
News Summary
Generated by OK AI. Editorially reviewed.- सोलुखुम्बु र खोटाङका ग्रामीण महिलाहरूले सरकारी र गैरसरकारी सहयोगले कृषि उद्यमशीलता प्रवर्द्धन गरेका छन्।
- गाउँमा उत्पादन बढ्दै गए पनि बजार र उचित मूल्यको अभावले कृषकहरू चिन्तित छन्।
- सरकार र संस्थाहरूले तालिम, अनुदान र प्रविधि उपलब्ध गराउँदै महिला उद्यमशीलता र आर्थिक सशक्तिकरणमा काम गरिरहेका छन्।
१७ असार, सोलुखुम्बु। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ बुङ्तोसुमकी भक्तिमाया कुलुङ ५० वर्ष पुगिन्। शरीरले बुढ्यौलीका संकेतहरू देखाउन थाले पनि उनी कहिले जोशका साथ खेतबारीमा काम गरिरहेको भेटिन्छिन् त कहिले हाटबजारमा तरकारी बेचिरहेको।
तीन वर्षअघि व्यावसायिक खेतीको तालिम लिएसँगै भक्तिमायाको जस्तै बुङ्तोसुमका महिलाहरूको दिनचर्चा बदलिएको छ। गाउँमा २४ घरधुरी छ। उनीहरू प्रत्येक महिनाको २ गते कृषक समूहको बैठक बस्छन्। बीउ किन्न कोषमा २०/२० रुपैयाँ बचत पनि गर्छन्।
सरकारी निकायका साथै गैरसरकारी संघ–संस्थाको सहयोगमा ग्रामीण भेगका महिलाहरू आर्थिक उपार्जनमा लागेका छन् भन्ने उदाहरण हुन्- बुङ्तोसुमका महिला। उनीहरूलाई संघीय सरकारको इकाइ कृषि ज्ञान केन्द्रले विभिन्न प्रविधि जस्तै हाते ट्रयाक्टर र थ्रेसरसम्म उपलब्ध गराइरहेको छ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जी फाउण्डेशनले जैविक खेती प्रवर्धन गर्नुका साथै पोषण सुधारमा सहयोग गर्दै अएको छ। जसले गर्दा बुङ्तोसुमको बारीका पाटाहरू आजकल मौसमी तरकारी खेतीले बाह्रै महिना हरियाली देखिन्छ। ‘पहिला ज्ञानको अभावले कतिबेला के लगाउने पनि थाहा थिएन’ कुलुङ भन्छिन्, ‘अहिले परम्परागत खेतीपातीसँगै मौसमी, बेमौसमी तरकारी लगाउँछु। जैविक मल र विषादि समेत आफैं बनाउने सीप छ।’
बेमौसममा उसिनेका भटमास र गुन्द्रुक मात्र भेटिने भान्सा अहिले च्याउ, गोलभेंडा, बन्दा, काउली, मूला जस्ता मौसमी तरकारी उत्पादनले पोषणमा समेत सुधार भएको छ।
तर चुनौती पनि कम छैनन्। सडक आए पनि ढुवानी महँगो छ। प्रतिकिलो २० रुपैयाँमा तरकारी बेच्न भक्तिमायालाई एक घण्टा हिंड्नुपर्छ, जबकि बजारमा उनले त्यही तरकारी किन्नु परेमा प्रतिकिलो १०० रुपैयाँ तिर्नुपर्छ। ‘बीचका मानिसहरूको आम्दानी धेरै छ तर, पसिना बगाउने, जोखिम मोल्ने किसानको हातमा थोरै मात्रै पर्छ त्यो पनि मुस्किलले’, उनले भनिन्।
बुङ्तोसुमकै सुमित्रा कुलुङ (४१) पनि आफ्नो उत्पादन होटल, हाटहुँदै हाइड्रोसम्म पुर्याउँछिन्। ‘तरकारी बेचेर पाएको पैसाले बच्चाहरूको कापीकलम किन्छु, घरखर्च जुटाउँछु’, उनले भनिन्।
आफ्नो उत्पादनले उपयुक्त बजार र उचित मूल्य नपाएको उनको पनि गुनासो छ। ‘हामीले घरमा प्रतिकिलो ५० मा बेचेको तरकारी माथि बजारमा प्रतिकिलो १०० रुपैयाँमा बेच्छन्’, उनले भनिन्।
पहिलेभन्दा कृषि उत्पादन तीन गुणा बढे पनि बजार नपाउँदा स्थानीय कृषकहरू खिन्न सुनिन्छिन्।
अहिले त गाउँ नजिकै बनिरहेका दुई वटा जलविद्युत् आयोजनाका कर्मचारी र मजदुरले यहाँको तरकारी खपत गरिरहेका छन्। यहाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले २२ मेगावाट क्षमताको मध्य होंगु खोला ए र गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले २२.९ मेगावाटको मध्य होंगु खोला बी जलविद्युत् आयोजना निर्माण गरिरहेका छन्। दुई आयोजनामा करिब ५०० जना कार्यरत छन्।
यी दुई वटा आयोजनाको काम पूरा भएपछि आयोजनामा कर्मचारी तथा मजदुर हुँदैनन्। त्यसपछि आयोजनाले तरकारी पनि किन्दैन, अनि के गर्ने होला भन्ने चिन्तामा किसान छन्। ‘हाइड्रो बनिसकेपछि तरकारी कहाँ बेच्ने ?’ भक्तिमाया चिन्तित सुनिन्छिन्।
महिनामा २०-३० हजार रुपैयाँ कमाइ त हुन्छ तर २० रुपैयाँ किलोको तरकारी बेच्न १ घण्टासम्म हिंड्नुपर्छ।
सडक यातायातको विकाससँगै गाउँमा पनि विषादियुक्त कृषि उपज भित्रिन थालेको छ। यसले गाउँका अर्गानिक कृषि उत्पादनकर्ताहरू मारमा पर्न थालेको भक्तिमाया बताउँछिन्।
‘गाउँको अर्गानिक उत्पादनलाई सरकारले प्रमाणीकरण गरेर बेच्ने व्यवस्था गरे हरेक गाउँमा उत्पादन बढ्छ। जनता स्वस्थ हुन्छन्। कृषिमा निर्यात पनि घट्छ’, उनी भन्छिन्।

भक्तिमायासँगै भेटिएका स्थानीय बलराम राई (५०) पनि महिला कृषकसँगै खेतीपाती गर्छन् र तरकारी बेच्न हाइड्रोपावरदेखि हाटबजारसम्म पुग्छन्।
उनी उत्पादन र बिक्रेता दुवै पक्षको बैठकहरूमा पनि सहभागी हुन्छन्। ‘गैरसरकारी संस्थाहरूदेखि स्थानीय निकायबाट पनि सहयोग भइरहेको छ’ उनले भने, ‘तर उत्पादन बढ्दै जाँदा बजारीकरणको समस्या पनि बढेको छ। हामी बजार खोज्ने काम गरिरहेका छौं।’
गाउँका मानिसहरूमा उत्पादन गर्ने जोश भए पनि बजार नपाउँदा कहिलेकाहीं उत्पादन कुहिन दिनुभन्दा गाईभैंसीदेखि सुँगुर-बंगुरलाई खुवाउने गरेको बताउँछन् बलराम।
‘कहिलेकाहीं उत्पादन नबिक्दा बजारबाट फिर्ता ल्याउनुभन्दा सित्तैंमा छाडिदिन्छौं’ उनले भने, ‘ढुवानी महँगो हुँदा पनि समस्या छ।’ यी चुनौतीका बावजुद पनि उनले खेतीबाट मासिक ३०-४० हजारसम्म कमाइ गरिरहेको बताउँछन्।
महाकुलुङ गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङ गैरसरकारी संस्थासँगको सहकार्यमा पालिकाले कृषि उद्यमीहरूलाई सघाइरहेको बताउँछिन्।
‘मौसमी, बेमौसमी तरकारी उत्पादन गर्न वडादेखि टोल–टोलसम्म कृषि समूह गठन गरेर चेतनामूलक र सीपमूलक तालिम, जैविक विषादि उत्पादन र प्रयोगसँगै कृषिको आधुनिकीकरण गर्न सघाइरहेका छौं’ उनले भनिन्, ‘कृषि क्षेत्रमा धेरै उत्पादन गरेर बिक्री-वितरण गर्न भने सकिएको छैन।’
उपाध्यक्ष कुलुङका अनुसार यहाँ बढीजसो महिला नै कृषि कर्ममा सहभागी छन्।
००० ०००
सोलुखुम्बुको छिमेकी जिल्ला खोटाङका दुर्गम बस्तीमा पनि किसानका उत्साह र समस्या दुवै उस्तै छन्। खोटाङको केपिलासगढी गाउँपालिका सप्तेश्वरकी सरिता माते केही वर्षअगाडि परम्परागत रूपमा मकै, कोदो, धान जस्ता बाली लगाउँथिन्।
एकदिन मेला गएर फर्कंदै गर्दा उनको भेट एक जना स्थानीय सामाजिक कार्यकर्तासँग भयो। कुराकानीको क्रममा उनले ज्यालादारी–पर्म पेशा गरेर खान्छु भनिन्। उनले सुझाव दिए, ‘बाख्रा पाल्नुस्, थप खेतीपाती गर्नुस्, संस्थाले सघाउँछ।’ त्यसपछि उनी अहिले निर्वाहमुखी खेतीपातीबाट उठेर व्यावसायिक खेती तथा पशुपालनमा व्यस्त छिन्।

सात जनाको परिवार धानिरहेकी मातेका श्रीमान् राम्ररी कान सुन्दैनन्। उनी अह्राएको र लगाएको काम मात्रै गर्न सक्छन्। छोराछोरी सबै स्कूल पढ्छन्। निरक्षर रहेकी उनलाई संघ–संस्था र सरकारी अनुदान लिन न फाराम भर्न आउँछ न फर्म दर्ता गर्न।
गाउँको महिला समूहमा जोडिएपछि उनलाई अरूहरूले दर्ता प्रक्रियामा सघाए। अहिले उनले केही सुँगुर र बाख्रा पालेकी छन्। गोठमा ब्याउने भैंसी छ। उनी सुँगुरका पाठा बाक्सिला बजारमा लाग्ने हाट–बजारमा बेच्न ल्याउँछिन्। हाटमा नबिके गाउँ–छिमेकमा पाठा बेच्ने गर्छिन्। तर उनलाई बजार आउजाउ गर्न गाह्रो छ। ‘मेरो खुट्टामा समस्या छ। यातायातको सहज सुविधा छैन। बिस्तारै आउजाउ गर्छु’, उनले भनिन्।
००० ०००
केपिलासगढी-४ कै दिलकुमारी राईले पनि अहिले कृषि तथा पशुपन्छी फर्म दर्ता गरेकी छन्। त्यसो त एक–दुइटा बंगुर उनी पहिला पनि पाल्थिन्। तर अहिले उनी व्यावसायिक रूपमै पाल्छिन्। ‘अहिले काट्ने बेला भएको बुंगुर ४ वटा छन्। सँगसँगै, तरकारी खेती पनि गरेकी छु’, उनले भनिन्।
दिलकुमारीका छोराछोरी सानै छन्। परिवारको सहयोगमा उनले कृषि फर्म दर्ता लगायतका काम आफैं गरिन्। शुरूमा आफ्नै घरबाट केही रकम जोहो गरिन्। गर्दै जाँदा केही रकम जम्मा भयो। ‘थपथाप गर्दै निरन्तर तरकारी खेती र सुँगुर पालन गरिरहेकी छु’ उनले थपिन्, ‘बंगुरका पाठापाठी बेचेर मैले राम्रो आम्दानी गरिरहेकी छु।’
बच्चाबच्चीको हेरचाहदेखि खेतीपातीको काम उनी श्रीमानसँग मिलेर गर्छिन्। श्रीमान् दिउँसो स्कूलको काममा जान्छन्। ‘वस्तुभाउ पनि छन्। दिनभरी एक्लै बारीमा दुःख गर्नुपर्छ, धेरैजसो काममै खटिनुपर्छ’ दिलमाया भन्छिन्, ‘काम धेरै भएको बेला पर्ममा मान्छे लगाउँछु।’
जति दुःख गर्नुपरे पनि तरकारी बेचेर पैसा बुझेको दिन दिलमाया निकै खुसी हुन्छिन्। ‘प्याजको बेर्ना बेचेर निकै पैसा कमाउँदा धेरै खुसी लाग्छ। साह्रै मजाले बिक्री हुन्छ। हप्तामा १२/१५ हजारको बेचिन्छ कुनै बेला। तरकारी बिक्दा पनि साह्रै खुसी लाग्छ।’
समस्या बजारकै
दिलकुमारीको दिल त्यतिबेला दुख्छ जब दुःख गरेर उत्पादन गरेको तरकारीले बजार पाउँदैन। ‘गाउँमा तरकारी बिक्री हुँदैन। अस्ति बजार लगेको तरकारी आधासरो घरै फर्काएँ’, उनले भनिन्।
अहिले उनले सानो पसल पनि शुरू गरेकी छन् जहाँ उनले आफैंले उत्पादन गरेको तरकारी पनि बेच्न राख्छिन्। अरू सामान किन्न आउँदा तरकारी पनि किन्छन्। ‘खुर्सानी र प्याजका बिरुवा त घरबाटै ३०-४० हजारको बेचें। बन्दागोभी र प्याजको दुई किलो ब्याड राख्न १० हजार लगानी गरें, त्यसबाट लाख बढी कमाएँ’, दिलकुमारीले सगर्व भनिन्।
बजारमा माग बढेको उत्पादन भने बेच्न सजिलो रहेको उनको अनुभव छ। ‘खुर्सानीको बेर्ना मज्जैले बिक्री भयो। बजारमा आलुको माग अलि बढेको छ’, उनले भनिन्।
ताप खोलाको पुछारमा छ दिलमायाको घर। उत्पादन बजारसम्म पुर्याउन समस्या रहेको उनको पनि गुनासो छ। किनकि बारीबाट बजार पुग्न दुई घन्टा पैदल हिंड्नुपर्छ। ‘कहिलेकाहीं ट्रयाक्टर पाइन्छ, कहिले कसैको मोटरसाइकलमा लैजानुपर्छ’, उनले भनिन्।
००० ०००
केपिलासगढीकै २२ वर्षीया अनुष्का राईले पनि गाउँमा खेती तथा पशुपालन गर्न सृष्टि बहुउद्देश्यीय तथा कृषि पशुपक्षी फर्म दर्ता गरेकी छन्।
उनको श्रीमान सवारी चालक हुन्। तर पनि घरखर्च धान्न आफूले घरायसी कामबाट बचेको समय कुनै उत्पादनमुखी काम गर्न पाए हुन्थ्यो भन्ने अनुष्कालाई लागिरहन्थ्यो।
‘परिवारको आयमा थप सहयोग र खर्चहरूको जोहो गर्न व्यावसायिक खेती र पशुपालन शुरू गरेकी छु’ उनले भनिन्, ‘यसका लागि जी फाउण्डेशनले सघाइरहेको छ। बिस्तारै व्यवसायबाट आफैंले कमाएर घरखर्च धान्ने अवस्थामा पुग्छु भन्ने आशा छ।’

तरकारी खेतीसँगै पशुपन्छी पनि पालेकी अनुष्कालाई गाडी चलाएर बचेको समय श्रीमानले सघाउँछन्। श्रीमान् गाडी चालक भएकोले बजारसम्म उत्पादन पुर्याउन पनि उनलाई सजिलै छ।
त्यसो त, उद्यमी बन्ने बाटामा धेरै चुनौती आइलागे। ‘गाउँमा फर्म चलाउन गाह्रै हुन्छ। शुरूमा न लगानी हुन्छ न अनुभव’ उनले भनिन्, ‘सरसापट र ऋणबाट शुरू गरें अब बिस्तारै कमाएर ऋण तिर्छु।’
यसअघि निर्वाहमुखी खेती गरिरहेकी उनी भन्छिन्, ‘अहिले घरमा मिल पनि हालेकी छु। आफ्ना उत्पादन बाक्सिला बजार र गाउँतिर पनि ब्रिक्री गर्छु। यसअघि घरको उत्पादन घरमै ठिक हुन्थ्यो तर अब उत्पादन बढाएर म पनि आत्मनिर्भर भएर देखाउनेछु।’
यसका लागि गैरसरकारी संस्था (जी फाउन्डेसन) र स्थानीय सरकारले मौका र अवसर दुवै दिएको उनी बताउँछिन्। ‘हामीलाई तालिम, बीउ-बिजन दिनुका साथै बजारीकरणका लागि पनि सघाएको छ’ उनले थपिन्, ‘शुरूमा लगानी गर्न र उत्पादन बढाउन केही पूँजी दिएर पनि सघाइरहेको छ।’
०००
केपिलासगढीकै रञ्जना श्रेष्ठ सानै पैमानामा भने पनि व्यावसायिक रूपमा खेतीमा व्यस्त छिन्। यसका लागि उनले रितु बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेकी छन्।
रञ्जना गाउँका दिदीबहिनीले एकअर्कालाई सघाउँदै काम गरिरहेको बताउँछिन्। ‘हामी महिला दिदीबहिनीहरू जम्मा भएर सल्लाह गर्यौं, एकले अर्कालाई सिकायौं, सघायौं’ उनले भनिन्, ‘शुरूमा पैसा थिएन तर पनि गर्नुपर्छ भनेर लाग्यौं, आफ्नो केही बचतसँगै केही लगानी ऋण खोजेर जुटाइयो।’

व्यावसायिक खेतीपातीमा परिवार र समाजको राम्रो सहयोग पाइरहेको रञ्जना बताउँछिन्। उनले भनिन्, ‘म पनि केही गर्छु र अगाडि बढ्छु भन्ने हिम्मत राख्नुपर्दो रहेछ, सीप र क्षमता बिस्तारै विकास हुँदै जानेरहेछ।’
रञ्जनाको घर नजिकै हाटबजार लाग्छ। बजारमा लगेर उनी आफ्ना कृषि उपजहरू बेच्छिन्। ‘घरनजिक बजार भएकोले पुर्याउन सजिलो छ, बिक्री पनि सजिलै हुन्छ।’
रञ्जनाको काँधमा घरधन्दा र बालबच्चाको पनि जिम्मेवारी छन्। यसबाट बचेको समय उनी खेतीपाती र पशुपालनका लागि दिन्छिन्। ‘अहिलेसम्म सबै काम आफैंले भ्याएकी छु, केही सहयोग परिवारबाट पनि पाएकी छु’, उनले भनिन्।
००० ०००
दूरदराजका गाउँमा पसिना बगाइरहेका उनीहरूको मनोबल र आत्मविश्वास देख्दा उद्यम गर्ने मौका पाए ग्रामीण महिलाहरूले परिवार, गाउँ-समाज हुँदै देशको समृद्धिमा योगदान दिन सक्छन्।
उनीहरू बिस्तारै आफ्ना सपनाको आयतन बढाइरहेका छन् र व्यक्तित्व र नेतृत्व क्षमता पनि। उनीहरूले बालबालिकाको शिक्षाका लागि आम्दानीको बाटो खोलेका छन् र परिवारको आर्थिक समृद्धितर्फ पाइला अगाडि बढाइरहेका छन्।
तर, सरकारले न चिस्यान केन्द्रको व्यवस्था गरेको छ न अर्गानिक उत्पादनलाई प्रमाणीकरण सहित बजारमा सहज पहुँचको व्यवस्था।
ग्रामीण भेगका महिला किसानको साझा समस्या देखिन्छ- उत्पादनले उचित मूल्य र उपयुक्त बजार नपाउनु। उनीहरू कहिले आफ्ना उत्पादन पशुलाई खुवाउन त कहिले बजारमा सित्तैंमा छोडिदिन बाध्य हुन्छन्।
के गरिरहेछ स्थानीय तह ?
केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राईका अनुसार पालिकाका १३ हजार नागरिकमध्ये ७० प्रतिशत कृषि पेशामा आबद्ध छन्।
राई कृषिलाई प्रविधिसँग जोडेर आधुनिकीकरण गर्ने काम गरिरहेको बताउँछन्। ‘परम्परागत कृषिबाट उठेर उत्पादन बढाउने र त्यसलाई बजारसँग जोड्ने कामलाई प्राथमिकतामा राखेका छौं’ उनले भने, ‘यसबाट नागरिकको जीवनस्तर उकास्न सकिन्छ भन्ने हाम्रो विश्वास छ।’
‘हामीले महिलालाई उद्यमी बनाउन काम गरिरहेका छौं, सहयोगी संस्थासँग मिलेर तालिम दिने, कार्ययोजना बनाउन लगाउने, त्यसलाई कार्यान्वयन गर्न सघाउने काम भइरहेको छ। उहाँहरूले कृषि फर्म दर्ता पनि गर्नुभएको छ’, राईले भने।
कतिपयले अनुदान हात लगाउन मात्र काम गरिरहेको उल्लेख गर्दै उनले भने, ‘कसैले आर्थिक प्राविधिक सहयोग गरिदियो भने म आयआर्जन वृद्धि गर्न काम गर्थें भन्ने इच्छाशक्ति भएकालाई खोजेर सघाउनुपर्छ।’
पालिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुख कृष्ण बस्नेतका अनुसार दुई रोपनी क्षेत्रफलमा चिस्यान केन्द्र बनिरहेको छ। अर्गानिक कृषि उपजको सर्टिफिकेसनमा पनि काम भइरहेको उनले जानकारी दिए।
अध्यक्ष राईले पनि किसानको उत्पादन संकलन गर्न कृषि उपज संकलन केन्द्र पनि स्थापना गरिरहेको बताए। बजारीकरण गर्न नसक्दा किसानबाट खरिद गरेको उपज कुहिएको अनुभव पनि पालिकासँग छ।
‘काठमाडौं लगायत शहरमा पुगेर बिक्रेता खोजें तर उनीहरू टनमा माग्छन्। हामीसँग थोरै मात्रै हुन्छ’ अध्यक्ष राईले भने, ‘विकल्पमा हामी कृषि उपजको सुरक्षित भण्डारण र प्रशोधनमा पनि काम गरिरहेका छौं।’ थोरै मात्रै उत्पादन हुँदा ठूला बजारमा बिक्री सम्झौता गर्न समस्या भएको उनले सुनाए।
त्यसो त, महिला उद्यमशीलताको नतिजा कुनै एक व्यक्तिको मात्र सफलतामा सीमित रहँदैन, यसले समग्र देशकै आर्थिक उन्नतिको आधारस्तम्भ बलियो बनाउँछ। त्यसैले भनिन्छ, महिलाहरू आर्थिक रूपमा सशक्त हुँदा उनीहरूको परिवार मात्र होइन, देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ।
‘महिलाको आम्दानी तीन गुणा बढाउँछौं’
जी फाउण्डेशनकी सञ्चार अधिकृत अभिनी दीक्षितका अनुसार संस्थाले केपिलासगढी गाउँपालिकामा जैविक खेती, दिगो कृषि, उद्यमशीलता र विद्यार्थीको सिर्जनात्मकता प्रवर्धन गर्न कृषि तथा शैक्षिक मेला आयोजनामा समेत सहयोग गरेको छ।
३० भन्दा बढी प्रकारका बाली र औषधिजन्य जडीबुटीहरू प्रदर्शन गरिएको मेलामा उत्कृष्ट योगदान गर्ने किसानलाई सम्मान गरेर थप हौसला प्रदान गरिएको उनले बताइन्।
ग्रामीण महिला उद्यमी सशक्तीकरणका लागि महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत खासगरी सीमान्तकृत समुदायका १५ जना आकांक्षी महिला उद्यमीले अनुदान सम्झौतामा हस्ताक्षर गरेको उनले जानकारी दिइन्।
दोस्रो चरणमा थप १८ जनालाई उद्यम स्थापना र सञ्चालनमा सहयोग गर्ने काम सुरु भइसकेको पनि उनले जानकारी दिइन्। ग्रामीण महिलालाई उद्यमी बन्न सघाउन जी फाउण्डेशन, स्थानीय सरकार, प्राविधिक तथा अन्य साझेदारहरूले मिलेर काम गरिरहेको उनले जानकारी दिइन्।
संस्थाले सञ्चालन गरिरहेको मौका परियोजनाले महिलाहरूलाई कृषि र पशुपालनमा आधारित स-साना उद्यमहरू विस्तार गर्न अनुदान, प्राविधिक तालिम र व्यावसायिक परामर्श मार्फत सफल उद्यमी बन्न सघाउने लक्ष्य राखेको दीक्षितले जानकारी दिइन्।
संस्थाले दुई वर्षभित्रै स्थानीय रोजगारी बढाउँदै महिलाहरूको आम्दानी तीन गुणा बनाउने लक्ष्य राखेको छ। ‘यी कामले लैङ्गिक समानता र महिलालाई शिष्ट कामको अवसर सुनिश्चित गर्न योगदान पुर्याउने विश्वास लिएका छौं’, उनले भनिन्।
स्थानीय सरकार र जी फाउण्डेशनको सानो आर्थिक सहयोग र योजनाले ग्रामीण महिलाको जीवनमा ठूलो परिवर्तन ल्याइरहेको उनले बताइन्।
महिलाले नगदे बाली, फलफूल तथा जैविक खेती सम्बन्धी ज्ञान र सीप हासिल गर्नुका साथै गाउँमा पोषण सुधार र स्थानीयको आयआर्जनमा वृद्धि भएको उनले बताइन्। ‘उहाँहरूले घरको भान्सामा हरियाली ल्याउनेदेखि बजारमा आफ्नो पहिचान बनाउनेसम्म काम गरिरहनुभएको छ’, उनले भनिन्।
सोलुखुम्बु र खोटाङका यी ग्रामीण महिलाहरूको कथा एक्लाएक्लै सुन्दा साना लाग्न सक्छन्। तर, समग्रमा उनीहरू एक सामाजिक र आर्थिक परिवर्तनको नेतृत्व गरिरहेका छन्। थोरै लगानीमा ठूला सपना देखिरहेका उनीहरूले खेतीबाली मात्र होइन, सिंगो अर्थतन्त्र, लैंगिक समानता र ग्रामीण आत्मनिर्भरताको नयाँ गोरेटो कोरिरहेका छन्।
उनीहरूका हात हिलो-धूलोले भरिएका छन्, तर मनभित्र भविष्यको हराभरा सपना छ। तर, दुर्गम गाउँका खेतबारीमा हुर्किइरहेको उनीहरूको उद्यमी बन्ने सपना रोक्न अनेकौं तगाराहरू देखिएका छन् ।
प्रतिक्रिया 4