
बेला–बेला सामाजिक सञ्जालहरूमा पढा–लेखा देखिने र आधुनिक महिलाहरूको तस्वीर पोस्ट हुन्छन्, जहाँ लेखिएको हुन्छ– कुनै बेला इरानमा यस्ता महिलाहरू थिए ।
अहिलेको कट्टर इस्लामिक राज्य इरानमा महिलाले त्यो स्तरको खुलापनको अधिकार पाएका थिए होला भन्ने संसारका धेरै मानिसलाई विश्वास नलाग्न सक्छ । तर, त्यो कुरा साँचो हो ।
सन् १९७९ को इस्लामिक क्रान्ति हुनुअघि इरान एउटा आधुनिक र औद्योगिक मुलुक थियो, जहाँ महिलाको अधिकार र शिक्षालाई विशेष जोड दिइएको थियो ।
संसारभर के मान्यता छ भने महिलालाई राम्रो गरियो भने समाजका सबैलाई राम्रो हुन्छ । तर, खोमिनीहरूको सन् १९७९ को इस्लामिक क्रान्तिले इरानी समाजको सबै पक्षलाई रूपान्तरित गरिदियो । त्यसअघि ७० वर्षसम्म इरानका महिला अधिकारमा भएको उन्नतिलाई आयोतुल्लाह खामिनी नेतृत्वको इस्लामिक क्रान्तिले एकै रातमा पूरै उल्ट्याएको थियो ।
‘त्यसयताको ४० वर्षमा इरानी महिलाहरूलाई विस्तारै केही राम्रो भइरहेको छ, तर सन् १९७९ को इस्लामिक क्रान्तिअघि महिला अधिकार जुन बिन्दुमा पुगेको थियो, अहिले त्यसको अत्यन्तै तल्लो तहमा पनि छैन’ सन् २०१९ मा इन्टरनेशनल पोलिसी डाइजेष्टमा चर्चित पाकिस्तानी–अमेरिकी चिकित्सक, उद्यमी तथा नागरिक अगुवा मनर काज्मिरले उल्लेख गरेका छन् ।
इरानमा सन् १९२१ मा पहलवी वंशको राजतन्त्र शुरू भएको थियो । २५ सय वर्ष पुरानो फारसी राजतन्त्रलाई रेजा शाह पहलवीले पुन:स्थापना गरेका थिए । उनले नै इरानमा आधुनिकीकरण शुरू गरेका थिए । उनले उद्योग तथा पूर्वाधारहरूमा ठूलो रूपान्तरण गरेका थिए ।
सन् १९२५ मा मुश्किलले २० वटा आधुनिक उद्योग भएको इरानमा १९४१ सम्ममा ८०० वटा नयाँ उद्योग खुलेका थिए । भन्सार दरमा वृद्धि, आधुनिक उद्योगमा लगानी, सरकारी एकाधिकार लगायत उपकरण लगाई इरानले औद्योगिकीकरण शुरू गरेको थियो । त्यस्तै, सन् १९२५ मा इरानमा २५० किलोमिटर रेलमार्ग र २४०० किमी ग्राभेल सडक थियो, १९३८ मै त्यो १२ हजार किलोमिटर पुगेको थियो ।

सन् १९४१ मा मोहम्मद रेजा शाह पहलवी इरानका शाह (राजा) बनेका थिए । उनले इरानलाई एउटा कृषि अर्थतन्त्रबाट आधुनिक औद्योगिक र विकसित अर्थतन्त्रमा रूपान्तरण गरेका थिए ।
त्यसबीचमा सन् १९५३ मा तत्कालीन प्रधानमन्त्री डा. मोहम्मद मोसादेगसँगको टकरावले केही समय उनी पनि निर्वासित हुनुपरेको थियो । तर, अमेरिका र बेलायतको सहयोगमा मोसादेगको सत्ता पल्टाइएपछि उनी सन् १९७९ सम्म अनवरत रूपमा इरानको शाहका रूपमा शासन गरिरहे ।
प्रधानमन्त्री मोसादेगले तेल उद्योगहरूलाई राष्ट्रियकरण गरेका थिए भने शाह सत्तामा फर्किएपछि त्यसलाई पुन: उद्योगीलाई फिर्ता गरिदिए । त्यसले इरानमा तेलबाट हुने आम्दानी व्यापक मात्रामा बढ्यो । पश्चिमा मुलुकबाट आउने आर्थिक सहयोग पनि उत्साहजनक हुँदा इरानमा ठूलो मात्रामा लगानी भयो, तीव्र आर्थिक वृद्धि भएको थियो ।
राज्यप्रवर्द्धित औद्योगिकीकरणबाट निजी क्षेत्रको नेतृत्वको आर्थिक विकासलाई अघि बढाउने हिसाबले इरानी शाह रेजा पहलवीले सन् १९६३ बाट आक्रामक आधुनिकीकरण कार्यक्रम शुरू गरे । त्यसलाई श्वेतक्रान्ति भनियो ।
यो एक आक्रामक आधुनिकीकरण कार्यक्रम थियो, जुन पहलवीको शासनकालभरि सन् १९७९ सम्म जारी रह्यो । यस सुधार अभियानले परम्परागत जमिनदार वर्गको सम्पत्ति र प्रभावलाई उल्ट्याएको थियो, ग्रामीण अर्थतन्त्रमा व्यापक परिवर्तन ल्यायो, र तीव्र शहरीकरण तथा पश्चिमीकरणतर्फ उन्मुख गरायो । यो कार्यक्रमअन्तर्गत इरानमा व्यापक भूमिसुधार भयो, जसले ठूला जग्गाधनीबाट जग्गा लिएर खेतीपाती गर्ने किसानलाई वितरण गरियो, जमिनदारहरूलाई त्यसबापत राज्यप्रवर्द्धित इरानी उद्योगहरूको सेयर प्रदान गरियो । त्यसबेला २५ लाख परिवारलाई जमिन पुन: वितरण गरिएको थियो ।
किसान तथा कामदारहरूलाई पनि औद्योगिक एवम् कृषि नाममा हिस्सा दिइयो । ग्रामीण क्षेत्रमा सिंचाइ, मलखाद एवम् विकासको काम जमिनदारले गर्दै आएकोमा त्यो भूमिका सहकारीलाई दिइयो ।
श्वेतक्रान्ति सन् १९६३ मा जनमत संग्रह मार्फत अनुमोदित सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणको अत्यन्तै महत्वाकांक्षी कार्यक्रम थियो । यसले ग्रामीण क्षेत्रमा व्यापक रूपमा साक्षरता तथा स्वास्थ्य सेवा विस्तार गर्यो । जनजातीय समूहहरूको स्वायत्तता घटाइयो भने महिलाको स्वतन्त्रता तथा मतदान अधिकारलाई प्रवर्द्धन गर्ने सामाजिक तथा कानूनी सुधारहरू अघि बढाइयो ।
१९७० को दशकमा इरानीहरूको प्रतिव्यक्ति आम्दानी उल्लेख्य रूपमा बढेको थियो । वास्तवमा तेलबाट आर्जन गरिएको राजस्वले औद्योगिक विकास परियोजनाहरूमा राज्यको लगानी अत्यधिक वृद्धि हुँदा अर्थतन्त्र व्यापक विस्तार भएको थियो । सन् १९७० मा ३७६ अमेरिकी डलर रहेको इरानको प्रतिव्यक्ति आम्दानी ९ वर्षपछि १९७९ मा २३ सय ५२ डलर पुगेको थियो ।
तर, जमिनदारलाई कमजोर बनाइए पनि किसानलाई दिने आधारभूत सेवाहरू प्रभावकारी नभएपछि धेरै फार्महरू असफल भए । त्यसकारण किसान तथा कृषि मजदुरहरू तेहरान लगायत ठूला शहरमा बसाइँ सरे, जसले इरानी जनसंख्याको आयाम नै बदलिदियो ।
अर्गनाइजेशन अफ इरानियन वुमेन, दि वुमेन्स पार्टी, दि वुमेन्स डेमोक््रयाटिक अर्गनाइजेशन र दि विमेन्स प्रोग्रेसिभ मुभमेन्टको प्रयासपछि इरानी शाहले २६ फेब्रुअरी १९६३ मा महिलाहरूलाई मतदान गर्ने र चुनावमा उम्मेदवारी दिन पाउने अधिकार दिएका थिए ।
त्यसै वर्षको संसदीय निर्वाचनबाट ६ जना महिलाहरू निर्वाचित भए, र अरू दुई महिलालाई शाह स्वयंले सिनेटमा नियुक्त गरेका थिए । तर, त्यसैबेला उदाउँदै गरेका इरानका धर्मगुरु आयोतुल्लाह खामिनी, पछि जो इरानका सर्वोच्च नेता बने, उनले महिलालाई मताधिकार दिनुलाई वेश्यावृत्तिसँग तुलना गरे ।
इरानी शाहका सुधारहरूले धार्मिक नेताहरूको परम्परागत शक्तिको आधारलाई कमजोर मात्रै पारेका थिएनन्, धर्मनिरपेक्ष अदालत स्थापना भएपछि न्यायिक अधिकार पनि घटायो । त्यही भएर महिला सम्बन्धी उदार व्यवस्थाहरू इस्लामिक मूल्यमान्यता विरुद्ध रहेको भन्दै धर्मगुरु आयोतुल्लाह खामिनीले सन् १९६० को मध्यतिरबाटै विरोध शुरू गरिसकेका थिए ।
इरानले धर्मनिरपेक्ष शिक्षामा जोड दिइएपछि परम्परागत इस्लामी शिक्षालयहरू उलेमाको शिक्षा क्षेत्रमा रहेको एकाधिकार पनि घट्दै गयो ।
अर्थतन्त्रको आधुनिकीकरण, महिलालाई शिक्षा, मतदानको अधिकार मात्रै होइन, संसद्मा ल्याउनेसम्मका कामका कारण त्यसबेलाको इरानी नेतृत्वको ठूलो प्रशंसा हुने गर्छ । तर, शाहको शासनमा राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पारिएको थियो ।

त्यसो हुँदा इस्लाम धर्मगुरु रुहुल्लाह खोमिनीले चलाएको शाहविरोधी आन्दोलनमा जमिनदार, बेरोजगारहरू र अन्य वर्ग पनि मिसियो, जसले सन् १९७९ को इस्लामिक क्रान्तिको रूप लियो । त्यही आन्दोलनले इरानी शाहलाई सत्ताबाट हटायो । सन् १९७९ मा आन्दोलनमा सहभागी अधिकांशले प्रजातन्त्र चाहेका थिए तर अन्ततोगत्वा इरान झनै कठोर इस्लामिक शासनतिर गयो ।
श्वेतक्रान्तिले अर्थतन्त्र तथा लगानीमा निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गर्यो । सरकारी र निजी बैंकको विस्तार मात्रै गरिएन, दुईवटा विशिष्टीकृत बैंक पनि स्थापना गरिए, जसले उत्पादनमूलक क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानीका लागि कर्जाको सुनिश्चितता गर्यो । लगानीका लागि सरकारले पनि विभिन्न कार्यक्रम ल्यायो, जसले इरानी र विदेशी उद्यमीलाई उत्साहित बनाएको थियो । सरकारले सडक, बाँध, पुल, बन्दरगाह लगायतमा व्यापक लगानी गर्यो ।
१९६८ देखि ७८ सम्म विदेशी लगानी ल्याउन इरान झनै उदार भयो । तेलको आम्दानी, सरकारी खर्च तथा स्वदेशी तथा विदेशी लगानीले तेहरान लगायत शहरमा मध्यमवर्गको संख्या अत्यधिक बढायो । सन् १९७३ को इजिप्ट–सिरिया युद्धले तेलको मूल्यमा भएको वृद्धिबाट पनि इरानले ठूलो लाभ उठाएको थियो ।
सन् १९६४ देखि १९७८ सम्म इरानको आर्थिक वृद्धि औसत १३.२ प्रतिशत भएको थियो ।
खामिनीको उदय र इस्लामिक क्रान्ति
इरानी सुधार अर्थात् श्वेतक्रान्तिको विरोध गर्ने आयोतुल्लाह खामिनीलाई सरकारले गिरफ्तार गरेर निर्वासित गरेको थियो । उनले इराकको नजफमा बसेर आफ्ना प्रवचनहरू टेप मार्फत इरान पठाइरहे, जसले इरानमा कट्टरपन्थीहरूलाई आकर्षित गरेको थियो । अर्कातिर, राजनीतिक दलमाथिको प्रतिबन्ध र प्रेस स्वतन्त्रतामाथिको दमनका विरुद्धमा इरानका सचेत नागरिक असन्तुष्ट छँदै थिए ।
सन् १९७८ को अगस्टमा अबादानको रेक्स सिनेमामा आगलागी हुँदा ४०० जनाको मृत्यु भएपछि जनतामा आक्रोश फैलियो, जसका कारण देशव्यापी प्रदर्शनहरू भए । ८ सेप्टेम्बरमा भएको प्रदर्शनमा सयौं प्रदर्शनकारी मारिए । त्यसपछि तेल उद्योगका श्रमिकहरू हड्तालमा गए । इरानी सेनाले कुनै पक्ष नलिने नीति लियो । अमेरिकाले समेत सहयोग नगरेको भन्दै इरानी शाहले १६ जनवरी १९७९ मा इरान छाडे ।त्यसपछि १ फेब्रुअरीमा आयोतुल्लाह खामिनी स्वदेश फर्किए । उनले इरानलाई इस्लामिक गणतन्त्र घोषणा गरे, नयाँ संविधान बनाएर इस्लामिक कानून लागू गरे । खामिनी नै सर्वोच्च नेताका रूपमा राष्ट्रप्रमुख हुने व्यवस्था गरियो । पूर्व सरकारी अधिकारीहरू, सांसद तथा जमिनदारमाथि सार्वजनिक रूपमा मृत्युदण्ड दिन थालियो । महिलाका सम्पूर्ण अधिकार खोसियो, हिजाब लगाउन अनिवार्य गरियो ।
क्रान्तिपछिको इरानी अर्थतन्त्र
इस्लामिक क्रान्तिपछि इरानले बैंक, ठूला उद्योग तथा जग्गा राष्ट्रियकरण गर्यो, जुन त्यसअघिको निजी क्षेत्रमुखी अर्थतन्त्रको ठ्याक्कै उल्टो थियो । क्रान्तिलगत्तै इरान–इराक युद्ध शुरू भयो, जसले इरानको पूर्वाधारमा विध्वंशकारी क्षति भएको थियो । इरानको बजेटको ५० देखि ६० प्रतिशत युद्धमा खर्च हुन्थ्यो, जसले ठूलो वित्तीय घाटाको सामना गर्नुपर्यो ।
युद्धको बेला इरानको कुल अर्थतन्त्रको ८० प्रतिशत राज्यसञ्चालित थियो । २००६ सम्म पनि इरानको ७० प्रतिशत अर्थतन्त्र राज्यनियन्त्रित थियो । इरानमा आय असमानता घटेको थियो, तर त्यो गरिबको सम्पत्ति बढेर होइन, धनीको सम्पत्ति जफत गरेर तथा उनीहरू देश छाडेर भागेका कारण त्यस्तो भएको थियो ।
ब्रुकिङका अनुसार सन् १९८० को मध्यतिर इरानको प्रतिव्यक्ति आम्दानी घटेर इस्लामिक क्रान्तिअघिको तुलनामा तीस प्रतिशत कममा आइपुगेको थियो ।
सन् १९८८ मा युद्ध सकिएपछि इरानले पुनर्निर्माणमा ठूलो मात्रामा खर्च गर्यो, जसले आर्थिक वृद्धिमा सुधार आयो । सन् १९९७ मा खतामी इरानको राष्ट्रपति बनेपछि उनले पुन: निजी क्षेत्रलाई प्रवर्द्धन गरे, नियामकीय सुधार गरे । उनले तेहरान स्टक एक्सचेञ्जलाई पुनर्स्थापित गरेका थिए । साथै मानव स्रोतमा ठूलो लगानी गरे । तर, लगत्तै अमेरिकाले इरानमाथि प्रतिबन्ध शुरू गर्यो ।
इस्लामिक क्रान्तिपछि इरानको आय तथा निर्यातको ७० देखि ८० प्रतिशत हिस्सा तेलको रहँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च हुँदा प्रतिव्यक्ति आय बढ्छ, घट्दा घट्छ ।

सन् २०११ देखि अमेरिका र युरोपले इरानमाथि प्रतिबन्ध लगाएपछि इरानको प्रतिव्यक्ति आम्दानी ३५ प्रतिशतले घटेको थियो । उच्च मूल्यवृद्धि तथा आयात ध्वस्त भएको थियो । त्यसपछि इरानी सर्वोच्च नेता खामिनीले प्रतिरोधी अर्थतन्त्रको नारा ल्याए, जसले तेलमाथिको निर्भरता घटाउने, आन्तरिक उत्पादन बढाउने, भ्रष्टाचार निवारण गर्ने तथा ज्ञानमा आधारित अर्थतन्त्र बनाउने भन्ने नीति लियो । अहिलेसम्म आइपुग्दा इरानले तेल निर्यातमा केही सफलता हासिल गरेको देखिन्छ ।
इरानमा उच्च बेरोजगारी र गरिबी छ । अझै पनि ३० प्रतिशत जनता गरिबीको रेखामुनि छन् । कठिनताका बाबजुद पनि इरानको अर्थतन्त्र सन् १९७९ मा ९० अर्ब डलरबाट सन् २०२३ मा ४ खर्ब डलरको बनेको छ ।

इरानी शासकहरूले इस्लामिक शासनकालमा इतिहासकै सबैभन्दा समृद्धि हासिल गरेको बताउँछन् । त्यो साँच्चै हो त भनेर हेर्न, तीन वटा प्रमुख अर्थतन्त्रहरू टर्की, दक्षिणकोरिया र भियतनामसँग तुलना गरेर हेर्नुपर्ने इरानी–अमेरिकी अध्येता तथा विश्वबैंककी पूर्व सल्लाहकार नादेरेह चाम्लोऊ बताउँछिन् । ‘टर्कीसँग इरानको ऐतिहासिक र सांस्कृतिक निकटता छ, दक्षिणकोरिया सन् १९७० को दशकमा इरान जस्तै औद्योगिक शक्ति बन्ने होडमा थियो र भियतनामको विकास अमेरिकासँगको युद्धका कारण लामो समयसम्म अन्धकारमा पर्यो र लामो समयको आर्थिक नाकाबन्दीको सिकार भयो’ उनले एटलान्टिक काउन्सिलमा प्रकाशित एक लेखमा उल्लेख गरेकी छन् ।
त्यसरी हेर्दा, सन् १९५० मा टर्कीको कुल गार्हस्थ्य उत्पादन इरानको भन्दा २२ प्रतिशत बढी थियो तर कोरिया र भियतनामको भने ६० प्रतिशत कम ।
इस्लामिक क्रान्तिअघिको अन्तिम सामान्य वर्ष सन् १९७७ मा इरानले टर्कीलाई जितेर कुल गार्हस्थ्य उत्पादन २६ प्रतिशतले ठूलो बनाएको थियो । त्यसबेला इरानको अर्थतन्त्र कोरियाको भन्दा ६५ प्रतिशतले ठूलो थियो भने भियतनामको भन्दा साढे ५ गुणाले ठूलो थियो ।
सन् २०२३ मा आइपुग्दा ती तीनवटै मुलुकले इरानलाई पछि छाडिसकेका छन् । दक्षिणकोरियाको अर्थतन्त्र इरानको भन्दा सवा चार गुणा ठूलो बनेको छ । टर्कीको अर्थतन्त्र करिब तीन गुणाले ठूलो छ । सन् १९७७ मा इरानको अर्थतन्त्रको १८ प्रतिशत मात्रै रहेको भियतनामले पनि इरानलाई पछि पारेको छ । सन् २०२३ मा भियतनामको कुल गार्हस्थ्य उत्पादन ४ खर्ब ३० अर्ब डलर पुगेको छ भने इरानको ४ खर्ब ५ अर्ब डलर मात्रै छ ।
४६ वर्षअघि भएको इरानी इस्लामिक क्रान्तिले सबैका लागि प्रजातन्त्र, स्वतन्त्रता र समृद्धिको बाचा गरेको थियो । उल्टो त्यसले जनताबाट प्रजातन्त्र र स्वतन्त्रता दुवै खोस्यो नै, समृद्धि पनि प्रदान नगरेको यो तथ्यांकले स्पष्ट पार्दछ ।
प्रतिक्रिया 4