+
+

९७ हजार कामदार सामाजिक सुरक्षा कोषमा आवद्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते २०:५६

३० असोज, काठमाडौं । सरकारले निजी क्षेत्रका सबै उद्योग-प्रतिष्ठानलाई अनिवार्य गरेको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने म्याद सकिएको छ । र, हालसम्म ९७ हजार कामदार यसमा आवद्ध भएका छन् ।

करिब ८ हजार ३ सय हजार रोजगारदाता कोषमा जोडिएका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार अन्तिम दिन बिहीबार मात्रै २ हजार भन्दा बढी रोजगारदाता आएका छन् । ‘९३ हजार कामदारको इन्ट्री भइसक्यो, ५ जना हजार जतिको गर्दैछौं,’ उनले भने, ‘करिब १ लाख नजिकको संख्यामा कामदार आवद्ध भएका छन् ।’

योगदानमा आधारित सामाजिक सुरक्षा योजना निजी क्षेत्रका कामदारका लागि ल्याइएको हो । म्याद सकिएपनि हजारौं रोजगारदाता भने कोषबाट बाहिरै छन् ।

सरकारले सामाजिक सुरक्षा योजनामा सहभागी दिएको समयसीमा सकिए पनि अब के गने भन्ने निर्णय भएको छैन ।

सम्भवतः पुन अर्को म्याद दिएर आवद्धताका लागि रोजगारदातालाई आह्वान गरिनेछ । ‘अब के गर्ने भन्ने कुरा सरकारले गर्ने निर्णय हो,’ कार्यकारी निर्देशक ज्ञावालीले भने,’ अहिले श्रम मन्त्रीज्यू पनि यूएई हुनुहुन्छ । उहाँ फर्किएपछि केही निर्णय हुनसक्छ ।’

सरकारले कोषलाई बाध्यकारी भने पनि अटेर गर्नेहरुलाई के गर्ने भन्ने स्पष्ट छैन । कार्यकारी निर्देशक ज्ञवाली भने क्रमशः सबै क्षेत्रका कामदारहरुलाई समेट्ने गरी छलफल तीव्र पारिएको बताउँछन् । ‘प्याब्सन र हिसान अन्तरगतका विद्यालयका शिक्षकहरु पनि कोषमा आवद्ध हुन थालेका छन्,’ उनले भने, ‘एक डेढ लाख कामदार त्यसतर्फबाटै नै थप हुन्छ ।’

आउटसोर्सिङ गर्ने कामदार आपूर्ति कम्पनीलाई पनि कोषमा आवद्ध गराउन सुरु गरिएको छ । यस्तो आउट सोर्सिङ कम्पनीमा करिब ३ देखि ४ लाख कामदार कार्यरत रहेको अनुमान छ । ‘कार्यक्रम राम्रो छ, सबै आउनैपर्छ, ठूला घरानाहरु धमाधम आइरहनुभएको छ, क्रमशः सबै आउनेमा आशावादी छौं,’ उनी भन्छन् ।

नेपालमा नयाँ अभ्यास भएका कारण पनि शुरुमा केही अन्योलजस्तो देखिएको ज्ञवाली बताउँछन् । तर, अहिलेसम्मको आवद्धताको विवरण उत्साहजनक रहेको कोषको निश्कर्ष छ । चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल जस्ता ठूला रोजगारदाताहरु कोषमा आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?