१९ असार, काठमाडौं । सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले रोजर फेडेरेरको विम्बल्डन पुरुष एकलमा सर्वाधिक जितको कीर्तिमान बराबरी गर्दै प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएका छन् ।
सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले फ्रान्सका आर्थर रिन्डरक्नेखलाई कडा प्रतिस्पर्धामा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेका हुन् । जोकोभिच ७-५, ६-४, १-६ र ७-६(७-४) ले विजयी भए ।
यस जितसँगै उनले विम्बल्डनमा पुरुष एकलतर्फ १०५ औं जित दर्ता गर्दै स्विट्जरल्यान्डका रोजर फेडेरेरको कीर्तिमान बराबरी गरेका छन् । अब अर्को खेल जित्न सके जोकोभिच १०६ जितसहित विम्बल्डन पुरुष एकल इतिहासकै सर्वाधिक खेल जित्ने खेलाडी बन्नेछन् ।
खेलपछि प्रतिक्रिया दिँदै जोकोभिचले अन्त्यमा जित निकाल्न सीपसँगै केही भाग्यको पनि साथ आवश्यक परेको बताए । ‘अन्त्यमा केही भाग्य र केही सीप दुवै चाहियो। टाइब्रेकरमा मैले लगभग त्रुटिरहित खेलें। नियन्त्रणमा रहेका सबै पक्षमा आफूले सक्दो राम्रो प्रदर्शन गरें,’ उनले भने ।
जोकोभिचले अधिकांश समय आफ्नो सर्भ उत्कृष्ट रहेको उल्लेख गर्दै टाइब्रेकरमा केही कठिनाइ भए पनि त्यसको श्रेय प्रतिद्वन्द्वीको प्रदर्शनलाई दिए । ‘उनी निकै अग्ला छन्, उत्कृष्ट सर्भ गर्छन् र आजको प्रदर्शनका लागि प्रशंसाका हकदार छन्’ उनले भने ।
रिन्डरक्नेखलाई पहिलो पटक सामना गरेका जोकोभिचले ठूलो मञ्चमा प्रतिद्वन्द्वी सहज हुने खेलाडी रहेको आफूलाई थाहा भएको बताए ।
जोकोभिचले क्वाटरफाइनल प्रवेशका लागि रसियाका रोमान साफुलिनसँग खेल्ने छन् ।
आजै भएको अर्को खेलमा साविक विजेता यानिक सिनरले अमेरिकी खेलाडी जेन्सन ब्रुक्सबीलाई ६-४, ६-३ र ६-४ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।
प्रतिक्रिया 4