Comments Add Comment

लकडाउनमै नौबिसे-नागढुंगा र गौशाला-चाबहिल खण्ड मर्मत गर्ने तयारी

फाइल फोटो

३ वैशाख, काठमाडौं । सडक विभागले लकडाउनकै अवधिमा आवश्यक सतर्कता अपनाएर त्रिभुवन राजपथको नौबिसे-पिपलमोड (नागढुंगा) सडक खण्डको मर्मत गर्ने तयारी गरेको छ । लकडाउनमा सडक खाली भएको मौका पारेर यो सडकखण्ड सुधारको काम गर्न प्रयास भइरहेको महानिर्देशक केशवकुमार शर्माले बताए । अहिले काम गर्न सकिए गाडी रोक्नुनपर्ने र यात्रुले सास्ती पाउने अवस्था पनि नहुने उनको भनाइ छ ।

यो सडकखण्ड प्रत्येक बर्खायाममा धेरै क्षतिग्रस्त हुने गरेको यो बाटो लकडाउनको समयमै काम गर्न अनुमति मागिएको विभागले बताएको छ । काठमाडौं सडक डिभिजनले हेर्ने नागढुंगाको चेकपोस्टदेखि पिपलमोडसम्मको सडक मर्मतको काम भने भइसकेको छ ।

चितवन सडक डिभिजनको जिम्मा रहेको यो सडकखण्डमा अस्फाल्ट पिच गर्न चितवनको जुगेडीबाट कालोपत्रे तयार गरेर ल्याउनुपर्ने अवस्था छ । सरकारले यो काम अघि बढाउन विभागलाई ‘ग्रिन सिग्नल’ दिइसकेको छ ।

यो समयमा सडक खाली  हुने हुँदा गाडी नरोकी काम गर्न सकिने भएकाले अनुमति मागिएको विभागका महानिर्देशक शर्माले बताए। विभागले लकडाउनको अवधिमा चाबहिल-गौशाला खण्ड पनि सुधार गर्ने तयारी गरेको छ । यसका लागि पनि सरकारको सहमति रहेको विभागले जनाएको छ।

गौशाला-चाबहिल सडक खण्डमा खानेपानीको पाइप फुट्ने समस्या भए पनि नयाँ पाइप फेर्ने काम सकेर अहिले पिच गर्ने तयारी भइरहेको छ ।

‘यी आयोजनाहरूमा कसरी काम गर्ने भनेर दुवै आयोजनाका निर्माण कम्पनीले तयारी गरिरहेका छन् । उनीहरूले कति गाडी, मेसिन र श्रमिक कसरी परिचालन गर्ने भनेर कार्यायोजना तयार गर्दैछन्,’ उनले भने,’त्यस लगत्तै हामी यी आयोजनाहरुमा काम थाल्छौँ ।’

भारतीय कामदार घर फर्किएकाले नागढुंगाको सडक मर्मतको काम गर्न भने सहज हुने देखिएको छैन । ठेकेदार कम्पनीले आवश्यक प्रवन्ध गरिरहेको जानकारी विभागलाई गराएको छ ।

कामदारहरुबीच दुरी कायम हुने गरी सुरक्षा सतर्कता अपनाएर काम हुने शर्माले बताए ।

सरकारले अहिले लकडाउनमा बनाउन लागेको चाबहिल-गौशाला खण्डमा धेरै खाल्डाहरु छन् । खानेपानीको पाइप फुटिरहने समस्याले यो खण्ड जति मर्मत गर्दा पनि स्तरीय बन्न नसकेको विभागका अधिकारीहरु बताउँछन् ।

यसपटक भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय -पीआईडी)सँग समन्वय गरेर पाइप बिछ्याउने र सडक मर्मत गर्ने कामका लागि एउटै ठेकेदार परिचालन गरिएको छ । कालिका कन्स्ट्रक्सनले यो खण्ड मर्मतको जिम्मा पाएको छ ।

गत वर्षसम्म सडक विभागले महिनौंदेखि बिग्रेको सडक पनि ठूलो दबाबपछि बल्लतल्ल बनाउँथ्यो । तर, यसवर्ष हिउँदबाटै सडक मर्मतको काम भइरहेको थियो । विभागले लकडाउनका समयमा कम कामदार प्रयोग हुने खण्डमा काम जारी गरेको छ भने पुलको काम पनि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment