१४ वैशाख, काठमाडौं । महानगरपालिकाले शनिबार दिउँसोदेखि खुलामञ्चमा डोजर चलाएको छ । खुलामञ्चभित्र बनाइएका सटर लगायतका संरचनाहरु डोजरले भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुमा भागाभाग र रुवाबासी मच्चिएको छ ।
खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर चलाएको हो ।
महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनलगत्तै डोजर लिएर आफूहरु खुलामञ्च प्रवेश गरेको अनलाइनबरलाई जानकारी दिए ।
महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो ।
खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएका थिए । महानगरको डोजर चल्नु अघिसम्म त्यहाँका पसलमा ग्रहाकहरुको भीडभाड देखिएको थियो ।
विना अवरोध काम तमाम !
काठमाडौं महानगरपालिकाले डोजर चलाइरहँदा कुनै पनि अवरोधको सामना गर्नुपरेन । डोजर लगाउँदा खुल्लामञ्च वरिपरि प्रहरी परिचालन गरेर सर्वसाधारणलाई भित्र जान दिइएको थिएन । तर, पसलवालाहरु र पत्रकारलाई भने प्रवेह दिइएको थियो ।
डोजर चलिरहँदा पसलेहरु आफ्नो सामानको सुरक्षा गर्नतिर लागेको देखिनथ्यो । कतिपय पसलेहरुले सामान निकाल्न महानगरपालिकाले पर्याप्त समय नदिएको भन्दै गुनासो पोखेका थिए ।
कतिपय पसलेहरु चाहिँ त्यहाँ उपस्थित नभएको र सटरमा चाबी लागेको हुनाले त्यस्ता पसलका सामानहरु सडकसँगै छरपस्ट बनेका छन् ।
खुल्लामञ्च अतिक्रमण भएको विरोधमा जनताको अभिमत रहेका कारण महानगरपालिकाले डोजर चलाएकोमा स्थानीयहरु पनि खुशी देखिएका छन् । यही कारणले गर्दा कुनै अवरोध विनै महानगरपालिकाले एकाध घण्टामै करिब ४० वटा सटरहरु भत्काएर काम तमाम गरिदिएको छ ।
महानगरपालिकाले सडकहरु भत्काएपछि त्यहाँ रहेका पसलेहरु बिचल्लीमा परेका छन् । अब उनीहरु आफ्नो सामानको सुरक्षा गर्नेतिर लागेका छन् ।
तस्वीरः शंकर गिरी
प्रतिक्रिया 4