+
+

पूर्वेली व्यवसायीको दशैंः पुजा अर्चना र घुमघाम

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २० गते १४:३९

२० असोज, बिराटनगर । यस वर्षको दशैं हाम्रो घर–आँगनमा भित्रिसकेको छ । यतिबेलासम्म पूर्वदेखि पश्चिमसम्मका नेपालीहरु दशैंको माहोलमा रमाइरहेका छन् ।

आफन्तजन भेटघाट गरी आशिर्वाद लिनु दशैंको मुल मर्म हो । तर, पछिल्लो समयमा दशैं मनाउने तौरतरिकामा परिवर्तन पनि आउन थालेको छ । खासगरी दशैंमा परिवार वा जोडीसहित देश–विदेश घुम्ने चलन बाक्लो हुँदैछ । यस्तो घुमघाममा उद्योगी–व्यवसायीहरुको अभिरुची बढी देखिन्छ ।

साथै, धेरै उद्योगी–व्यवसायीहरु धर्मकर्ममा पनि खुबै विश्वास राख्छन् । त्यसैले उनीहरु दशैंमा नवरात्रभर देवी दुर्गाको पुजा आराधना पनि गर्छन् । अनलाइनखबरकर्मी ध्रुव भट्टराईले पूर्वी क्षेत्रका केही उद्योगी–व्यवसायीसँग उनीहरुले दशैं मनाउने तरिकाबारे सोधेका छन्ः–

‘विदेशमा बित्नेछ दशैं’

पवन साराडा
साराडा ग्रुप एवं पूर्व अध्यक्ष, मोरङ्ग व्यापार संघ

यो बर्षको दशैं मेरो बिदेशमा बित्नेछ । १५ दिनपछि मात्र स्वदेश फर्कने योजनामा छु ।

विगतको बर्ष विराटनगरमा नै परिवारजन र आफन्त भेटघाट गरी रमाइलो गरी दशै मनाएको थिएँ । म नेपाली मौलिक परम्परा र संस्कृतिअनुसार नै हरेक वर्ष दशैं मनाउँछु । पुजा गर्छु । नवरात्रिभर ब्रत बस्छु । मेरो अनुपस्थितिमा यो बर्ष पुजा–आजाको जिम्मेवारी छोराले लिएको छ । नेपालको दशैलाई भने मिस गर्नेछु ।

‘नवरात्रभरि व्रत’

प्रकाश मुण्दडा

अध्यक्ष, मोरङ व्यपार संघ

नयाँ कपडा लगाउने, मिठो खाने कुराले गर्दा बाल्यकालमा दशैं अत्यधिक रमाइलो हुन्थ्यो । म बच्चा छँदा यिनै कुरामा बढी रमाउँथे । दशैको नवरात्रिभर पुजाआजा गर्ने सँगै ब्रत बस्ने गरेको छु । दशैंमा म कतै बाहिर जाने गरेको छैन ।

यस बर्षको दशै पनि विराटनगरमा नै परिवारजन–आफन्त र साथीहरुहरुसँग रमाइलो गरी मनाउने योजना छ । टिकाको पूर्णिमापछि भने पोखरा घुमफिरका लागि जाने योजना तय भएको छ । पोखरा घुमफिरसगै मुक्तिनाथ गएर दर्शन गर्ने योजनामा छु ।

अहिले व्यवसायिक जीवनले व्यस्तता बढाएको छ । हुन त हाम्रो पालामा जस्तो अहिलेका बालवालिकाहरूमा दशैंको रौनक नहोला । किनकि अचेल राम्रो लगाउन र मीठो खान उनीहरूले दशैं पर्खनु पर्दैन । बच्चा बेला सम्झेर पनि हामी खुशी हुन पाएका छौं ।

‘थकान मेटाउने अवसर’

राजेन्द्र राउत,

उपाध्यक्ष, प्रदेश नं १, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालीहरूको महान चाड दशैंको मुख्य विशेषता भनेको नै रमाइलो गर्ने हो । हामी वर्षभरि काम गर्छौं । थकानमा हुन्छौं । हो, त्यो थकान मेटाएर आराम गर्ने समय हो, यो ।

मेरा परिवार–आफन्त र साथीभाईसँगको भेटघाटमा दशैभरी ब्यस्त हुने गरेको छु । यो बर्ष मेरो परिवारमा नयाँ सदस्यका रुपमा बुहारी भित्रिएकी छिन् । उनीसँगको यो पहिलो दशै भएकाले पनि पारिवारिक रमाइलो अझ बढी हुनेछ । टीका लगाउँदा–लगाउँदै दशैं सकिन्छ ।

‘पश्चिम नेपाल घुम्ने योजना’

महेश जाजू,

म्यानेजिङ डाइरेक्टर, एसियन थाई फुड

मैले नेपाली मौलिक परम्परा र संस्कृतिअनुसार नै हरेक वर्ष दशैं मनाउने गरेको छु । यसपालीको दशैं बिराटनगरमा परिवारसँग नै मनाउने छु । दशैंमा मेरो नियमित पूजा हुन्छ । म नवरात्रिभर व्रत बस्छु । घरमा दैनिक पुजा–अर्चना हुन्छ ।

टिकको दिन मान्यजनसंग टिका लगाउने र परिवारका सदस्यलाई टिका लगाई आर्शिवात दिने कबम हुन्छ । तिन महिनाअघि युरोप भम्रण गरेर आएकाले यो बर्षको दशैमा पश्चिम नेपालका धार्मिक एवं पर्यटकीय क्षेत्रको भम्रण गर्ने योजना छ । टिकाको भोलिपल्ट एकादशीको दिन परिवारसँग ६ दिनको भ्रमणका लागि पश्चिम नेपालको पोखरा हँुदै मुक्तिनाथ, जोमसोम, मुस्ताङ–मनाङको भम्रणमा निस्किनेछु ।

अघिल्लो बर्ष दशैंमा विदेश गएको थिएँ । सरकारले २०२० भ्रमण वर्ष घोषणा गरिसकेको अबस्थामा बाह्य पर्यटक आउने बातावरण तयार गर्ने मात्र होइन, स्वदेशका नागरिकले पनि आन्तरिक भ्रमण गर्नुपर्छ भनेर पारिवारिक भम्रण तय गरेको छु । सोही अनुरुप दशैमा रमाइलो घुमघाम हुनेछ ।

‘गाउँमा लिङ्गे पिङ खेलिन्छ’

भीम घिमिरे

अध्यक्ष,उद्योग संगठन मोरङ

म दशैंमा सँधै गाउँ जाने गरेको छु । यसपाली पनि सुनसरीको चक्ररघन्टीमा गएर परिवारजनसँग दशै मनाउँदैछु । अहिले घरका लागि आवश्यक किनमेलको काम भईरहेको छ ।

दशैंमा बाल्यकालका साथी–भाई र आफन्त भेटघाट हुन्छ । गाउँमा लिङ्गे पिङ पनि खेल्ने छु ।

२५ वर्षदेखि दशैको समयमा म सधैं देशबाहिरै भएँ । कहिले अमेरिका त कहिले युरोपमा मेरो दशैं बित्ने गरेको छ । मेरा छोराछोरीहरू बाहिर भएका कारण म विदेश गइरहन्छु । दशैंमा कामबाट थोरै फुर्सद पाइन्छ । दशैंको बिदामा अलिकति समय थप गर्‍यो भने प्रशस्त साथीभाईसँग भेटघाट गर्ने समय पनि मिल्ने गर्छ । त्यही समयलाई भरपुर सदुपयोग गर्ने गरेको छु ।

‘दशैमा बिराटनगरबाहिर जान्न’

अविनाश बोहरा

सदस्य, नेपाल उद्योग–वाणिज्य महासंघ

प्रत्येक वर्षको मेरो दशै विराटनगरमा नै बित्ने गरेको छ । हाम्रो चलिआएको परम्परा र संस्कृति अनुसार नै दशैं मनाउँछु ।

जमरा राख्नेदेखि दशैंमा दैनिक देबीको पूजा हुन्छ । म नवरात्रिभर ब्रत बस्छु । आफूभन्दा ठुला मान्यजनको हातबाट टिका लाउने अनि परिवारका साना सदस्यलाई टिका लगाईदिने छँदैछ ।

दशैंअघि धेरै दौडधुप भयो । कामको सिलसिलामा कहिले कता त कहिले कता पुग्नुपर्ने । अरु समयभन्दा अलिक दशैंमा समय पर्याप्त हुने भएकाले परिवारलाई बढी समय दिने गरेको छु ।

पहिला युवा अवस्थामा लिङ्गे पिङ खुबै खेलिन्थ्यो । तर बिगत केही बर्षदेखि लिङ्गे पिङ लगाउने क्रम हट्दै गएको छ । तैपनि पाएसम्म खेल्ने नै छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?