Comments Add Comment

स्वप्निल उडानमा एक जलपरी

गौरिकाको नजर अब एसियन गेम्स र ओलम्पिकमा

२५ मंसिर, काठमाडौं । गौरिका सिंह, १३ औं दक्षिण एसियाली खेलकुद (साग) सँगै यो नाम नेपाली खेलकुदमा अविस्मरणीय बनेको छ । स्मरणीय के छ भने उनी भर्खर १७ वर्षकी किशोरी हुन् र उनले लामो यात्रा गर्न बाँकी छ ।

घरेलु भूमिमा आयोजित १३ औं सागमा गौरिकाले सिंगो देशको इज्जत बढाइन् । नेपालले गौरव गर्नलायक खेलाडी पाएको छ । दक्षिण एसियाली प्रतियोगितामा उनले बनाएका कीर्तिमानहरुले अरु खेलाडीलाई पनि प्रेरणा दिनेछ ।

पौडीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रदर्शन कमजोर थियो । सागका १२ वटा संस्करणमा नेपालले पौडीतर्फ जितेको जम्मा एउटा स्वर्ण हो, त्यो पनि भाग्यले पाएको (सन् १९९९ मा नेपालमै भएको आठौं साफ खेलकुदको टिम इभेन्टमा नेपाल तेस्रो भएको थियो, तर भारत र पाकिस्तानका खेलाडी प्राविधिक गल्तीका कारण ‘डिस्क्वालिफाइड’ भएपछि नेपाललाई स्वर्ण हात लागेको थियो) ।

र १३ औं सागमा गौरिका एक्लैले ४ स्वर्ण पदक नेपाललाई दिलाएकी छन् । सागको ३५ वर्ष लामो इतिहासमा यो कुनै पनि नेपाली खेलाडीको सर्वोत्कृष्ट प्रदर्शन हो । नौवटा इभेन्टमा प्रतिस्पर्धा गरेकी गौरिकाले ४ स्वर्ण दुई रजत र ३ कांस्य पदक प्राप्त गरिन् । कुल मिलाएर दुईवटा सागमा उनको पदक संख्या ४ स्वर्ण, ३ रजत र ६ कास्यसहित १३ वटा पुगेको छ । यति धेरै पदक अहिलेसम्म कुनै पनि नेपाली खेलाडीको नाममा छैन ।

यद्यपि तेक्वान्दोका लिजेन्ड दीपक विष्टले लगातार ४ वटा सागमा ४ स्वर्ण पदक जितेका छन् ।

को हुन् गौरिका ?

गौरिका काकतालीले यो स्थानमा आएकी होइनन् । उनको प्रतिभा, खेलप्रतिको लगाव र समर्पणको एकमुष्ट नतिजा हो यो । खेलकुदको महत्व बुझेको र आर्थिक रुपमा सवल परिवारमा जन्मिनु उनको भाग्यको कुरा भयो ।

गौरिकाकी आमा गरिमा राणालाई धेरै नेपालीले चिन्छन्, तर बेग्लै कारणले । उनी २०५० सालको एसएलसी बोर्ड टपर हुन् । गरिमाले ग्यालेक्सी पब्लिक स्कुलबाट एसएलसी दिएर बोर्ड फर्स्ट भएकी थिइन् । तत्कालिन युवराज दीपेन्द्र शाहसँग विवाहको कुरा चलेको भनेर उनको नाम चर्चामा आएको थियो ।

एसएलसी उत्कृष्ट नतिजा ल्याउने मेधावी विद्यार्थी साइन्स नै रोज्ने प्रवृत्ति अहिले पनि छ । तर, बोर्ड फर्स्ट भएर पनि गरिमाले कानून विषय रोज्दा धेरै मानिसहरु आश्चर्यमा परेका थिए । र, उनै गरिमाले एक मात्र छोरी गौरिकालाई खेल क्षेत्रमा लगाएर प्रेरणादायी आमाको उदाहरण बनेकी छन् । अन्यथा धेरै आमाबाबु आफ्ना सन्तानलाई खेल क्षेत्रमा लगाउन अहिले पनि हिच्किचाउँछन् ।

बझाङमा पुर्ख्यौली घर भएका डा. पारस सिंहसँग विवाह गरेकी गरिमाले सन् २०५८ सालमा गौरिकालाई ललितपुरको पाटन अस्पतालमा जन्म दिएकी हुन् । गौरिका २ वर्षकी हुँदा उनलाई लिएर बाबुआमा लण्डन गए र त्यहीँ स्थायी बसोबास गरिरहेका छन् । लण्डनको रोयल फ्री हस्पिटलमा युरोलोजिस्टका रुपमा डा. पारस कार्यरत छन् । गरिमाले भने आफ्ना दुई सन्तानको हेरचाहमै आफूलाई समर्पण गरिन् । गौरिकाका भाइ ११ वर्षका छन् ।

सानो छँदा बाबुआमाले ‘लाइफ स्किल’ सिक्नुपर्छ भनेर गौरिकालाई पौडीको प्रशिक्षणमा राखिदिएका थिए । ९ वर्षमा स्थानीय प्रतियोगितामा भाग लिएपछि गौरिकामा पौडीप्रति लगाव बढ्न थाल्यो । ११ वर्षको उमेरमा छुट्टी मनाउनका लागि गौरिका बाबुआमासँगै नेपाल आइन् र त्यही आगमन उनको खेल करिअरको टर्निङ प्वाइन्ट बन्यो ।

‘हामीले उनलाई खेलाडी बनाउन भनेर पौडीमा हालिदिएका थिएनौं,’ गौरिकाका पिता पारस भन्छन्, ‘तर उनमा विशेष क्षमता र लगाव देखिएपछि हामीले यही क्षेत्रमा अघि बढ्न सपोर्ट गरेका हौं ।’

ग्यालेक्सी कपदेखि रियो ओलम्पिकसम्म

सन् २०१४ मा गौरिका नेपाल आउँदा काठमाडौंमा ग्यालेक्सी कप पौडी प्रतियोगिता आयोजना भइरहेको थियो । गरिमा र पारसले छोरीको क्षमता जाँच्नकै लागि उक्त प्रतियोगितामा सहभागी गराए । सातदोबाटो पौडीपोखरीमा पहिलो प्रवेशमै गौरिकाले २०० मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएको सम्झिन्छन् पारस ।

‘त्यतिबेला नै हामीले उनी धेरै माथिसम्म जान सक्छिन् भन्ने आँकलन गरेका हौं,’ उनले भने ।

यो कीर्तिमानको क्षण सम्झिँदै गौरिकाले अनलाइनखबरसँग भनेकी छन्, ‘पुलबाट बाहिर निस्किनै लाग्दा कालो चस्मा र टाउकोमा ह्याट लगाएको एकजना मान्छेले भन्नुभयो, ‘बहिनी तिम्रो नेसनल रेकर्ड बन्यो । मलाई त विश्वासै गर्न गाह्रो भयो ।’

ग्यालेक्सी कपमा उनले ४ विधामा राष्ट्रिय कीर्तिमानसहित ७ स्वर्ण जितिन् । यहीँबाटै पौडीमा द्रुत गतिले उनको यात्रा अघि बढ्यो । त्यसको दुई वर्षभित्रै ओलम्पिकमा भाग लिन पुगिसकेकी थिइन्, जतिबेला उनको उमेर १३ वर्ष मात्र भएको थियो ।

सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियोमा आयोजित २८ औं ओलम्पिकमा भाग लिने विश्वभरका ११ हजार खेलाडीमध्ये सबैभन्दा कान्छी थिइन् गौरिका ।
अन्तर्राष्ट्रिय मिडियाले समेत उनको चर्चा गरेका थिए ।

रियो ओलम्पिकमा १०० मिटर ब्याकस्ट्रोकको हिट चरणको आफ्नो समूहमा पहिलो भए पनि फाइनलमा स्थान बनाउन सकिनन् उनले । उक्त प्रतियोगितामा बेलायतबाट प्रशिक्षक लैजान नपाएको र प्रतिस्पर्धाअगाडि कस्ट्यूम समेत च्यातिएकाले सोचेजस्तो प्रदर्शन गर्न नसकेको गौरिका बताउँछिन् ।

नेपालबाट छनोट भएर रियो ओलम्पिकमा जानुअघि गौरिकाले २०१५ को जुलाईदेखि अगष्टसम्म रुसको कजानमा भएको १६ औं फिना विश्व च्याम्पियनसीपमा भाग लिएकी थिइन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।

गत वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ वटा स्वर्णपदक जित्दै सनसनी मच्चाइन् । त्यहाँ उनले थुप्रै राष्ट्रिय कीर्तिमानहरु भंग गरेकी थिइन् । यहीँबाट गौरिकाले सागमा स्वर्ण जित्ने प्रक्षेपण गरिएको थियो ।

पौडी संघका अध्यक्ष बज्राचार्य आगामी ओलम्पिक र एसियन गेम्समा गौरिकाबाट उल्लेखनीय प्रदर्शनको आशा राखिएको बताउँछन् । ‘अर्को वर्ष हुने ओलम्पिकमा उनले पदक नै जित्छिन् त भन्न सक्दैनौं, तर दोस्रो राउण्डमा पुगिन् भने पनि ठूलो सफलता हुन्छ,’ उनले भने, ‘एसियाडमा चाहिँ पदकको आश छ ।’

अर्को ओलम्पिक सन् २०२० मा जापानमा हुँदैछ भने एसियाड सन् २०२२ मा चीनमा । अघिल्लो ओलम्पिकमा प्रशिक्षकको अभाव महसुस गरेकी गौरिकाले अर्को पटक पनि प्रशिक्षक लैजान पाउने टुंगो भने छैन । यसको एउटा कारण उनका बेलायती प्रशिक्षकको व्यस्तता र महंगा शुल्कसमेत मानिएको छ ।

आफ्नै खर्चमा तयारी

आठ वर्षदेखि पौडीको प्रशिक्षण लिइरहेकी छिन् गौरिका । अहिले लण्डनको क्याम्डेन स्वीस कटेज क्लबमा प्रशिक्षण लिइरहेकी छन् । प्रमुख प्रशिक्षक एडम टेलर हुन् ।
अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि गौरिकाले तयारी गर्दा राज्यले लगानी गरेको छैन ।

पौडीको प्रशिक्षणका लागि क्लबलाई तिनुपर्ने शुल्क, प्रशिक्षकको शुल्क, हरेक वर्ष राष्ट्रिय खेलकुदमा भाग लिन नेपाल आउँदा वा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन आउजाउ गर्दाको सबै खर्च गौरिकाका बाबुआमा आफैंले व्यहोर्दै आएका छन् । पौडी एसोसिएसनका अध्यक्ष अशोक बज्राचार्य भन्छन्, ‘उहाँहरुले आफ्नै खर्चमा सबै गरिरहनु भएको छ । तर अब ओलम्पिकलाई ध्यानमा राख्दै व्यवस्थापनबारे ठोस प्रस्ताव लैजानेछौं ।’

१७ वर्षीया पौडीवाज गौरिका सिंहले चार स्वर्ण सहित नौ पदक जितिन् । उनले जितेको स्वर्ण सागको व्यक्तिगत इभेन्टमा पहिलो स्वर्ण हो । साथै एक संस्करणमा चार स्वर्ण उनको अर्को कीर्तिमान हो ।

बाबु पारसका अनुसार करिब ६ महिनादेखि गौरिकालाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट तयारीका लागि भनेर मासिक करिव ५ सय डलर आउन थालेको छ । तर गौरिकाको डाइटबाहेक अन्य खर्च नै २ हजार डलर जति हुने गरेको छ । ‘अहिलेसम्म हामी आफैंले सबै म्यानेज गरिरहेका छौं, सरकारलाई कहाँ÷कसरी प्रस्ताव राख्ने भन्ने पनि थाहा भएन,’ उनले भने ।

यसपालि राष्ट्रिय खेलकुद परिषदले उनलाई एउटा फाराम भने भराएको छ । त्यसमा पारसले छोरीका लागि गरिरहेको न्यूनतम खर्च उल्लेख गरेका छन् ।

नेपाल आउँदा उत्साहित

बेलायतमा बसोबास गरे पनि गौरिका हरेकपटक नेपाल आउँदा असाध्यै उत्साहित हुने गरेको उनका अभिभावकको अनुभव छ । ‘बेलायतमा हुर्के पनि गौरिका नेपाली हुनुमा गर्व गर्छिन्,’ पिता पारस भन्छन्, ‘उनको मनमा देशभक्तिको भावना गहिरो छ ।’

सागमा पहिलो स्वर्ण जितेपछि गौरिकाले भनेकी थिइन्, ‘मलाई कसैकसैले विदेशी भन्छन् । तर म नेपाली हुँ । मैले जितेको पदक नेपालको लागि हो ।’
केही समयअघि अनलाइनखबरसँगको अन्तर्वार्तामा पनि उनले भनेकी थिइन्, ‘मेरो मम्मीबाबा नेपाली हो, त्यसैले म पनि नेपाली हुँ । उहाँहरु जहाँ बस्नुहुन्छ, म पनि त्यहीँ बस्ने हो । बेलायत बस्दैमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ ?’

‘मलाई नेपालप्रति गर्व छ र म नेपालको जर्सीमा खेल्दा अपनत्व महसुस गर्छु ।’

१५ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका पारस र गरिमा दम्पत्तिले उतैको नागरिकता लिइसकेको चर्चा पनि सुन्ने गरिन्छ । तर पारसले यसलाई अस्वीकार गरे । आफूहरुले नेपाली नागरिकता नत्यागेको र कहिल्यै नत्याग्ने उनले प्रष्ट पारे । ‘जहाँ बसे पनि हामी नेपाली भएरै बाँच्न चाहन्छौं,’ उनले अनलाइनखबरसँग भने, ‘हाम्रो तन बेलायतमा भए पनि मन नेपालमै हुन्छ ।’

छोराछोरीको राम्रो शिक्षादीक्षा र आफ्नो करिअरका लागि बेलायत बसिरहेको उनले बताए ।

पारसका अनुसार गौरिकाको पढाइ पनि राम्रो छ । यद्यपि, खेलले गर्दा केही असर अवश्य गरेको छ । गौरिका नेपाली राम्ररी बुझ्छिन् तर अप्ठ्यारोसित बोल्छिन् । परिवारमा आफूहरुले प्राय नेपाली नै बोल्ने गरेको एक अन्तर्वार्तामा गौरिकाकी आमा गरिमाले बताएकी छन् । ‘हामीसित कम समय बिताउने हुनाले नेपाली बोल्ने अवसर नै छोरीले कम पाउँछिन्,’ उनी भन्छिन् ।

‘एसियन गेम्समा गौरिकाबाट पदकको आशा छ’
अशोक बज्राचार्य, पौडी एसोसिएसनका अध्यक्ष

यसपालिको १३ औं सागमा पौडीमा अभूतपूर्व उपलब्धी हासिल भएको छ । यसमा सबैभन्दा ठूलो योगदान गौरिकाको नै छ ।

अभ्यासका क्रममा उनको टाइमिङ हेर्दा हामीले कम्तिमा ४ वटा स्वर्णको अपेक्षा गरेका नै थियौं । हुन त उनले आठ वटासम्म स्वर्ण जित्न सक्छिन् । तर, एकैपटक दुईवटा विधामा प्रतिस्पर्धा गर्नुपर्दा उनलाई थकान पनि भयो ।

गौरिकाले गर्दा अरु खेलाडीहरुलाई पनि प्रेरणा मिलिरहेको छ । उनीबाट अरुले पनि सिकिरहेका छन् । १३ वर्षकी डुआनाले दुईवटा रजत पदक जित्नु पनि चानचुने कुरा होइन । भविष्यमा उनीबाट पनि हामीले ठूलो आशा राखेका छौं ।

अहिलेसम्म नेपालको पौडीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गर्न सकेको थिएन । सागमै पनि हामी कमजोर थियौं । तर, यसपालि गौरिका र अन्य खेलाडीहरुको प्रदर्शनपछि हामीलाई हेर्ने नजर बदलिएको छ ।

अब हाम्रो लक्ष्य भनेको एसियन गेम्स र ओलम्पिक नै हो । ओलम्पिकमा यसपाली नै गौरिकाले पदक जित्ने दावी त गर्न सक्दैनौं, तर दोस्रो राउन्डमा पुगिन् भने पनि ठूलो उपलब्धी हुन्छ । त्यसपछिको ओलम्पिकमा चाहिँ उनी निकै अनुभवी पनि भइसकेकी हुन्छिन् र पदकको लागि खेल्नेछिन् ।

सन् २०२२ मा हुने एसियन गेम्समा पनि हामीले गौरिकाबाट पदकको आशा राखेका छौं । अब उनको तयारीका लागि सरकारको तर्फ केकस्तो सहयोग गर्न सकिन्छ भनेर हामी प्रस्ताव लैजाँदैछौं । अरु पनि थुप्रै प्रतिभाहरु हामीसित छन् । उनीहरु सबैलाई समेट्दै अब हामी नयाँ शिराबाट अगाडि बढ्नेछौं ।

‘छोरीको सफलतामा खुशी छौं’
डा. पारस सिंह, गौरिकाका पिता

हामीले सुरुमा छोरीलाई स्वीमिङ ज्वाइन गराउँदा यो स्थानसम्म आउँलिन् भन्ने कल्पना नै थिएन । पौडीलाई एउटा ‘लाइफ स्किल’ का रुपमा लिइन्छ र फिटनेसका लागि पनि आवश्यक छ भनेर ८÷९ वर्षको उमेरदेखि प्रशिक्षणमा हालिदिएका हौं ।

सुरु–सुरुमा बिहानै उठेर प्रशिक्षणमा जान अल्छी पनि गर्थिन् । तर, बिस्तारै उनको लगाव र क्षमता देखिन थाल्यो । नेपालमा एउटा प्रतियोगिता जितेपछि उनले यस क्षेत्रमा केही गर्छिन् भन्ने हामीलाई लागेको हो ।

हामीले उनलाई आवश्यक सबै बन्दोबस्त मिलाइरहेका छौं । सबै प्रतियोगिताहरुमा हामी आफैंले उनलाई लैजान्छौं । खासगरी गरिमाले उनको सबै हेरविचार गर्छिन् ।
खर्च त हुन्छ । क्लवलाई तिर्नुपर्ने पैसा, प्रशिक्षकको शृुल्क, फिजिक्स, डाइट लगायतले गर्दाखेरी धेरै पैसा खर्च हुन्छ । राष्ट्रिय प्रतियोगिताका लागि हरेक वर्ष नेपाल ल्याउनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि विभिन्न देश लैजानुपर्छ । अहिलेसम्म यो सबै खर्च हामी आफैंले वहन गरिरहेका छौं । सरकारसँग कुनै डिमान्ड पनि राखेका छैनौं । अहिले राखेपले एउटा फर्म भर्न लगाएको छ । भविष्यमा केही गर्छ कि ?

हामी सन् २००४ देखि बेलायतमा छौं । तर, नेपाली नागरिकता त्यागेका छैनांै र त्याग्दैनौं पनि । बेलायतको नागरिकता लिन चाहेको भए पहिल्यै लिन सकिन्थ्यो । गौरिकाको कारणले नलिएको पनि होइन । नेपाल नै हाम्रो मातृभूमि हो र हामी नेपाली भएरै बाँच्न चाहन्छौं । गौरिका पनि नेपाली हुनुमा नै गर्व गर्छिन् । उनले जहिलेसम्म सक्छिन् नेपालकै लागि खेल्नेछिन् ।

आफ्नो सन्तानको सफलतामा कुन बाबुआमालाई खुशी नलाग्ला । १७ वर्षको उमेरमै उनले आज जुन उचाई हासिल गरेकी छन्, त्यसले हामीलाई मात्र होइन, सिंगै देशलाई गौरवान्वित बनाएको छ ।

सागमा हामीले यो सफलताको अपेक्षा राखेका थियौं । अब उनको लक्ष्य भनेको ओलम्पिक हो । त्यसलाई ध्यानमा राखेर तयारी गर्नेछिन् । सम्पूर्ण नेपाली जनताबाट आज गौरिकालाई जुन माया र प्रेरणा प्राप्त भएको छ, त्यसले उनलाई थप उर्जा प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment