+
+
Shares

सेनाले झन्डै आधा शताब्दीदेखिको हवाई भाडा उठाउन बाँकी

महालेखा परीक्षकको ६२औं प्रतिवेदनमा उल्लेख भएअनुसार, सेनाले आर्थिक वर्ष २०३४/३५ देखि आर्थिक वर्ष २०७९/८० सम्मको बक्यौता उठाउन बाँकी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते २२:३२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले झन्डै ४७ वर्षअघिको हवाई भाडा समेत उठाउन बाँकी रहेको पाइएको छ ।
  • सेनाले हवाई सेवा र चार्टर उडानको बक्यौता असुलीका लागि समिति र प्रक्रिया अनुसार काम गरिरहेको भएता पनि, अझै पनि बक्यौता असुलीमा समस्या देखिन्छ।
  • सेनाका हवाई साधनहरू सीमित छन् र थप विमान र हेलिकप्टरको आवश्यकताका साथै हरेक प्रदेशमा एयर बेस सञ्चालन गर्ने योजना रहेको छ।

३१ वैशाख, काठमाडौं । नेपाली सेनाले झन्डै ४७ वर्षअघिको हवाई भाडा समेत उठाउन बाँकी रहेको पाइएको छ ।

महालेखा परीक्षकको ६२औं प्रतिवेदनमा उल्लेख भएअनुसार, सेनाले आर्थिक वर्ष २०३४/३५ देखि आर्थिक वर्ष २०७९/८० सम्मको बक्यौता उठाउन बाँकी छ ।

यो अवधिमा मात्र ८ करोड १७ लाख २४ हजार रुपैयाँ बक्यौता छ । पछिल्लो आर्थिक वर्षमा ११ लाख ६८ हजार रुपैयाँ बक्यौता गरेर जम्मा ८ करोड २८ लाख ९२ हजार रुपैयाँ उठाउन बाँकी रहेको प्रतिवदेनमा देखिन्छ ।

भीआईपी उडानतर्फ हुने बक्यौता रकमबारे महालेखा परीक्षकले वर्षेनि उल्लेख गर्ने गरेको छ । तर, रकम असुलीमा सुधार उल्लेख्य प्रयास र सुधार हुन सकेको छैन ।

‘कतिपय अवस्थामा निरन्तरता ताकेता नहुँदा त कतिपय अवस्थामा सम्बन्धी सरकारी निकाय वा व्यक्तिबाट बेवास्ता हुँदा बक्यौता बढी हुने गरेको छ’, नेपाली सेनाको जंगीअड्डाका एक अधिकृत भन्छन्, ‘कतिपय राजनीतिज्ञको हकमा उनीहरुले छुट मिलाइदिन पनि आग्रह गर्ने गरेका छन् ।’

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भने चार्टर्ड उडान व्यवस्थापन सम्बन्धी छुट्टै समिति भएको भन्दै बक्यौता असुलीका लागि पहल गरिने बताए ।

कहाँ तिर्ने पैसा ?

नेपाली सेनाको विमान चार्टरका लागि पहिले रक्षामन्त्रीको अध्यक्षतामा रहेको विमान चार्टर उडान विकास समितिबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । समितिको उपाध्यक्ष प्रधानसेनापति र सदस्य सचिव निर्देशनालयका महानिर्देशक हुने व्यवस्था छ ।

समितिले २०७३ सालमा बनेको नेपाली विमान चार्टर कार्यविधिमा भएको व्यवस्था अनुसार हवाई सेवा प्रदान गर्छ । सोही कार्यविधिमा हवाई सेवा बापतको रकम असुलउपरदेखि पारदर्शिता कायम गर्ने र बक्यौता असुल उपर गर्ने जिम्मेवारी सदस्य सचिवको भएको उल्लेख छ ।

त्यसैले सेनाको हवाई सेवा निर्देशनालयमा भएको चार्टर उडान शाखा गएर सेवाग्राहीले वक्यौता रकम बुझाउनु पर्छ ।

सेनाका एक पाइलटका अनुसार कर्णेलको नेतृत्वमा हुने चार्टन उडान शाखाले भाडा संकलन गरेर हप्तावारी, चौमासिक र वार्षिक प्रतिवेदन महालेखा परीक्षकको प्रतिवेदनलाई बुझाउँछ । शाखाले नै अडिट समेत बुझाउने गर्छ ।

सेनासँग कति छन् हवाई साधन ?

हाल सेनासँग १३ हेलिकप्टर र ६ वटा जहाज छन् । तीमध्ये ५ हेलिकप्टर र ४ वटा जहाज मात्रै सञ्चालनमा छन् । सेनाले विपद् उद्धार र अति विशिष्ट पदाधिकारीको सुरक्षाका लागि विमानको प्रयोग गर्दै आएको छ ।

सेनाले पछिल्लो पटक राष्ट्रपतिसहित विशिष्ट व्यक्तिका लागि भनेर अगुस्टा वेस्टल्यान्ड हेलिकप्टर र सीएन २३५–२२० विमान ल्याएको थियो । तर, अझै विमान अपुग भएको सैनिक अधिकृतहरू बताउँछन् ।

सेनाले हवाई सेवा विस्तार गर्दै हरेक प्रदेशमा एयर वेस सञ्चालन गर्ने लक्ष्य राखेको छ । हाल पश्चिम एयर वेस सुर्खेतमा र मध्यएयर बेस काठमाडौंमा सञ्चालनमा छन् । पूर्व एयरबेस इटहरी वा विराटनगरमा स्थापनामा गर्ने सेनाको योजना छ । यद्यपि, जग्गा प्राप्त भइनसकेकाले टुंगो लाग्न नसकेको जनाइएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि आफूहरूसँग पनि हेली साधन हुनुपर्ने प्रस्ताव राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?