+

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा रेड बुल

२०८३ असार  १९ गते २१:४३ २०८३ असार १९ गते २१:४३

सुदूरपश्चिम रोएल्सले रेड बुलसँग तीन वर्षको लागि मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको शुक्रबार जनाएको छ ।

१९ असार, काठमाडौं । रेड बुल नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक बनेको छ ।

सुदूरपश्चिम रोएल्सले रेड बुलसँग तीन वर्षको लागि मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको शुक्रबार जनाएको छ ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र सारस बेभरेज (रेड बुल) का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले शुक्रबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार रेड बुलले आगामी तीन वर्षसम्म सुदूरपश्चिम रोयल्सलाई साथ दिनेछ ।

एनपीएलका सबैभन्दा लोकप्रिय तथा ठूलो समर्थक आधार भएका फ्रेन्चाइजमध्ये एक रहेको सुदूरपश्चिम रोयल्स दुई पटकको उपविजेता टोली हो । युवामाझ लोकप्रिय ब्रान्ड रेड बुलसँगको यो सहकार्यले टोलीको व्यावसायिक विस्तारका साथै ब्रान्डको पहुँच र पहिचानलाई अझ मजबुत बनाउने विश्वास दुवै पक्षले लिएका छन् ।

‘रेड बुलजस्तो विश्वप्रसिद्ध ब्रान्डलाई मुख्य प्रायोजकका रूपमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं, सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले भने, ‘यो साझेदारीले सुदूरपश्चिम रोयल्सको व्यावसायिक यात्रालाई थप मजबुत बनाउनुका साथै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने विश्वास लिएका छौं ।’

खड्काले मुख्य प्रायोजक सम्झदतासँगै तेस्रो सिजनको तयारीको सुरुवात पनि भएको बताए ।

सारस बेभरेज (रेड बुल) का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले सुदूरपश्चिम रोयल्सजस्तो ठूलो समर्थक आधार, निरन्तर उत्कृष्ट प्रदर्शन र युवामाझ विशेष लोकप्रियता हासिल गरेको टोलीसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले रेड बुल र सुदूरपश्चिम रोयल्स दुवैले ऊर्जा, जोश र उत्कृष्टताको भावना बोकेको उल्लेख गर्दै यो साझेदारीले टोलीमा थप ऊर्जा भर्ने र व्यावसायिक रूपमा रेड बुललाई अझ सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्  ।

दुवै पक्षले यस साझेदारीले नेपाली क्रिकेटको व्यावसायिक विकास, खेलकुद मार्केटिङको विस्तार तथा एनपीएलको ब्रान्ड मूल्य अभिवृद्धिमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरेका छन् ।

नेपाल प्रिमियर लिग रेड बुल सुदूरपश्चिम रोएल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय