१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्रशोधित इन्धन मूल्यमा लगातार वृद्धि भइरहे पनि स्थानीय बजारमा स्वचालित मूल्य प्रणाली लागु हुन नसक्दा नेपाल आयल निगमले तीन महिनामै साढे ७ अब घाटा प्रक्षेपण गरेको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउनदेखि असोज मसान्तसम्म) आयल निगमले करिब साढे ७ अर्ब रुपैयाँ खुद घाटा बेहोर्ने प्रक्षेपण गरिएको छ ।
विशेषगरी प्रतिसिलिन्डर भारी घाटा खाएर बेचिरहेको खाना पकाउने एलपी ग्यास आयात अस्वाभाविक बढेपछि निगमको नोक्सानीको ग्राफ उकालो लागेको हो ।
निगमले प्रत्येक १५–१५ दिनमा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा आफ्नो नाफा–घाटाको पाक्षिक प्रक्षेपण गर्दै आएको छ ।
निगमले सार्वजनिक गरेको तथ्यांक विश्लेषण गर्दा चाुल आव सुरुवात निगमका लागि सुखद नै थियो । साउन १५ दिनमा निगमले ७१ करोड रुपैयाँ नाफा कमाएको थियो ।
तर, त्यसपछिका हरेक पाक्षिक अवधिमा निगमले निरन्तर ओरालो लागेको तथ्यांक सार्वजनिक भइरहेको छ । साउनको दोस्रो पाक्षिकमा निगमले १ अर्ब ४९ करोड रुपैयाँ घाटा बेहोर्यो ।
त्यस्तै भदौ पहिलो १५ दिनमा ३१ करोड ३५ लाख र दोस्रो १५ दिनमा घाटा बढेर १ अर्ब २४ करोड ३७ लाख पुगेको निगमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
यस्तै असोज लागेपछि निगमको घाटा अझै बढेको देखिन्छ । असोज १ देखि १५ सम्म अवधिमा मात्रै निगमलाई १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा भएको छ भने असोज १६ देखि ३१ सम्म आगामी पाक्षिक अवधिमा यो घाटा अझ चुलिएर ३ अर्ब २० करोड ३८ लाख पुग्ने प्रक्षेपण गरिएको छ ।
यसरी साउन मध्यदेखि असोज मसान्तसम्म साढे दुई महिनामा मात्रै निगमले ८ अर्ब १६ करोड ७९ लाख घाटा बेहोर्दै छ । साउन सुरुवातीको ७१ करोड नाफा कटाएर हेर्दा पनि यो तीन महिना अवधिमा निगमको घाटा ७ अर्ब ४५ करोड ७९ लाख रुपैयाँ हाराहारीमा पुग्ने निश्चितप्राय: छ ।
भूराजनीतिक प्रभाव र प्रतिसिलिन्डर उच्च घाटा
आयल निगम प्रवक्ता मनोज ठाकुरले अन्तर्राष्ट्रिय बजारको भूराजनीतिक अवस्था र कच्चा तेल मूल्यमा भइरहेको उतारचढावले निगमको वित्तीय अवस्थालाई गम्भीर प्रभाव पारेको बताए ।
‘हामीले हाम्रो नियन्त्रण बाहिर रहेको अन्तर्राष्ट्रिय बजार मूल्य स्वीकार गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अहिलेको सबैभन्दा ठूलो चुनौती भनेकै एलपी ग्यासमा रहेको प्रतिसिलिन्डर उच्च घाटा र यसको बढ्दो माग हो ।’
निगमले हाल प्रतिसिलिन्डर एलपी ग्यासमा ४ सय ९३ रुपैयाँ घाटा खाएर बेचिरहेको प्रवक्ता ठाकुरले बताए । ‘हाल पेट्रोलमा प्रतिलिटर साढे २६ रुपैयाँ, डिजेलमा साढे ४८ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ९३ रुपैयाँ घाटा रहेको छ,’ उनले भने ।
अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढे पनि आन्तरिक बजारमा मूल्य नबढाइएको र चाडपर्वका मुखमा ग्यासको मागमा भारी वृद्धि भएकाले घाटा बढेको निगमको भनाइ छ ।
तर, आयात नै बढी हुँदा पनि बजार अभाव भने अझै कायम छ । उपभोक्ताले अझै ग्यास नपाइएको गुनासो गरिरहेका छन् ।
निगमले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार ग्यास आयातमा विगतका महिनाका तुलनामा ठूलो उछाल आएको छ । चालु वर्ष साउनमा ५७ हजार ३ सय १६ टन (करिब ४० लाख ३६ हजार सिलिन्डर) आयात भएको छ ।

गत वर्ष साउनमा ३१ लाख २१ हजार सिलिन्डर आयात भएकोमा यस वर्ष साउनमा ४० लाख ३६ हजारभन्दा बढी सिलिन्डर आयात भएको छ । यो भनेको अघिल्लो महिना र गत वर्ष साउनको तुलनामा करिब ९ लाख सिलिन्डर बढी हो ।
त्यसैगरी गत वर्ष भदौमा ३३ लाख ५५ हजार सिलिन्डर आयात भएकोमा यस वर्ष भदौ २७ गतेसम्ममै ३७ लाख १३ हजार सिलिन्डर (५२ हजार ७ सय ३७ टन) भित्रिसकेको थियो र भदौ मसान्तसम्म करिब ५९ हजार ८ सय ३३ टन ग्यास आयात भएको निगमले जनाएको छ ।
प्रवक्ता ठाकुरका अनुसार १४ असोजसम्म मात्रै २५ हजार ६ सय ८८ टन ग्यास आयात भइसकेको छ ।
स्वदेशी जलविद्युत् खपत बढाएर ग्यास आयात विस्थापित गर्दै लैजानुपर्ने राष्ट्रिय आवश्यकता भए पनि तत्कालको व्यावहारिक कठिनाइ र उपभोक्ताको निर्भरताका कारण ग्यास आयात निरन्तरता दिनुपर्ने बाध्यता निगमसामु रहेको प्रवक्ता ठाकुरको भनाइ छ ।
चाडपर्वमा उपभोक्तालाई राहत दिन घाटा सहन्छौं
आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले भारतबाट ग्यास आयात बढाइरहेको र आपूर्तिमा कुनै कमी आउन नदिने दाबी गरेका छन् ।
कार्यकारी निर्देशक साहले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि उपभोक्ता हित ध्यानमा राखेर तत्काललाई घाटा सहेरै इन्धन बिक्री गरिरहेको बताए ।
साउदी अरबमा विकसित पछिल्लो घटनाक्रमका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेकाले निगम घाटामा गएको कार्यकारी निर्देशक साहको भनाइ छ ।
‘अहिले डिजेलको मूल्यवृद्धि गर्नेबित्तिकै भोलि बसको टिकटदेखि सबैमा भाडा बढ्छ, त्यस्तै हवाई इन्धनको मूल्य छुनेबित्तिकै हवाई भाडा बढ्छ,’ कार्यकारी निर्देशक साहले भने, ‘चाडपर्वका बेला सरकार र सञ्चालक समितिले उपभोक्ता हित ध्यानमा राखेर विगतको जस्तै मूल्य स्थिर राख्ने नीति लिएको हो ।’
कार्यकारी निर्देशक साहका अनुसार अहिले भएको घाटालाई निगमले आफ्नो ‘मूल्य स्थिरीकरण कोष’ मार्फत व्यवस्थापन गर्ने छ ।
‘हामीसँग मूल्य स्थिरीकरण कोषमा ४ अर्ब ७० करोड रुपैयाँ छ, एक–दुई महिना हामी यही कोषको रकमले आपूर्ति सहज गर्छौं,’ साहले भने, ‘हाम्रो सुभेक्षा भनेको अन्तर्राष्ट्रिय बजारमा १५ दिन वा एक महिनामा मूल्य घटिदेओस् भन्ने हो, यदि घट्यो भने सामान्य अवस्थामा आइहाल्छौं, नभएपछि सरकारसँग मूल्यवृद्धिका लागि पहल गर्नुपर्ने हुन्छ ।’

विगतमा युक्रेन–रुस युद्धका बेला निगमले जग्गा धितो राखेर सरकारसँग ७ अर्ब ऋण लिएको दृष्टान्त स्मरण गर्दै उनले अहिले तत्काललाई कुनै त्यस्तो समस्या नरहेको बताए ।
बजारमा देखिएको ग्यास अभावबारे कार्यकारी निर्देशक साहले भारतबाट ग्यास आपूर्ति नरोकिएको तर प्राकृतिक प्रकोपका कारण ढुवानीमा मात्र समस्या भएको स्पष्ट पारे ।
‘भारतबाट ग्यास रोकिएको छैन, पछिल्लो चार दिन परेको ठूलो पानी र हावाहुरीले गर्दा भारतमै भेसल (पानीजहाज) लोड–अनलोडमा केही समस्या भएको थियो,’ उनले भने, ‘साथै हल्दिया, पारादीप, दुर्गापुर लगायत स्थानबाट ग्यास आउने रुटमा कहिलेकाहीँ तलमाथि भइरहन्छ ।’
नेपालभित्रै पनि भोटेकोशी बाढी, कृष्णभिर पहिरो र पछिल्लो चार दिनको अविरल वर्षाले सडक सञ्जाल बिग्रिँदा ग्यास बुलेट आवागमनमा ढिलाइ भएको उनले बताए ।
‘बाटोमा अलिकति जाम छ, बालुवा–पहिरो पन्छाउँदै गाडीहरू आइरहेका छन्, यी तीन वटा कारण (भोटेकोशी, कृष्णभिर र अविरल वर्षा) ले गर्दा हामीले अलिकति दु:ख पाइरहेका छौं,’ साहले भने, ‘तर, आईओसीले हामीलाई औसतमा मासिक ५५ देखि ६० हजार टन ग्यास दिइरहेको छ, त्यसैले एक–दुई दिन तलमाथि भए पनि आपूर्ति सहज हुन्छ ।’
निगमले आसन्न दसैं, तिहार र छठजस्ता चाडपर्व लक्षित गर्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने योजना बनाएको छ ।
यदि अहिले इन्धन मूल्य बढाउने हो भने त्यसको प्रत्यक्ष असर चाडपर्वमा घर जाने यात्रुको यातायात भाडामा पर्ने छ । यातायात व्यवसायीले इन्धन मूल्य बढे भाडा बढाउनुपर्ने पूर्वजानकारी गराइसकेका छन् ।
यसबाहेक इन्धन मूल्यवृद्धिसँगै बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी लागत बढ्न गई समग्र महँगी (मुद्रास्फीति) बढ्ने जोखिम रहन्छ ।

निगमले अन्तिम पटक गत साउन १७ रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । त्यतिबेला पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा समान ५ रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) २० रुपैयाँ प्रतिलिटर बढाइएको थियो ।
साउन १७ मा निर्धारित उक्त मूल्य अर्थात् पेट्रोल प्रतिलिटर २ सय रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर २ सय रुपैयाँ तथा हवाई इन्धन २ सय ४९ रुपैयाँ प्रतिलिटर हालसम्म यथावत नै राखिएको छ ।
दसैं र तिहारसम्म उपभोक्ताले राहत महसुस गरे पनि चाडपर्व सकिए लगत्तै निगमलाई यो घाटाबाट माथि उकास्न सरकारले कि त मूल्यवृद्धि गर्नुपर्नेछ, कि त अन्य विकल्प मार्फत निगमको वित्तीय उद्धार गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुने निश्चित छ ।
प्रतिक्रिया 4