+
फिफा विश्वकप २०२६ :

अष्ट्रेलिया भर्सेस इजिप्टः नकआउट चरणमा पहिलो जित निकाल्ने दाउमा दुवै टोली

२०८३ असार  १९ गते १४:४८ २०८३ असार १९ गते १४:४८

आजको खेल जित्दै दुवै टोली नयाँ इतिहास बनाउने दाउमा छन् ।

१९ असार, काठमाडौं  । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत आज अस्ट्रेलिया र इजिप्ट आमनेसामने हुँदैछन् । यो खेल राति पौने १२ बजे अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा सुरु हुनेछ ।

आजको खेल जित्दै दुवै टोली नयाँ इतिहास बनाउने दाउमा छन् । इजिप्ट आफ्नो विश्वकप इतिहासमै पहिलो पटक समूह चरण पार गरेर नकआउटमा पुगेको हो भने अस्ट्रेलियाले विश्वकपको नकआउट चरणमा अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन । सातौंपटक विश्वकप खेलिरहेको अस्ट्रेलिया यसअघि दुई पटक अन्तिम १६ मा पुगे पनि नकआउट चरणमा सधैं जितविहीन रहँदै आएको छ ।

पहिलो खेलमा बेल्जियमसँग १–१ को बराबरी खेलेको इजिप्टले दोस्रो खेलमा न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप इतिहासकै पहिलो जित निकालेको थियो । तेस्रो खेलमा इरानसँग १–१ को बराबरी खेल्दै इजिप्ट ९२ वर्षपछि पहिलोपटक नकआउट चरणमा स्थान बनाउन सफल भएको हो ।

अर्कोतर्फ समूह चरणको पहिलो खेलमा टर्किएलाई २–० ले हराएर सुखद सुरुवात गरे पनि अस्ट्रेलिया दोस्रो खेलमा सह–आयोजक अमेरिकासँग २–० ले पराजित भयो । तेस्रो खेलमा पाराग्वेसँग ०–० को बराबरी खेल्दै उसले नकआउटको यात्रा तय गर्‍यो । डिफेन्स बलियो भए पनि अस्ट्रेलियाले पछिल्ला दुई खेलमा गोल गर्न सकेको छैन । त्यसैले नकआउट चरणमा अघि बढ्न अस्ट्रेलियाका स्ट्राइकरहरूलाई आज गोल गर्नैपर्ने दबाब छ ।

अस्ट्रेलिया बलियो रक्षापंक्तिका लागि चिनिन्छ । जसले समूह चरणमा विपक्षीलाई निकै कम गोल गर्ने अवसर दिएको थियो । टोली मुख्यतया २० वर्षीय युवा सनसनी नेस्टोरी इरानकुन्डाको गति र काउन्टर–अट्याकमा निर्भर हुनेछ । वाटफोर्डका यी फरवार्डसँग अविश्वसनीय गति र शक्तिशाली प्रहार गर्ने क्षमता भएकाले उनी इजिप्टको उच्च डिफेन्स लाइनलाई चिर्न मुख्य हतियार बन्न सक्छन् ।

आक्रामक शैलीमा खेल्ने इजिप्टले समूह चरणमा ५६.५५ औसत बल पोजेसन राख्दै बलियो खेल प्रदर्शन गरेको छ । ओमार मार्मुस र मोहम्मद सालाहको जोडी अस्ट्रेलियाको डिफेन्सका लागि ठूलो परीक्षा हुनेछ । डिफेन्सलाई मजबुत राख्दै सालाह र मार्मुसको गति प्रयोग गरी काउन्टर–अट्याकमा गोल निकाल्ने रणनीति इजिप्टको रहनेछ । कप्तान सालाह इरानविरुद्धको खेलमा लागेको ह्याम्स्ट्रिङ चोटका कारण पूर्ण फिट छन् कि छैनन् भन्ने कौतुहलता रहे पनि उनको उपस्थिति मात्रै विपक्षी डिफेन्सलाई दबाबमा राख्न र खेलको नतिजा बदल्न पर्याप्त छ ।

खेलका बारेमा बोल्दै अस्ट्रेलियाका मुख्य प्रशिक्षक टोनी पोपोभिचले भने, ‘हामीले पूर्ण रूपमा वर्तमानमै केन्द्रित हुनुपर्छ । इतिहास त खेल सकिएपछि मात्र बन्ने हो, त्यसैले त्यो इतिहास रच्नका लागि हामीले खेलको दौरान मैदानमा आफ्नो भूमिका सही ढंगले निभाउनु पर्छ ।’

यस्तै, इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले अस्ट्रेलियाले मैदानमा जस्तोसुकै चुनौती प्रस्तुत गरे पनि त्यसका लागि आफ्नो टोली पूर्ण रूपमा तयार रहेको बताए । उनले भने, ‘हरेक टोलीका आफ्ना सबल र कमजोर पक्षहरू हुन्छन् । अस्ट्रेलियाले मैदानमा जस्तोसुकै चुनौती प्रस्तुत गरे पनि हामी त्यसको सामना गर्न तयार छौं ।’

सन् १९३४ बाट विश्वकपमा सहभागी हुन थालेको इजिप्टले विश्वकपको राउन्ड अफ १६ मा पुग्ने ऐतिहासिक मौका पाएको छ । अस्ट्रेलिया यसअघि गत २०२२ को कतार विश्वकपमा पनि राउन्ड अफ १६ मा पुगेको थियो। राउन्ड अफ १६ मा अर्जेन्टिनासँग पराजित भएको थियो ।

यी दुई टोलीबीच अहिलेसम्म मात्र दुई भेट भएको छ । सन् १९८७ को प्रेसिडेन्ट कपमा अस्ट्रेलियाले पेनाल्टीमा ४–३ ले जितेको थियो भने २०१० को मैत्रीपूर्ण खेलमा इजिप्ट ३–० ले विजयी भएको थियो ।

यस खेलको विजेताले आगामी जुलाई ७ मा एटलान्टामा हुने ‘राउन्ड अफ १६’ को खेलमा साविक विजेता अर्जेन्टिना र केप भर्डबिचको विजेताको सामना गर्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय