+
फिफा विश्वकप २०२६ :

कोलम्बियालाई रोक्ने रणनीतिमा घाना

२०८३ असार  १९ गते २०:०० २०८३ असार १९ गते २०:००

अमेरिकाको कान्सास सिटी स्टेडियममा हुने उक्त खेल शनिबार बिहान सवा ७ बजेबाट सुरु हुनेछ ।

१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को अन्तिम खेलमा कोलम्बिया र घाना खेल्दैछन् । अमेरिकाको कान्सास सिटी स्टेडियममा हुने उक्त खेल शनिबार बिहान सवा ७ बजेबाट सुरु हुनेछ ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकका साथ समूह ‘के’ को विजेता बनेको कोलम्बिया उच्च मनोबलका साथ मैदान उत्रनेछ । अर्काेतर्फ, समूह ‘एल’मा तेस्रो स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाएको घाना रक्षात्मक रणनीतिका साथ अप्रत्याशित नतिजा निकाल्ने दाउमा छ ।

प्रशिक्षक नेस्टर लोरेन्जोको नेतृत्वमा कोलम्बियाले यो विश्वकपमा परिपक्व खेल देखाएको छ । समूह चरणमा उज्वेकिस्तान र डीआर कङ्गोलाई पराजित गरेको कोलम्बियाले पोर्चुगलसँग गोलरहित बराबरी खेलेको थियो ।

कप्तान जेम्स रोड्रिगेजको रचनात्मकता र लुइस डियाजको विङ्ग्स्बाट हुने आक्रमण घानाका लागि प्रमुख चुनौती बन्न सक्छन् । रक्षापङ्क्तिमा डेभिन्सन सान्चेज र जेहोन लुकुमीको जोडी मजबुत देखिएको छ ।

कार्लाेस क्विरोजको प्रशिक्षणमा रहेको घाना खेललाई ढिलो गतिमा लैजाँदै काउन्टर–अट्याकमा अवसर सिर्जना गर्न खप्पिस छ । घानाले समूह चरणमा बलियो इंग्ल्याण्डलाई गोलरहित बराबरीमा रोकेर आफ्नो रक्षात्मक क्षमता प्रमाणित गरिसकेको छ ।

घानाका लागि म्यानचेस्टर सिटीका विङ्गर एन्टोइन सेमेन्योको चोट चिन्ताको विषय बनेको छ । सेमेन्यो पूर्ण फिट नभए जोर्डन आयुमाथि आक्रमणको थप जिम्मेवारी रहनेछ । मध्यभागमा थोमस पार्टी र रिचार्ड रियोसबीचको भिडन्तले खेलको गति तय गर्नेछ । विश्वकपको मञ्चमा कोलम्बिया र घानाबीच यो पहिलो भेट हो ।

खेलअघि कोलम्बियाका प्रशिक्षक नेस्टर लोरेन्जोले अगाडि बढ्ने आशासहित मैदानमा उत्रिने बताए । उनले भने, ‘घाना एक सङ्गठित टोली हो । तर जब उनीहरू दबाब दिन्छन् र जब उनीहरू आक्रमण गर्छन् । तब उनीहरू निकै आक्रामक बन्छन् ।’

घानाका प्रशिक्षक कार्लाेस क्विरोजले सजग र सावधानी अपनाएर खेल्ने विश्वास व्यक्त गरे । ‘कोलम्बिया निकै राम्रो टोली हो । तर संसारमा कुनै पनि टोली पूर्ण हुदैनन् । उनीहरूका केही कमजोरी र केही सबल पक्षहरू छन । त्यसैले हामीले पूरा मिनेटसम्म सतर्क रहनुपर्छ, सजग हुनुपर्छ र निकै सावधानी अपनाउनुपर्छ,’ उनले भने ।

यो खेलको विजेताले क्वार्टरफाइनल प्रवेशका लागि ७ जुलाईमा बीसी प्लेस भ्यानकुभरमा स्विट्जरल्याण्डसँग खेल्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय