Comments Add Comment

मिस नेपाल शृङखलालले वितरण गरिन् आँधी प्रभावित महिलालाई ‘डिग्निटी किट’

१५ वैशाख, वीरगञ्ज । मिस नेपाल शृङखला खतिवडाले वीरगञ्ज महानगरपालिका-१८ सौराहा मा आँधी प्रभावितलाई ‘डिग्निटि किट’ हस्तान्तरण गरेकी छिन् ।

‘वुमन फर वुमनद्वारा गत चैत १७ गते आइतबार आएको आँधी प्रभावित महिला तथा किशोरीलाई लक्षित गरी सञ्चालित ‘एक परिवार एक झोला’ अभियान अन्र्तगत खतिवडाले राहत वितरण गरेकी हुन् ।

अभियान अन्र्तगत आइतबार वीरगञ्ज महानगरपालिकाको सौराहा , जगरनाथपुर, मनियारीस्थित मुसहर र चमार समुदाय बस्ने दलित बस्ती, बहुदरमाइको पटनीमा ३६० जनालाई किट वितरण गरिएको छ ।

अभियानमार्फत आँधी प्रभावित पर्साको सुखचैना, बाराको भलुही भरबलीया, पुरैनिया, खुट्वा प्रसौनी, हर्दियालगायतका स्थानमा गरी १७ सय किट वितरण गरिसकिएको ‘वुमन फर वुमन’ले जनाएको छ ।

हावाहुरी प्रभावित परिवारमा कम्तीमा तीनजना महिला हुने अनुमानसहित ‘डिग्निटी किट’ तयार गरिएको छ ।

किटमा विशेषगरी महिलाको शारीरिक स्वास्थ्यसँग सम्बन्धित सामग्री राखिएको छ । किटमा स्याम्पु ४८ पाउच, नुहाउने साबुन ३ पिस, लुगाधुने साबुन ३ पिस, सेनेटरी प्याड ३ थान, अण्डर गार्मेन्ट ६ पिस, टावेल २ वटा, झुल २ वटा, तेल १ बोतल, टुथ ब्रस ५ वटा, टुथ पेष्ट २ वटा, कपाल बाध्ने रबर १ प्याकेट, कपडाको झोला १ थान, नेल कटर र काईयो एक/एक वटा राखिएको छ । एउटा किट बराबर २१ सय रुपैया पर्छ ।

अभियानका लागि ५० हजार आर्थिक सहयोगसमेत गरेकी उनले राहत लिन जम्मा भएका महिलालाई सेनेटरी प्याड प्रयोग गर्ने तरिकाको बारेमा समेत जानकारी गराएकी छिन् ।

सँगै उनले साबुन पानीले हात धुने तरिकाको बारेमा सिकाउँदै व्यक्तिगत र परिवारको स्वास्थ्यको बारेमा गम्भिर हुन महिलालाई आग्रह गरिन् ।

उनले देशभर ग्रामीण क्षेत्रका महिलालाई हाईजिन, सेनेटरी प्याड प्रयोग गर्ने तरिका, हात धुने जस्ता स्वास्थ्यसम्बन्धी जानकारी सिकाउन आवश्यक रहेको बताइन् ।

‘हावाहुरीका कारण घरबाट नै विस्थापित भएकाहरुलाई धेरै समस्या छ । राहत भनेको त केहि दिनका लागि हो । घर नबनेसम्म दुःख मेटिदैन,’ उनले भनिन्, ‘हाइजीन किट निरन्तर बाँड्न नसकेपनि देशका ग्रामिण भेगका महिलालाई सेनेटरी प्याड प्रयोग गर्ने तरिका, हात धुने जस्ता स्वास्थ्यसम्बन्धी जानकारी सिकाउन आवश्यक छ । यो अभियानलाई देशैभरी विस्तार गर्नुपर्ने देखिन्छ ।’

आमा प्रदेश सभासद एवं नेकपा मकवानपुरको अध्यक्ष मुनु सिग्देलसँगै आएकी खतिवडा हावाहुरीले बढी क्षति पुर्‍याएको भलुही भरवलिया पनि पुगेर प्रभावितको अवस्था बुझे फर्केकी छन् । उनले तराई मेधेसको जीवन पद्धती नै बुझ्ने सोच आफूले बनाएकोले पछि पनि आउने बताइन् ।

खाद्यान्न तथा विभिन्न समग्रीहरु अन्य क्षेत्रबाट सहयोग आइरहेको भएपनि बालबालिका र महिला लक्षित सामग्रीमा खासै ध्यान नपुगेपछि वीरगञ्जमा विभिन्न क्षेत्रमा आवद्ध महिलाहरुले महिलाको लागि महिला अभियान सञ्चालन गरेका थिए ।

सामाजिक सञ्जालमार्फत सञ्चालित अभियानमा स्वदेश तथा विदेशबाट दाताहरुले सहयोग पठाए । आईतबारबाट अभियानलाई बन्द गरिएको अभियानमा सहयोग पुर्‍याउँदै आएका नेकपाका युवा नेता अरवीन्द सिंहले जानकारी दिए ।

‘हावाहुरी प्रभावितलाई खाद्यान्नलगायत राहत जुटिरहेको थियो । प्रभावित क्षेत्रका घरका पुरुषहरु त्यही चामल, दाल, चिउरा लगायतका राहत सामग्री संकलनमा व्यस्त थिए,’ उनले भने, ‘महिलाको स्वास्थ्यका बारेमा खासै ध्यान नपुगेको अनुभव भयो । वीरगञ्जमा विभिन्न क्षेत्रमा क्रियाशिल महिला दिदीबहिनीहरुले थालेको ‘महिलाद्वारा महिलाका लागि’ अभियान सबैको सहयोगले सफल पनि भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment