
News Summary
Generated by OK AI. Editorially reviewed.- स्कटल्याण्डको अपर निथ्सडेलको कोइलाखानीलाई २०१५ मा कला र पर्यटक स्थलमा परिणत गरिएको हो।
- चार्ल्स जेन्क्सले पृथ्वी र ब्रह्माण्डका थिमहरूमा काम गरी यसलाई पुनः जीवन्त बनाएका थिए।
- आज यस स्थलमा वार्षिक १० हजारभन्दा बढी पर्यटक आउने र स्थानीय व्यवसायहरू फस्टाएका छन्।
जब कुनै ठाउँले आफ्नो विगतबाट उठेर कला र प्रकृतिको सन्देश दिन थाल्छ, त्यो परिवर्तन मात्र हुँदैन । पुनर्जन्म हुन्छ ।
स्कटल्याण्डको दक्षिणी भू-भागमा पर्ने अपर निथ्सडेलको एउटा कोइलाखानीले ठ्याक्कै त्यस्तै पुनर्जन्म पाएको छ । विगतमा यो ठाउँ फोहोरले भरिएको हुन्थ्यो । श्रमिकहरूको पसिना र माटोको गन्धले भरिएको हुन्थ्यो ।
तर आज उक्त ठाउँको स्वरूप फेरिएको छ । नाम नै फेरिएको छ । आज ‘क्रविक मल्टिभर्स’ भनेर चिनिने उक्त ठाउँ भू-कलाका लागि परिचित छ ।
सन् २०१५ को जुन २१ का दिन सर्वसाधारणका लागि खुला गरिएको यो स्थान निर्माण गर्नुको मुख्य उद्देश्य ठाउँलाई नयाँ चिनारी दिनु त छँदै थियो, सँगै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने, सान्क्वार, केलोहोम, किर्ककोनेल जस्ता स-साना गाउँहरूलाई चलायमान बनाउने थियो ।
कसरी भयो त्यस्तो ?
सन् १९८० को दशकमै यो कोइला खानी बन्द भइसकेको थियो । त्यसपछि करिब ४० फुटबल मैदान बराबर क्षेत्रफलमा फैलिएको उक्त स्थान उजाड, कुरूप बनेको थियो । जसलाई कसैले पनि लामो समयसम्म प्रयोग गरेका थिएनन् ।
त्यस्तैमा उक्त भू-भागलाई पुनर्जीवन दिने गरी ड्युक अफ बुकलेच (स्कटल्याण्डको पुरानो तथा प्रतिष्ठित उपाधि, यो उपाधि पाएका व्यक्तिले धेरै मात्रामा जमिनको स्वामित्व राख्ने गर्छ) जोडिए । र, सन् २००५ तिर ख्यातिप्राप्त भू-कलाकार (जमिनमा आधारित भएर कला सिर्जना गर्ने) चार्ल्स जेन्क्सलाई जिम्मा दिइयो । उनले त्यसअघि पनि ‘गार्डेन अफ कस्मिक स्पेक्कुलेसन’ जस्ता परियोजनामा सफलता पाइसकेका थिए ।
जेन्क्सले त्यो पुरानो खानीको भौगोलिक बनावट देखेर पृथ्वीको आकार, आकाशगंगा, ब्ल्याक होल जस्ता ब्रह्माण्डका थिमहरूमा काम गर्ने प्रस्ताव गरे । जुन प्रस्ताव पारित पनि भयो ।
यसरी औपचारिक रूपमा सन् २०१२ देखि निर्माण सुरु भयो । त्यसक्रममा खानी क्षेत्रमा नै पाइएका दुई हजार बढी ठूला ढुंगा, माटो र पुराना सामग्रीहरूको प्रयोग गरिएको थियो । अनि करिब तीन वर्षको मेहनतपछि २०१५ मा सर्वसाधारणका लागि पनि खुला गरियो ।
अहिले कस्तो छ ?
२१ जुन, २०२५ मा ‘क्रविक मल्टिभर्स’ले आफ्नो दश वर्षे वार्षिकोत्सव पनि मनाएको छ । हाल यसलाई क्रविक मल्टिभर्स ट्रस्टले सञ्चालन गर्नेगर्छ ।
यस ठाउँमा वार्षिक वर्ष १० हजार बढी पर्यटक आउने बताइन्छ । स्थानीयहरूले नयाँ व्यवसाय पाएका छन् । अब यस ठाउँमा अझ जैविक विविधता बढाउने, वातावरणीय तथा आर्थिक रूपमा अझ दिगो बनाउने लक्ष्य रहेको बताइएको छ ।
कुनै समय धुलोले भरिने कोइलाखानी अहिले एक दिगो, सक्रिय र कलात्मक पर्यटन स्थल बनेको छ । स्कटल्याण्डले यस ठाउँलाई ‘राष्ट्रिय महत्त्वको डिजाइन गरिएको भू-दृश्य’ भनेर मान्यता दिएको छ । र, आजकल यहाँ योग, कला, संगीत सम्बन्धीका महोत्सवहरू नियमित हुने गर्छ ।
कोइला खानिबाट क्रविक मल्टिभर्स रातारात बनेको थिएन । यो त दूरदर्शी सोचको परिणाम हो । सम्भवत: धेरै नेपाली डाँडोहरू ‘क्रविक मल्टिभर्स’ बन्न समय कुरिरहेका छन्।
प्रतिक्रिया 4