Comments Add Comment

धोबीखोला करिडोरमा २ अर्ब सकियो, निर्माण कहिले सकिन्छ ?

२२ साउन, काठमाडौं । धोबीखोला करिडोरको योजना बनेको २० वर्ष पुरा भयो । तर, दुई दशक बितिसक्दा पनि करिडोरको निर्माण अधुरै छ ।

चालु आर्थिक वर्षमा पनि करिडोर निर्माण नसकिने उपत्यका विकास प्राधिकरण बताउँछ । यो करिडोरको करिब ९ किलोमिटर सडक अझै कालोपत्रे गर्न बाँकी छ । यो काम सक्न २०७७ को मंसिरसम्म लाग्ने अनुमान गरिएको छ ।

प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले धोबीखोला करिडोरको करिब २४ किलोमिटरमध्ये १५ किलोमिटरमा पिच गर्ने काम सकिएको जानकारी दिए । बाँकी खण्डका लागि पनि ठेक्का लागिसकेको छ ।

प्राधिकरणले यसअघि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले करिडोरमा समयमै ढलका पाइप नहाल्दा काम हुन नसकेको बताउँदै आएको थियो ।

‘यो पटक संयोगले समितिले ढल हाल्न लगाएको ठेक्का र हामीले पिच गर्न लगाएको ठेक्काको ठेकेदार एउटै परेको छ,’ उनले भने, ‘उसले चरणबद्ध रुपमा निर्धारित समयसम्ममा काम सकाउँछ ।’

धोबीखोला करिडोरको निर्माण ०६४ सालदेखि थालिएको हो । यदि पछिल्लो लक्ष्य हासिल भयो भने पनि काम सुरु भएको १३ वर्षपछि मात्रै यसले पूर्णता पाउनेछ । तर, काम गराई हेर्दा भने अझै दुई वर्षमा पनि निर्माण सकिन्छ भन्ने विश्वास स्थानीयलाई छैन । प्राधिकरणका प्रमुख आयुक्त तिवारी पनि अहिलेकै गतिमा काम गर्दा २ वर्षभित्र काम सक्न मुश्किल पर्ने स्वीकार्छन् ।

राम मन्दिरदेखि बागमती दोभानसम्म झण्डै १२ किलोमिटर खण्डमा दुईतर्फी २४ किलोमिटरको सडक बनाइँदै छ । तर, कामको गति भने कछुवाको जस्तो छ । यो करिडोरमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ढल बिछ्याउने काम गरिरहेको छ ।

‘हामीले गर्ने काममा मात्रै धोबीखोला करिडोरको निर्माण निर्भर हुँदैन । विगतमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको सुस्त काम गराइले हामीलाई धेरै समस्यामा पारेको हो,’ तिवारीले भने ।

२० वर्षसम्म उस्तै हाल

मुख्य सडकमा सवारीको चाप घटाउन वैकल्पिक मार्गका रुपमा धोबीखोला करिडोर बनाउन ०५६ सालमै काठमाडौं महानगरपालिका अघि सारेको थियो । महानगर अन्तर्गतको काठमाडौं भ्याली म्यापिङ प्राजेक्टबाट यो आयोजना सुरु भएको थियो ।

तर, त्यसमार्फत राम्रो काम नभएपछि ०६४ पुसमा आयोजनाको जिम्मा सरकारले नै लियो । त्यसपछि उपत्यका विकास प्राधिकरणलाई दिइयो । निर्माण प्रक्रिया थालेको १८ वर्ष नाघ्दा समेत पहिलो खण्डको काम पनि सकिएको छैन । अहिलेसम्म ९ किलोमिटरभन्दा बढी ट्रयाक हिलाम्य नै छ ।

धोबीखोलामा २०७३ सालबाट कालोपत्रे गर्न सुरु गरिएको थियो । कामको गति सुस्त हुँदा चाबहिलभन्दा माथिको करिडोर क्षेत्रका स्थानीय धुलो र हिलोको चपेटामा छन् । सवारी गुडाउन नमिल्ने अवस्थाको यो निर्माणधीन सडकमा बनेका खाल्टाले दुर्घटनाको जोखिम पनि उच्च छ ।

करिब साढे २ अर्ब खर्च

उपत्यका विकास प्राधिकरणले पर्याप्त बजेट नआएको कारण पनि सडक निर्माणमा समस्या भएको बताउने गरेको छ । तर, सरकारले भने यो आयोजनामा प्रशस्तै बजेट खन्याएको देखिन्छ ।

निर्माण सुरु भएको १२ वर्षमा धोबीखोला करिडोरमा सरकारले बजेटको ‘खोलो’ नै बगायो । प्राधिकरण एक्लैले यो वर्षसम्म २ अर्बभन्दा बढी बजेट खर्च गरिसक्यो । अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको खर्च छुट्टै छ ।

करिडोरमा ट्रयाक खोल्ने, फुटपाथ बनाउने, पर्खाल, रेलिङ लगाउने काम प्राधिकरणले गर्छ । यसको अधिकांश काम सकिएको तिवारी बताउँछन् ।

पार्किङ मौलाउँदै

यो करिडोर बनेर सञ्चालनमा आएपछि काठमाडौंको पूर्वी र मध्य सहरी क्षेत्रको उत्तर–दक्षिणी भागमा सवारी चाप करिव ४० प्रतिशत कम हुने विश्वास गरिएको छ ।

धोबीखोला करिडोर सडकखण्ड सहायक सडक बन्नसक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा बताउँछ । रिंङरोडदेखि प्रशासनिक केन्द्र सिंहदरबार हुँदै थापाथलीस्थित प्रसूतिगृह पुग्न यो सडकले अहिले कायम दूरी घटाउनेछ । यसले समय र इन्धन बचतमा पनि सहयोग पु‍र्‍याउँछ ।

साथै धोबीखोला करिडोर सम्पन्न भएपछि सडकखण्ड भित्रको ढल नदीमा मिसिने छैन । धोबीखोलालाई स्वच्छ बनाउन सडकमा रुख विरुवा पनि हुर्काइँदैछ ।

तर, पछिल्लो सयममा कालोपत्रे भएका करिडोरको सडकमा सवारी पार्किङ गर्ने क्रम तीव्र भएको छ । जसले अपेक्षित सवारी व्यवस्थापन हुन सकेको छैन भने करिडोरमा दैनिकजसो दुर्घटनाहरु बढेका छन् ।

करिडोरमा बनेका पूर्वाधारको संरक्षणमा पनि स्थानीयहरु अग्रसर नहुँदा विभिन्न ठाउँमा बनेका पूर्वाधारहरु भत्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment