+
+
Shares

घरधनी पर्खिरहेका रित्ता घर : बसाइँसराइको चपेटामा नुवाकोट

अहिले नुवाकोटका अधिकांश बासिन्दाका कागजमा स्थायी बसोबास नुवाकोट नै होलान् तर बसोबास केही दिनको मात्रै हो। हजारौँ परिवार आज पनि दसैँमा गाउँ जान्छन्। माकुराको जालोले घेरिएको घरको ताला खोल्छन्, आँगन बढार्छन्, चाडपर्व मनाउँछन् र केही दिनपछि फर्कन्छन्। गाउँमै राम्रो विद्यालय, अस्पताल र रोजगारी हुन्थ्यो भने उनीहरू किन पुर्खाको जमिन छाडेर कोलाहलपूर्ण सहर जान्थे र? 

विनय अधिकारी विनय अधिकारी
२०८३ मंसिर ३ गते १०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको जनसङ्ख्या २०६८ र २०७८ को तुलना गर्दा १४ हजारभन्दा बढीले घटेको छ, र ग्रामीण भेगबाट बसाइँसराइ निरन्तर भइरहेको छ।
  • शिक्षा, स्वास्थ्य, रोजगारी र वैदेशिक रोजगारीले नुवाकोटका बासिन्दालाई काठमाडौँ र विदेशतर्फ धकेलिरहेको लेखमा उल्लेख छ।
  • अभाव टार्न र उपचार, पढाइ तथा रोजगारी गाउँमै उपलब्ध गराउन सके बसाइँसराइ रोक्न सकिने निष्कर्ष लेखमा निकालिएको छ।

नुवाकोटका थुप्रै घर आजभोलि रित्ता छन्। आँगन र करेसा झाडीमा परिणत हुँदैछन्। खाट–दराज धमिराले खाइरहेको छ, ढोकामा झुन्डिएको तालामा खिया लागिसकेको छ। काठमाडौँका घरमा भारतबाट बोराका बोरा चामल आइपुग्छ, तर नुवाकोटका सयौँ मुरी धान फल्ने पात्लेखेत र सिम्लेखेत बाँझो छ।

भोटेकोसी बाढी र त्यसपछिको दसैँतिहार बिदाको पछिल्लो दुई महिनामा मलाई गुर्जेभञ्ज्याङदेखि गोल्फुभञ्ज्याङसम्म, गल्छीदेखि सामरी भञ्ज्याङसम्म नुवाकोटको आधाभन्दा बढी भूभाग घुम्ने अवसर मिल्यो। बाढीले मुख्य सडक बन्द हुँदा तादीको मर्थुम हुँदै सूर्यगढीको लच्याङ, रसुवाको सरमथली, पार्च्याङ र बेत्रावती हुँदै कालिकास्थानसम्मको कठिन बाटो पनि हिँडियो। नुवाकोटका आधाभन्दा बढी ठाउँको यात्रामा मैले बाटो मात्र होइन, समाज पनि पढ्ने प्रयत्न गरेँ।

राउतबेसीका ६५ वर्षीय यज्ञबहादुर केसीले जीवन पहाडको आफ्नै खेतमा बिताए। छोरा ज्ञानकुमारलाई गाउँकै विद्यालयमा पढाए, थप पढाइका लागि राजधानी पठाए। तर पढ्दै काम गर्न नसकेपछि ज्ञानकुमारले दुबईको बाटो रोजे। श्रीमती पनि दुबईमै, छोराछोरी गाउँमा बाबुआमासँग। छोराछोरी विद्यालय जान थालेपछि उनको चिन्ता बढ्न थाल्छ, ‘गाउँमा पढेर मेरा छोराछोरी के बन्लान्?’

विज्ञान र गणितका शिक्षक कति समय टिक्छन् टुङ्गो हुँदैन, कम्प्युटर त परको कुरा। बाआमा दमका रोगी छन्, पालिकास्तरीय अस्पताल पुग्न एक घण्टा लाग्छ, पुग्दा कहिले डाक्टर हुँदैनन्, कहिले मेसिन बिग्रिएको हुन्छ। यी सबै झेल्नुभन्दा उनले १० रोपनी खेत बेचे र काठमाडौँमा फ्ल्याट लिएर सपरिवार सरे।

‘खेत बेच्दा मन रोयो,’ यज्ञबहादुर भन्छन्, ‘तर उपचार र नातिनातिनाको भविष्य गाउँमा रोक्न सकिँदो रहेनछ।’

यो घटना अपवाद होइन। जनगणना २०६८ र २०७८ को तुलना गर्दा नुवाकोटको जनसङ्ख्या १४ हजारभन्दा बढीले घटेको देखिन्छ, र वृद्धिदर करिब ०.५ प्रतिशतले ऋणात्मक छ। सहरी क्षेत्रमा केही हदसम्म बसाइँसराइ रोकिए पनि ग्रामीण भेगबाट मानिस निरन्तर थातथलो छाडिरहेका छन्। गाउँमा अलि ठूलो जमघट हुन दसैँतिहार कुर्नुपर्छ। मेरो गाउँ तादी–५ नर्जामण्डपमा पनि ३० वर्षभन्दा कम उमेरका युवा गाउँकै विद्यालयमा पढ्दै गरेका वा गाउँमै रोजगारी भएकाहरू मात्र भेटिन्छन्, बाँकी समाजमा बुढापाका मात्र।

किन छाड्दैछन् नुवाकोटेले गाउँ?

अर्थशास्त्रमा बसाइँसराइको निर्णयलाई ‘धकेल्ने’ र ‘तान्ने’ कारकको द्वन्द्वका रूपमा हेरिन्छ। नुवाकोटबाट काठमाडौँतर्फ धकेल्ने प्रमुख कारक चार वटा देखिन्छन्: शिक्षा, स्वास्थ्य, रोजगारी र वैदेशिक रोजगारी।

पहिलो कारण शिक्षा हो। जिल्लामा आधारभूत विद्यालय छन्, तर उच्च शिक्षा र गुणस्तरीय प्राविधिक शिक्षाका अवसर सीमित छन्। प्लस टुमा विज्ञान पढ्न चाहनेका लागि त्रिभुवन त्रिशूली उच्च माविबाहेक अन्यत्र विकल्प छैन। व्यवस्थापन, मानविकी र शिक्षामा पनि विषय रोज्न पाइँदैन, स्नातक, इन्जिनियरिङ र चिकित्सा त झन् परको कुरा। विद्यार्थी काठमाडौँ जान्छ, सङ्घर्ष गर्छ, कमाउँछ, विवाह गरेर उतै बस्छ र बाबुआमालाई पनि लैजान्छ। स्थायी रूपमा नुवाकोट फर्किने सम्भावना निकै कम हुन्छ।

दोस्रो कारण स्वास्थ्य हो। तादी–१ उर्लेनीकी सुनिता तामाङलाई पाँच वर्षअघि आधा रातमा सुत्केरी व्यथा सुरु भयो। नजिकको स्वास्थ्य चौकीमा विशेषज्ञ थिएनन्। जिप मिलाउँदा घण्टौँ गयो, बाटो पनि जोखिमपूर्ण थियो। भाग्यवश काठमाडौँ पुग्दा उनी बाँचिन्। तर त्यो रात परिवारले निर्णय गर्‍यो, ‘अब गाउँमा बस्नु हुँदैन।’ आजकल उनीहरू चाडपर्वमा मात्र गाउँ फर्कन्छन्।

जनगणना २०६८ र २०७८ को तुलना गर्दा नुवाकोटको जनसङ्ख्या १४ हजारभन्दा बढीले घटेको देखिन्छ। सहरी क्षेत्रमा केही हदसम्म बसाइँसराइ रोकिए पनि ग्रामीण भेगबाट मानिस निरन्तर थातथलो छाडिरहेका छन्। गाउँमा अलि ठूलो जमघट हुन दसैँतिहार कुर्नुपर्छ।

तेस्रो कारण रोजगारीको अभाव हो। सूर्यगढी–१ लच्याङका ३२ वर्षीय बुधे तामाङ तीन वर्षअघिसम्म खेती र पशुपालन गर्थे, तर त्यसको आम्दानी जीविकोपार्जनमै सकिन्थ्यो। निर्वाहमुखी खेतीले आम्दानी थोरै दिन्छ, बजारसम्म पुग्न सास्ती हुन्छ। गैरकृषि रोजगारी थोरै हुँदा युवा काठमाडौँ वा विदेश जान बाध्य हुन्छन्। माइकल टोडारोको सिद्धान्तअनुसार मानिसले सहरमा अपेक्षित आम्दानी ग्रामीण आम्दानीभन्दा बढी देख्दा बसाइँ सर्छ र नुवाकोट काठमाडौँको नजिक भएकाले यो निर्णय अझ सजिलो हुन्छ।

चौथो कारण वैदेशिक रोजगारी हो, जसले कमाइ विदेशमा र घर काठमाडौँमा बनाउने प्रवृत्ति बढाएको छ। पाँच वर्षअघि कतार उडेका ककनीका ३५ वर्षीय सुरेश पाण्डेले पहिलो दुई वर्षको कमाइले ऋण तिरे। त्यसपछिका तीन वर्षको कमाइले काठमाडौँको फुटुङमा चार आना घडेरी किने। गाउँको पुरानो घर र खेत त्यसै छाडिएको छ। ‘गाउँमा घर बनाएर के गर्नु? छोराछोरी पढाउने, उपचार गर्ने सबै त काठमाडौँमै हो,’ उनी भन्छन्। श्रीमती र दुई छोराछोरी काठमाडौँको भाडा कोठामा बस्छन्, घडेरीमा घर बनाउने दिन गनिरहेका छन्।

चौथो जीवनस्तर सर्वेक्षणअनुसार नुवाकोटका ३५.६ प्रतिशत घरपरिवारले विदेशबाट रेमिट्यान्स पाउँथे, नयाँ तथ्याङ्क नआए पनि पछिल्लो समयको ट्रेन्ड हेर्दा अहिले यो ५० प्रतिशत नाघिसकेको अनुमान गर्न सकिन्छ। वैदेशिक रोजगारीले ग्रामीण गरिबी घटाउन सघाए पनि बसाइँसराइलाई गति दिएको छ। रेमिट्यान्स उद्योग–व्यवसायजस्ता उत्पादक क्षेत्रमा नभई घरजग्गामा केन्द्रित हुँदा गाउँको अर्थतन्त्रले त्यसको लाभ पाएको छैन।

आन्तरिक बसाइँसराइ: दुवैतर्फ घाटा

गाउँमा श्रम अभाव, बाँझो जमिन र ज्येष्ठ नागरिक मात्र बाँकी रहेको बस्तीको समस्या देखियो। यता काठमाडौँमा घरभाडा आकाशिँदै छ, अस्पताल र कलेजमा भिड छ, ट्राफिक र प्रदूषणले सहर थिचिएको छ। बसाइँसराइले एकातिर गाउँ रित्याएको छ, अर्कातिर सहर थिचेको छ। यो दुवैका लागि घाटाको सौदा हो।

उसोभए यो आन्तरिक बसाइँसराइको लहरलाई कसरी रोक्ने त? जबर्जस्ती मानिसलाई गाउँमा थुन्न सकिन्न। बरु, गाउँमै बस्न सम्भव बनाउने अवसर सिर्जना गर्न सकिन्छ। यसका लागि केही उपाय हुन सक्छन्।

कल्पना गरौँ, नुवाकोट र काठमाडौँलाई सुरुङमार्गले जोडिएको भए सुनिता तामाङलाई जिप खोज्ने घण्टौँको छटपटी हुँदैनथ्यो र व्यथा सुरु भएको केही समयमै उनी अस्पताल पुग्थिन्। सुरुङले यात्रा समय र जोखिम घटाउँछ, किसानको तरकारी बिहानै सहरको बजारमा पुग्छ। अझ गाउँमै विशेषज्ञ सेवासहितको अस्पताल हुन्थ्यो भने उनको परिवारले सम्भवतल् गाउँ छाड्ने निर्णय गर्दैनथ्यो। काभ्रेको धुलिखेल र चितवनको भरतपुर अस्पतालजस्तै नुवाकोटका अस्पताल पनि नुवाकोट, रसुवा र धादिङका बिरामीको गन्तव्य बने काठमाडँैंका अस्पतालको भिड पनि घट्छ।

यज्ञबहादुरका नातिनातिनाले गाउँनजिकै चाहेको विषय पढ्न पाउने क्याम्पस भएको भए उनले दस रोपनी खेत बेच्नै पर्दैनथ्यो। त्यस्ता क्याम्पसमा अन्य जिल्लाका विद्यार्थी पनि आए स्थानीय बजार, होटल, भाडा र सेवा क्षेत्र फस्टाउँछ, जसले गाउँमै रोजगारी दिन्छ।

साथै, काठमाडौँलाई व्यवस्थित सहर बनाउँदै कलकारखाना नजिकका जिल्लामा सार्ने नीति लिए वरपरका जिल्लाबाट हुने बसाइँसराइ रोकिन मद्दत पुग्थ्यो।

अहिले नुवाकोटका अधिकांश बासिन्दाका कागजमा स्थायी बसोबास नुवाकोट नै होलान् तर बसोबास केही दिनको मात्रै हो। हजारौँ परिवार आज पनि दसैँमा गाउँ जान्छन्। माकुराको जालोले घेरिएको घरको ताला खोल्छन्, आँगन बढार्छन्, चाडपर्व मनाउँछन् र केही दिनपछि फर्कन्छन्। गाउँमै राम्रो विद्यालय, अस्पताल र रोजगारी हुन्थ्यो भने उनीहरू किन पुर्खाको जमिन छाडेर कोलाहलपूर्ण सहर जान्थे र?  त्यसैले नुवाकोटबाट हुने बसाइँसराइ अवसरको अभावको परिणाम हो। शिक्षा, स्वास्थ्य र रोजगारी गाउँमै पाइयो र विदेशबाट कमाएको पैसा गाउँमै लगानी गर्ने वातावरण बन्यो भने ताला लागेका घरमा फेरि उज्यालो फर्कन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?