Comments Add Comment

प्रधानमन्त्रीको निर्देशनमा चल्यो खुलामञ्चमा डोजर !

१४ वैशाख, काठमाडौं । खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटरहरुमा शनिबार डोजर चल्यो । जस्ताले बारेर बसाइएका सटरमा डोजर लगाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य दलबलसहित पुगेका थिए ।

उनी सबै टहरा भत्काइसकेपछि मात्र फर्किए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सुरुमा केहीबेर देखिएपनि अन्तै कार्यक्रम छ भन्दै हिँडेका थिए ।

उपमेयर हरिप्रभा खड्की टहरा भइत्काइसक्दा पुगेकी थिइन् । मेयर शाक्यले शुक्रबार मात्र खड्कीलाई खुलामञ्चबारे अनुगमन गरेर रिपोर्ट पेश गर्न पत्र दिएका थिए ।

खड्कीका अनुसार उनले आइतबार यसबारे छलफल राखेकी थिइन् । तर, त्यसको अघिल्लो दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा डोजर चलाइएको छ ।

मेयर शाक्य अन्तै कार्यक्रम छ भनेर जानुले पनि डोजर चलाउने उनको निर्देशन होइन भन्ने प्रष्ट भएको छ । त्यसलाई पुष्टि गर्दै उपमेयर खड्कीले भनिन्, ‘माथिबाट आदेश आएपछि डोजर चलाएको जानकारीमा आएको छ ।’

खड्कीका अनुसार उनी एक कार्यक्रममा सहभागी हुन पात्लेवन पुगेकी थिइन् । जब खुलामञ्चमा डोजर चल्यो, त्यसपछि उनले खबर पाइन् । उनी आइपुग्दा टहरा भत्किसकेको थियो । ‘म त पात्लेवनमा एउटा कार्यक्रममा थिएँ,’ उनले भने, ‘मलाई यहाँ सटर भत्काइँदै छ भन्ने जानकारी नै थिएन ।’

काठमाडौंका प्रजिअ आचार्यले पनि माथिको आदेशमा महानगरसँग मिलेर डोजर चलाएको प्रतिक्रिया दिए ।

भीमसेन दासले दिए धन्यवाद

यसैबीच नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका कारण खुल्ला मञ्चका सटर हटाइएको भन्दै धन्यवाद दिएका छन् ।

खुलामञ्च संरक्षणको माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका प्रधान मेयर विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए । टहरा नहटाए थप आन्दोलन गर्ने उनको चेतावनी थियो ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै उनले भने, ‘सार्वजनिक सम्पत्ति जोगाउन सबै लाग्नुपर्छ । भूमाफीयाहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment