Comments Add Comment

औषधि खरिदमा सरकारको दोधारे नीति, सेनालाई मुछेर ठेकदारसँगै धन्दा

नेपाली सेनाले सामान किन्न सकेन, व्यापारीले विमानबाट ओसारेको ओसार्‍यै

४ वैशाख, काठमाडौं । सरकारले स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई सुम्पेको तीनहप्ता बितिसक्यो । सेनाले पनि पत्रकार सम्मलेन गरेर ‘यथाशीघ्र सामान खरिद गरिने’ बताएको थियो । तर,सामग्री खरिदमा अहिलेसम्म नेपाली सेना सफल हुन सकेको छैन । सरकारले चाहिँ बाहिर सेनालाई देखाएर भित्र व्यापारीहरुसँग कारोबार अघि बढाएको छ ।

ओम्नी बिजनेश कर्पोरेसन इन्टरनेश्नलसँग यसअघि भएको सम्झौता विवादमा तानिएपछि सरकारले गत १६ चैतमै सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएको थियो ।

यतिका दिनसम्म सेनाले समान किन्न नसके पनि निजी व्यवसायीहरुले भने वाइडबडी विमानमार्फत चीनबाट सामान ओसारिरहेका छन् । र, सरकार व्यापारीहरुसँग तिनै सामान किन्दैछ ।

सेनाको छवि धमिल्याउने सरकारको दोहोरो नीति

स्वास्थ्य सामग्री खरिदसम्बन्धी सरकारको दोहोरो नीतिका कारण नेपाली सेनाजस्तो तटस्थ संस्थाको क्षमतामाथि प्रश्न उठ्ने अवस्था उत्पन्न भएको छ । एकातर्फ चाँडो सामान किन्न नसकेपछि सेना आलोचित हुन थालेको छ भने अर्कोतिर सरकारले निजी कम्पनीबाटै सामान उठाउन थालेको छ ।

सरकारले सेनालाई कोरोना (कोभिड-१९) भाइरसको रोकथाम तथा उपचारका लागि स्वास्थ्य उपकरण र औषधि ल्याउने जिम्मेवारी दिए पनि अहिलेसम्म बजेट नै नतोकिएको रक्षा मन्त्रालयका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

यसैबीच, कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिमा रहेका एक मन्त्रीसँगको भेटमा अनलाइनखबरले प्रश्न गर्‍यो, ‘कोरोनाको खतरा दिनानुदिन बढिरहेको छ, खै त अहिलेसम्म नेपाली सेनाले स्वास्थ्य सामग्री किन्न सकेन नि ?’

जवाफमा ती मन्त्रीले बिन्दास पारामा भने, ‘तपाईंहरु ढुक्क हुनोस्, अब नेपालमा पीपीई र कीटलगायतका कुनै सामग्रीको अभाव हुन दिइन्न । अब यसबारे कुनै स्वास्थ्यकर्मीको गुनासो तपाईंहरुले सुन्नुपर्दैन ।’

‘कसरी ? सेनाले त अहिलेसम्म सामानै किन्न सकेको छैन….?’

मन्त्रीको जवाफ छ, ‘अब विदेशबाट सामान किनेर व्यापारीले विमानमा भटाभट ल्याउँछन्, सरकारले त्यही सामान उनीहरुबाट किन्छ ।’

के गर्दैछ जंगी अड्डा ?

जंगी अड्डालाई सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न मन्त्रिपरिषदले चैत १६ मा जिम्मा दिएको थियो ।

त्यसलगत्तै जंगीअड्डाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि खरिद गर्न प्रस्ताव राखेको थियो । तीमध्ये चीन र भारतले मात्र स्वीकृति जनाएका थिए । इजरायल र सिंगापुरबाट कुनै जवाफ आएको थिएन ।

त्यसपछि जंगीअड्डाको खरिद इकाइले चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याउने गरी प्रक्रिया अघि बढायो ।

भारतबाट ल्याउने औषधिको सूची पनि तयार भएर प्रस्ताव स्वीकृत भइसकेको छ । तयार पारिएको सूचीलाई रक्षा र स्वास्थ्य मन्त्रालयले स्वीकृति दिइसकेपछि खरिद इकाइ अहिले दुवै मुलुकका सरकारी स्वामित्वको औषधि कम्पनीसँग प्रत्यक्ष सम्पर्कमा रहेको स्रोतले बतायो ।

नेपाली सेनाले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री खरिदको अन्तिम सूची तेस्रो संशोधनपछि तयार भएको छ ।

चिनियाँ पक्षले नेपालको प्रस्तावमा प्राविधिक कठिनाई औँल्याएपछि बुधबार भिडियो कन्फ्रेन्समार्फत प्रस्तावित सामग्री खरिदको सूची सच्याइएको हो । भिडियो कन्फरेन्समा जंगीअड्डाको खरिद इकाइका पदाधिकारीहरु सहभागी थिए । स्वास्थ्य सामग्री खरिद गर्न गठित इकाइमा रक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु पनि सदस्य छन् ।

यसअघि दुई पटक पठाइएको सूचीमा चीनले प्राविधिक कमजोरी औँल्याएको सैनिक स्रोतको भनाइ छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले स्वास्थ्य सामग्री खरिदको चरण ‘अन्तिम अवस्था’ मा पुगेको बताउँछन् । उनले २३ चैतमा रक्षा संवाददाताहरुसँग भिडियो कन्फ्रेन्स गरेर स्वास्थ्य सामग्री यथाशीघ्र नेपाल ल्याइने बताएका थिए । खरिद प्रक्रियालाई पारदर्शी र विवादरहित बनाउने पनि उनको उद्घोष थियो ।

अब खरिद गर्नुपर्ने सामग्रीको अन्तिम सूची टुंगिएपछि रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्ने सूचीका आधारमा बजेटबारे टुंगो लाग्ने रक्षा स्रोतले बताएको छ । त्यसपछि मन्त्रिपरिषदले नै सूचीमा उल्लेख भएअनुसारको मूल्य पारित गरेर बजेट तोक्ने स्रोतको भनाइ छ । र, भुक्तानी प्रणाली पनि क्याविनेटबाटै टुंगो लाग्ने स्रोतको भनाइ छ ।

स्रोतका अनुसार अन्तिम सूचीमा ६० बढी स्वास्थ्य सामग्री समेटिएका छन् । सैनिक स्रोतका अनुसार अन्तिम सूची चीनलाई पठाइएको छ । जसअनुसार सेनाले चीन र भारतबाट स्वास्थ्य सामग्री र औषधि खरिद गर्न लागेको स्रोतले अनलाइनखबरलाई बतायो ।

निर्णयमा जीटूजी, व्यवहारमा ठेकदारसँग साँठगाँठ

कोरोना संक्रमण तथा रोकथामका लागि पछिल्लो समय निजी क्षेत्रबाटै धमाधम मेडिकल सामग्री आयात भइरहेको छ । तर, यतिका दिनसम्म सेनाले भने सामग्री खरिद गर्न सकेको छैन । सरकारले सामान खरिदको जिम्मा सेनालाई दिएर उसको भूमिका आलोचित बनाइदिएको छ ।

सेनामार्फत खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारले स्वास्थ्य सेवा विभागबाट पनि सामग्री खरिद गरिरहेको छ । विभागले केही दिनअघि सार्वजनिक सूचना जारी गरेर पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई), प्रोटेक्टिभ गगल्स, गाउन, मास्क, ग्लोब्स, सुज कभर, क्याप लगायतका सामग्री माग गरेको थियो ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भन्छन्, ‘हामीले ४० करोड रुपैयाँ बराबरको सामग्री खरिद गर्दैछौँ।’

यसका लागि चारवटा कम्पनीको नाम छनोट गरिएको उनले अनलाइनखबरलाई बताए । यद्यपि, श्रेष्ठले ती कम्पनीको नाम बताएनन् । ‘जसको थोरै कबोल थियो, त्यही छानिएको हो’, उनले भने, ‘भोलिसम्म खरिद सम्झौता भइसक्छ ।’

सेनाले खरिद गर्न लागेको सामान चाहिँ ठूलो परिणाममा भएको श्रेष्ठले जनाए ।

वाइडबडी चीन जाँदै

यसैवीच, नेपाल एयरलाइन्सका दुईवटा वाइडबडी जहाज बिहीबार साँझ चीन जाँदैछन् । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार बिहीबार साँझ दुवै जहाजले चीनको ग्वाङझाउका लागि उडान गर्न लागेका हुन् ।

चीनबाट मेडिकल सामान ल्याउन निजी कम्पनीले चार्टर्ड गरी नेपाल एयरलाइन्सका जहाज लैजान लागेका हुन् । खड्काका अनुसार फ्लास फ्रेटले एउटा र सांग्रिला फ्रेटबाट अर्को जहाज चार्टड भएको हो ।

साँझ पौने ७ बजे उड्ने यी जहाज शुक्रबार बिहान काठमाडौं फर्कनेछन् ।

यससँगै चीनको ग्वाङझाउमा नेपाल एयरलाइन्सको यो चौथो चार्टर्ड उडान हुनेछ । सबै उडान मेडिकल सामग्रीको आपूर्तिका लागि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment