Comments Add Comment
१३औं साग :

गौरिकाको कीर्तिमान : चार स्वर्णसहित ९ पदक

२३ मंसिर, काठमाडौं । जलपरी गौरिका सिंहले सोमबार आफ्नो अन्तिम व्यक्तिगत इभेन्टमा प्रतिस्पर्धा गर्नुअघि सबैले सोचेका थिए स्वर्ण नै जित्छिन् । तर १०० मिटर फ्री स्टायलमा हिट चरणमा उन टाइमिङ राम्रो थिएन । गौरिका १ मिनेट ००.२१ सेकेण्डसहित तेस्रो स्थानमा थिइन् ।

पहिलो भएकी भारतकी शिभांगी सिंहले ५८.६६ सेकेण्डको समय निकालेकी थिइन् । भारतकै अन्नी जैन १ मिनेट ००.२१ सेकेण्डसहित दोस्रोमा थिइन् । त्यसैले के होला भन्ने अन्यौल पनि थियो ।

जब इभेन्ट शुरु भयो, नेपाली गौरिका र भारतकी शिभांगी सिंह उही गतिमा अगाडि बढे । दुवै खेलाडी सगैसंगै पौडिरहेका थिए । कसले जित्छ अनुमान गर्न गाह्रो थियो ।

तर गौरिकाले सानो अन्तरमा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी छन् । र तोडिन कीर्तिमान, बनाइन् नयाँ कीर्तिमान । गौरिकाले ५८.१३ सेकेण्डमा दूरी पूरा गर्दा शिभांगीले ५८.१५ सेकेण्ड लगाइन् । ०.०२ सेकेण्डले गौरिकाले स्वर्ण चुमिन् ।

१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीको अन्तिम दिन अर्थात सोमबार सातदोबाटोस्थित पौडी पुलमा भएको १०० मिटर फ्री स्टायल इभेन्टको कहानी हो यो ।

स्वर्ण जितेपछि गौरिकाले पनि निर्धारित दुरी पुरा गर्दा समेत आफूलाई डर लागेको सुनाइन् । ‘दर्शकबाट एकदमै हुटिङ आइरहेको थियो । मलाई शुरुमा हेर्नै डर लाग्यो को जितेको भनेर । पछि मैले जितेछु,’ गौरिकाले सञ्चारकर्मीसँग भनिन् ।

गौरिकाले हरेक इभेन्टमा प्रतिस्पर्धा गर्दा घरेलु समर्थकको अपेक्षा स्वर्ण हुन्थ्यो । र, उनले व्यक्तिगत इभेन्टमातर्फ चार स्वर्ण जितिन् भने दुई रजत । टिम प्रतिस्पर्धामा भने उनले तीन काश्य जितेकी छन् ।

पौडीको सम्पूर्ण इभेन्ट सकिएपछि आमा गरिमा राणाले एक पटक सबै मेडल गौरिकालाई लगाइदिइन्, जतिबेला उनी सञ्चारकर्मीसँग कुरा गरिरहेकी थिइन् । यतिका मेडलले गाह्रो भएको छैन भन्ने प्रश्नमा गौरिकाले भनिन्, अली गह्रौ भएको छ ।’

साँच्चै उनलाई जितेको मेडल र कीर्तिमानले केही बोझ थपेको प्रष्ट हुन्थ्यो । किनकी १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन काश्यसहित दक्षिण एसियाली खेलकुदमा सर्वाधिक सफल नेपाली खेलाडी बनेकी छन् ।

पौडीका समावेश ३८ इभेन्ट मध्ये २७ वटामा स्वर्ण जित्दै भारत टिम च्याम्पियन बन्यो । दोस्रो भएको बंगलादेशले ७ स्वर्ण जित्यो । गौरिकाको कीर्तिमानी ४ स्वर्णको मद्दतमा नेपालले ४ स्वर्णसहित कूल १२ पदक जित्यो ।

नेपालले रजत र कास्य पनि ४-४ वटै जितेको छ ।

एकै संस्करणमा ४ स्वर्णको कीर्तिमान

खासमा गौरिकाले पौडिएपछि कीर्तिमान बन्छ । उनले आफ्नो इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै टाइमिङमा कीर्तिमान बनाउँछिन् भने पदक जित्नेमा पनि कीर्तिमान बनाइन् । गौरिकाले जितेको हरेक स्वर्ण लगायत सबै पदक आफैंमा कीर्तिमान हो ।

गौरिकाले यस पटक ४ स्वर्ण जितिन् । हरेक स्वर्णको आफ्नै कीर्तिमान छ । पौडीको पहिलो दिन गौरिकाले २०० मिटर फ्री स्टायलमा स्वर्ण जितिन् । यो नेपाली खेलाडीले सागमा पौडीतर्फ जितेको पहिलो व्यक्तिगत स्वर्ण थियो । यसअघि सन् १९९९ मा नेपालले महिला रिलेमा स्वर्ण जितेको थियो ।
गौरिकाले २०० मिटर ब्याकस्ट्रोकमा दोस्रो दिन स्वर्ण जितिन् । यो एउटै सागमा उनले जितेको दोस्रो स्वर्ण थियो । १३औं सागमै करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोका आयशा शाक्यले २-२ स्वर्ण जिते । तर मन्डेकाजी र आयशाले एक स्वर्ण व्यक्तिगत र अर्को टिममा जितेका थिए । गौरिकाले पहिलो र दोस्रो स्वर्ण एकलमा जितेकी थिइन् ।

यस्तै उनले ४०० मिटर फ्री स्टायलमा आइतबार स्वर्ण जित्दै अर्को कीर्तिमान बनाइन् । लेजेण्ड्री म्याराथन धावन बैकुण्ड मान्नधर र तेक्वान्दोकै आयशा शाक्यको ३ स्वर्णको कीर्तिमान गौरिकाले बराबरी गरिन् । साथै एकै सागमा ३ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाइन् ।

पौडीको अन्तिम दिन सोमबार १०० मिटर फ्री स्टायलमा स्वर्ण जित्दै गौरिकाले अर्को कीर्तिमान बनाइन् । एकै सागमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनिन् ।

साथै सागमा ४ स्वर्ण जित्ने कीर्तिमानी खेलाडी दीपक विष्टको कीर्तिमान बराबरी गरिन् । नेपालका लागि सागमा ४-४ स्वर्ण जित्नेमा अब दिपकसंगै गौरिकाको नाम आउँछ ।

तर दुवैको सफलता भने केही फरक छ । दिपकले ११ वर्षमा चार संस्करण लगातार खेल्दै लगातार स्वर्ण जितेका थिए, जन आफैँमा एउटा अभुतपूर्ण सफलता हो । उनले सन् १९९९ मा नेपालमै भएको आठौं सागमा पहिलो स्वर्ण जितेका थिए । यस्तै २००४ को नवौँ साग २००६ को दशौँ साग र २०१० को ११औं सागमा लगातार स्वर्ण जितेका थिए ।

गौरिकाले भने धेरै इभेन्ट खेल्ने पाउने फाइदा उठाइन् । उनले यस पटक ९ इभेन्टमा प्रतिस्पर्धा गर्दा ४ इभन्टमै स्वर्ण जितिन् । यसले पनि गौरिकालाई एकै संस्करणमा धेरै स्वर्ण जित्न सहयोग पुग्यो ।

टाइमिङमा पनि कीर्तिमान

गौरिकाले सोमबार १०० मिटर फ्री स्टायलमा स्वर्ण जित्दा आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरिन् । नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले ५९.६० सेकेण्डको कीर्तिमान बनाएकी थिइन् । १३औं सागमा त्यसलाई सुधार गर्दै आफ्नै नाममा ५८.१३ सेकेण्डको कीर्तिमान बनाइन् ।

यस्तै सोमबारै भएको मिडले रिले गौरिकासहित डुआना टिसा र अनियाको टिमले ४ मिनेट ३३.६२ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए । यसअघि आठौंमा गौरिका र डुआनासहित उपस्थिति महर्जन र सोफिया शाहको टिमले ४ मिनेट ५१.८९ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

यसअघि गौरिकाले सिंहले चौथो दिन ४०० मिटर फ्री स्टायलमा स्वर्ण जित्दा पनि नयाँ कीर्तिमान बनाएकी थिइन् । उनले शिभांगी शर्मालाई नै पछि पार्दै स्वर्ण जित्दा ४ मिनेट ५५.२८ सेकेण्डको नयाँ कीर्तिमान बनाइन् ।

यसअघि उनकै नाममा ४ मिनेट ४४.८१ सेकेण्डको कीर्तिमान थियो।

यस्तै चौथो दिनै रजत जित्दा ५० मिटर ब्याकस्ट्रोकमा पनि कीर्तिमानमा सुधार गरिन् । आठौंमा बनाएको ३०.०५ को कीर्तिमानमा सुधार गर्दै २९.७१ सेकेण्डको नयाँ कीर्तिमान बनाइन् ।

चौथो दिनै ८०० मिटर फ्री स्टायल रिलेमा पनि गौरिका डुआना टिसा र अनुसायको टिमले ९ मिनेट ०३.०४ सेकेण्डको नयाँ कीर्तिमान बनाए ।

तेस्रो दिन पनि गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा कीर्तिमानमा सुधार गर्दै रजत पदक जितेकी थिइन् । उनले आठौंमा बनाएको १ मिनेट ०७.२२ सेकेण्डको कीर्तिमानमा सुधार गर्दै १ मिनेट ०३.१५ सेकेण्डको कीर्तिमान बनाइन् ।

दोस्रो दिन गौरिकाले २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जित्दा २ मिनेट १७.७३ सेकेण्डको नयाँ कीर्तिमान बनाएकी थिइन् ।

पहिलो दिन २०० मिटर फ्रीस्टायलमा ऐतिहासिक स्वर्ण जित्दादेखि नै कीर्तिमानको शुरुवात गरेकी थिइन् । उनले २२औं राष्ट्रिय खुल्ला प्रतियोगिता रहेको २ मिनेट ०९.१९ सेकेण्डको कीर्तिमान तोड्दै २ मिनेट ०५.०६ सेकेण्डको नयाँ कीर्तिमान बनाएकी हुन् ।

 

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment