाउँछ, त्यसबाट बाहिर निस्कन सजिलो छैन । राम्रो काम गरेर सम्पन्न हुने धैर्यता धेरैमा रहँदैन र यही कारणले मानिसहरु गलत बाटोमा पुग्छन्, कमाउँछन् र केही समयसम्म उनीहरु भोगविलासमा रमाउँछन् पनि । तर, कहिलेसम्म ?

एक पटक यस्तो समय आइलाग्छ, जब खाएको ‘विष’ को असर देखिन्छ । र, अन्त्यमा भाग लाग्छ, भयानक मृत्यु । बूढापाकाले त्यसै भनेका होइनन्- सतको धन टिकाऊ हुन्छ, असतको धन टिकाउ हुँदैन ।

यो प्रशंग हो, एयरपोर्टमा तेलको ट्याङकरमा ठोकिएर आत्महत्या गरेका सानु बनको । साढे ३३ किलो सुनकाण्डमा एकपछि अर्को तस्बीर बाहिर आउँदै गर्दा चाहेर पनि र्फकन नसक्ने गरी हराएका एक पात्र हुन्, सानु बन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सामान्य कर्मचारी बनले सामान्य भएर जागिर खाइरहन चाहेनन् । त्यसैले जोडिए सुन तस्करको जालोमा । जब तस्करको सम्पर्कमा उनी पुगे उनको सम्पन्नता अग्लियो । काठमाडौंको कोटेश्वर र नयाँ बस्तिमा दुईवटा घर ठड्याए । परिवारजन उनले कमाएको पैसामा रमाए । सामान्य कर्मचारीको बढ्दो सम्पन्नतामा धेरैलाई अचम्म लागेन । किनकि उनी ‘एयरपोर्टका कर्मचारी’ थिए ।

हुन पनि मान्छेले त्यसै एयरपोर्ट भन्सारलाई कमाउने ठाउँ भनेका हैन रहेछन् । ०६८ सालसम्म सामान्य कर्मचारी रहेका सानु बनले त्यसपछि कर्मचारी भएरै कमाउन सकिने गलत बाटो बुझे । तर, यो नर्कको बाटो सावित भयो ।

०६८ साल अघिसम्म एयरपोर्टमा सुन तस्करको मेलोमेसो मिलाउने काम वीरेन्द्र भनिने व्यक्तिले गर्थे । त्यसपछि उनले गोरे भनिने चूडामणि उप्रेतीलगायतका तस्करसँगको काम छाडेपछि तस्करहरु नयाँ व्यक्तिको खोजीमा थिए ।

त्यहीबेला तस्करसँगको सम्पर्कमा पुगे सानु बन । गोरेका भरियाले दुबईबाट ल्याएको सुन एयरपोर्टमा सानु बनले नै जिम्मा लिन्थे । त्यही सुन एयरपोर्टबाट निकालेर गोरेसम्म पुर्‍याउन उनको भूमिका रहन्थ्यो । र, उनी तलबबाहेक तस्करको कमिसनमा लोभिन थाले ।

दिनहरु यसैगरी चलिरहेका थिए । जसरी होस्, सानु बनको कमाइ भइरहेकै थियो । तर, सानुको जीवनमा नयाँ संकट तब आयो, जब गोरे समूहको साढे ३३ किलो सुन एयरपोर्टबाट निकालिसकेपछि अनामनगरबाट हरायो ।

घटना गत माघ ९ गतेको हो । मोहनकुमार अग्रवालसमेतको लगानीमा दुबईबाट ल्याइएको साढे ३३ किलो सुन जब हरायो, तब सानु बन तस्करहरुको शंकामा घेरिए ।
उक्त सुन सानु बन र तक्ले भनिने पुण्यप्रसाद लामा तामाङले अनामनगरमा रहेको गोरेको अफिससम्म पुर्‍याउनुपर्ने थियो । तर, बीचबाटै सुन हराएपछिको भवितव्य सानुका लागि भयानक थियो । र, यही कारण उनी केही साताको डिप्रेसनपछि एयरपोर्टभित्रै आत्महत्य गर्ने निश्कर्षमा पुगे ।

सुन कहाँ गयो भन्दै गोरेका गुण्डाहरुले सानुलाई लगातार धम्की दिन थाले । गोरे लगायतलाई मोहनकुमार अग्रवालले जेसुकै गर्न परोस् सुन पत्ता लगाउनु भनेर दिएको निर्देशन सानुलाई पनि थाहा थियो । मान्छे मार्न परेपनि सुन खोज्न पछि नपर्ने तस्कर समूहसँग सानुलाई तर्किन अप्ठेरो भयो ।

सुन हराएपछि सानु एयरपोर्टबाट केही दिन बिदामा बसे । उनी ८/९ दिनसम्म लगातार बिदामा बस्दा परिवारजनमा पनि चिन्ता बढ्यो । सानुले आˆनो मात्रै होइन, परिवारकै जीवन धारिलो तरबारमुनि परेको देखिरहेका थिए । यसैले उनमा तनाव झनै बढेको थियो । कसैसँग राम्ररी नबोल्ने, धेरैबेर फोन आइरहँदा पनि नउठाउने गर्थे । उनी सधैं तर्सिएको अवस्थामा देखिन्थे ।

सानुका छोरा पवन बनले प्रहरीसँगको वयानमा बुवाको अवस्थाबारे बताउँदै भनेका छन्, उहाँ डर, त्रास र भयमा हुनुहुन्थ्यो । सोध्दा लाक्पा शेर्पासमेत केही केटाहरु मिलेर मलाई पिटे भन्नुहुन्थ्यो ।

त्यो समय सानुलाई सुन तस्करहरुबाट लगातारजस्तो फोन आउँथ्यो । फोन नउठेपछि गोपालकुमार श्रेष्ठलगायतकका केही व्यक्ति घरमै लिन आउँथे । यसैले सानु कहिले कोटेश्वरको घरमा त, कहिले नयाँबस्तीको घरमा बस्थे । आफ्ना तस्कर साथीहरु बोलाउन आएपछि जस्तै बिरामी अवस्थामा भए पनि उनी सरक्क जान्थे ।

सानु जहाँ पुग्थे, तस्कर र गुण्डाले घेरिएका हुन्थे । उनी उठेको, बसेको, खाएको हरेक कुराको जानकारी तस्करलाई थियो ।

त्यसबीच सुन कहाँ छ भन् ? कहाँ गयो ? त्यसको सबै पैसा तिर् । नत्र जे पनि हुन सक्छ भन्ने धम्कीपछि बनले २० लाख रुपैयाँ तस्करलाई बुझाएका थिए । तैपनि तस्करले उनलाई छाडेनन् ।

पाप धुरीबाट कराइसकेपछि काल पछि लाग्छ भन्ने भनाइ सानुमा मिल्न थाल्यो । अवैध काम गरेर रातारात धनी बन्ने उनको इच्छा कसरी बाँच्ने भन्नेतिर थुरियो । परिवार पनि उनको व्यवहार देखेर चिन्तामा थिए । उनीहरुले कुरोको चुरो नबुझे पनि सानुको आँखामा देखिएको डर बुझेका थिए । ठूलै केही हुँदैछ कि भन्ने भय सबैमा भयो ।

छिटै धनी बन्ने लालच गलत थियो भन्ने त्यसबेला आएर सानुले बुझेका थिए । तर, निकै ढीलो भइसकेको थियो । मान्छेलाई के चाहिन्छ ? जे छ त्यसले हुँदैन, पुग्दैन । जे छैन त्यही चाहिन्छ, नभै हुँदैन । जे छ र जे छैन त्यसैको बिचमा सन्तुलन मिलाउनु र रमाउनु नै सुख त हो । जतिबेला सानुले यो बुझे, साँच्चै नै धेरै ढीलो भइसकेको थियो ।

एयरपोर्ट, घर, बाटो जता जाँदा पनि सानु बन तस्करकै नजरमा हुन्थे । उनलाई कहिले पिट्ने, कहिले धम्क्याउने गर्थे । उनलाई एक-एक पल गाह्रो भएको थियो । तस्करसँग मिलेर कमाएको एक-एक रुपैयाँले पोलिरहेको थियो । जुन बाटोमा हिँडेका थिए, त्यसको अँध्यारो सुरुङमा पुगेर अड्किएको भान भएको थियो । नत पछाडि पर्खने बाटो बाँकी छ, न त अगाडि बढ्ने हिम्मत नै ।

सानु बन आफैंले खनेको भडखालोबाट बाहिर निस्कन चाहन्थे । गोरेका गुण्डादेखि टाढा रहन चाहन्थे । तब, कसैले सोध्न नसकोस्, साढे ३३ किलो सुन खै ? यसका लागि सानुले एउटै बाटो देखे, इच्छामृत्यु !

माघ २२ गते सुन तस्कर गोरेका गुण्डाहरुले विमानस्थल परिसरमा आएर सानु बनलाई बाहिर निस्कन भने । बनका साथीले उनी बाहिर नआउने बताए । उनलाई फेरि बोलाउन पठाइयो । एकै छिनपछि खबर आयो- सानु बनले त ट्यांकरमा ठोकिएर आत्महत्या गरिसके ।

निरन्तरको यातना र तनाव सहन नसकी उनले गत माघ २२ गते एयरपोर्टभित्रै गुडिरहेको ट्याङकरको अघि ठोक्किएर आत्महत्या गरे । एआर-२७ नम्बरको ट्याङ्करले किचिएर उनको मृत्यु भयो । शरीर क्षत विक्षत भयो । र, त्यससँगै अन्त्य भयो जसरी होस् धनी हुने एउटा असंगत सपना । र, अन्त्य भयो गोरेहरुको सुन-सूत्रको एक हिस्सा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment