१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज महनगरपलिकाका प्रमुख विजयकुमार सरावगीले विद्यालयमा समयमै हाजिर नहुने शिक्षकलाई कारबाही गरिने बताएका छन् ।
वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखाले त्रिजुद्ध माविमा आयोजना गरेको प्रधानाध्यापकहरुको भेलामा नगर प्रमुख सरावगीले सरुवा गरिएको विद्यलायमा नजाने शिक्षकलाई सेवाबाट हटाउने चेतावनी दिएका हुन् ।
‘अब पहिलाको जस्तो स्थिति छैन, समय बदलिएको छ, शिक्षकहरु पनि बदलिनुपर्छ, तोकिएको विद्यालयमा समयमा हाजिर नभइ विभिन्न बहाना र जालझेल गर्ने शिक्षकहरुलाई सेवाबाट हटाउने तयारीमा महानगरपालिका लागेको छ ,’ उनले भने ।
सरुवाको विषयलाई निहुँ बनाएर विद्यार्थीको भविष्य अन्यौलमा पार्न नमिल्ने उनले बताए । महानगरपालिकाले शिक्षककको दरबन्दी मिलानको तयारी गरिरहेको समयमा नगर प्रमुखको यस्तो भनाइ आएको हो ।
यसअघि वर्षौदेखि एउटै विद्यालयमा रहेका प्रधानाध्यापकको सरुवा गर्दा महानगरपालिकाले विद्यार्थी आन्दोलनको सामना गर्नुपरेको थियो ।
विद्यार्थी संख्या कम भएका विद्यालयलाई नजिकको विद्यालयमा गाभ्दा ती विद्यालयका प्राधानाध्यापक र शिक्षकहरुले अर्को विद्यालयमा जान आनाकानी गर्दै आएका थिए ।
नगरभित्र सञ्चालित सैब विद्यलयमा दिवाखाजाको व्यवस्था गरिएपछि विद्यार्थी संख्यामा वृद्धि भएको बताउँदै नगरप्रमुख सरावगीले सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गरिने बताए ।
महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले महानगरपालकाको शिक्षा समितिले निर्धारण गरेका अध्यापन तालिका अनुसार विद्यालयमा संचालन गर्न आग्रह गरे ।
उनले महानगरपालिकाले समायोजन गरिएका विद्यालयका शिक्षकहरुलाई खटाईएको विद्यालयमा अबिलम्ब हाजिर हुन निर्देशन दिए ।
भेलामा महानगरपालिका भित्र रहेका आधारभूत विद्यालय, प्राथमिक तथा मदरसाका प्रधानाध्यापकहरु सहभागी भएका थिए । वीरगञ्ज महानगरपालिकामा ९६ वटा सामुदायिक विद्यालय छन् ।