
News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय स्पेस स्टेशनले कोअर्डिनेटेड युनिभर्सल टाइम (UTC) प्रयोग गर्दछ।
- स्पेस स्टेशनमा दिन र रात ९० मिनेटको हुन्छ, किनभने यसले पृथ्वीको एक चक्कर ९० मिनेटमा लगाउँछ।
- नेपालको समय ग्रीनबीच मिन टाइमभन्दा ५ घण्टा ४५ मिनेट छिटो भएकाले अन्तरिक्ष स्टेशनमा बिहानको ६ बजेको हुन्छ।
अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा विभिन्न देशका अन्तरिक्षयात्रीहरू बस्दछन् र विभिन्न खालका वैज्ञानिक प्रयोग लगायतका काम गर्दछन् । स्पेस स्टेशनमा रहेका अन्तरिक्षयात्रीका देशका मानक समय फरक-फरक हुन्छन् । यस्तोमा स्पेस स्टेशनमा कुन मानक समय अर्थात् टाइम जोनलाई आधार मानिन्छ होला ? अनि त्यहाँको दिन र रात कति लामो हुन्छ होला ? यसबारेमा जान्ने चाहना सायद हामी सबैलाई छ।
तपाईंलाई सुन्दैमा अनौठो लाग्ला कि पृथ्वीमा एक दिनमा एक पटक मात्र सूर्योदय तथा सूर्यास्त हुन्छ । तर स्पेस स्टेशनमा २४ घण्टाभित्रमा १६ पटक सूर्योदय र १६ पटक सूर्यास्त हुन्छ ।
यस हिसाबले स्पेस स्टेशनमा केवल ९० मिनेटको दिन तथा ९० मिनेटको रात हुन्छ । जबकि पृथ्वीमा यो अवधि १२/१२ घण्टाको हुन्छ । स्पेश स्टेशनले निकै तीव्र गतिमा पृथ्वीको परिक्रमा गर्ने भएको हुनाले यस्तो भएको हो । स्पेस स्टेशनले केवल ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउँछ ।
स्पेस स्टेशनले पृथ्वीको परिक्रमा गर्ने क्रममा ४५ मिनेटसम्म सूर्यको प्रकाशमा रहन्छ भने बाँकी ४५ मिनेट पृथ्वीको छायामा रहन्छ । जबकि २४ घण्टाभित्र स्पेश स्टेशनले १६ पटक यस्तो परिक्रमा गर्दछ, जसमा १६ पटक सूर्यास्त र १६ पटक सूर्योदय हुन्छ ।
त्यसैगरी टाइम जोन अर्थात् मानक समयको कुरा गर्दा अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा कोअर्डिनेटेड युनिभर्सल टाइम (UTC) टाइम जोनको प्रयोग हुन्छ ताकि विश्वका फरक-फरक देशसँग समन्वयमा समस्या नआओस् । यो मानक समयलाई ग्रीनबीच मिन टाइम पनि भनिन्छ ।
वास्तवमा स्पेस स्टेशनमा विभिन्न देशका अन्तरिक्षयात्रीले एकसाथ काम गर्दछन् र हरेक देशको आफ्नो फरक मानक समय क्षेत्र हुन्छ । युटिसीको प्रयोगले सबै मिसन कन्ट्रोल सेन्टर तथा अन्तरिक्षयात्रीलाई एकै प्रणाली अन्तरगत ल्याउँदछ । यसबाट केवल सञ्चार सम्पर्क सहज हुनेमात्र होइन, कमान्ड दिनमा पनि सहजता आउँछ । अन्तरिक्षमा अमेरिका, रुस, बेलायत तथा जापान लगायतका देशका अन्तरिक्षयात्रीहरुले एउटा साझा विश्व्यापी मानक समयमा काम गर्दछन् ।
नेपालको मानक समय ग्रीनबीच मिन टाइमभन्दा ५ घण्टा ४५ मिनेट छिटो भएको हुनाले नेपालमा दिउँसोको १२ बज्दा अन्तरीक्ष स्टेशनमा बिहानको सबा ६ बजेको हुन्छ।
अन्तरिक्ष स्टेशनमा समय कसरी हेरिन्छ ?
स्पेस स्टेशनमा समयको गणना गर्नका लागि विशेष घडीको डिजाइन गरिएको हुन्छ र उपकरणको प्रयोग गरिन्छ । अन्तराष्ट्रिय स्पेस स्टेशनमा समय हेर्नका लागि कम्प्युटर तथा डिजिटल घडीको प्रयोग गरिन्छ, जसमा युटिसी टाइम जोनको हिसाबले समय तय गरिन्छ । यसका अलावा त्यहाँ डिजिटल डिस्प्ले पनि हुन्छ, जसमा फरक फरक मिसन कन्ट्रोल केन्द्रहरुको वास्तविक समय बताउँछ । ती सबै डिभाइसलाई युटिसीसँग सिंक्रोनाइज्ड गरिएको हुन्छ ।
साथै स्पेश स्टेशनमा आणविक घडी पनि प्रयोग गरिन्छ । यी घडी निकै सटिक हुनुका साथै अन्तरिक्षमा वैज्ञानिक अनुसनधानका लागि समयको गणना गर्नका लागि महत्वपूर्ण हुन्छन् । यद्यपि आणविक घडीको प्रयोग मूख्य रुपमा अनुसन्धान कार्यमा गरिन्छ । दैनिक कामकाजमा यसको प्रयोग गरिँदैन । साथै पृथ्वीको मिसन कन्ट्रोल केन्द्रसँग स्पेस स्टेशनको समयलाई रेडियो तरंगको माध्यमबाट सिंक्रोनाइज्ड गरिएको हुन्छ ।
अन्तरिक्ष स्टेशनमा अन्तरिक्षयात्रीहरुले लगाउने डिजिटल घडी अन्तरीक्षको माइक्रो ग्राभिटी तथा भ्याकुममा काम गर्नका लागि विशेष तरिकाले डिजाइन गरिएको हुन्छ ।
उदाहरणका लगि नासाले एपोलो मिसनका लागि चन्द्रघडीको प्रयोग गरेको थियो, जसले अन्तरीक्षका कठीन परिस्थितिमा पनि काम गर्दछ। मुख्यत: अन्तरिक्षमा डिजिटल प्रणालीका माध्यमबाट नै समयको जानकारी प्राप्त हुन्छ । तर कतिपय अन्तरिक्षयात्रीहरुले यस्ता घडीलाई व्यक्तिगत रुपमा पनि प्रयोग गर्दछन् ।
प्रतिक्रिया 4