
News Summary
Generated by OK AI. Editorially reviewed.- सलमान खानले आफूलाई ‘ब्रेन एन्युरिज्म’ को समस्या भएको खुलासा गरे।
- ब्रेन एन्युरिज्म रक्तनली फुल्ने अवस्थालाई भनिन्छ र यसको मुख्य कारण कमजोर रक्तनली हो।
भारतका चर्चित कमेडियन कपिल शर्माको कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजन सुरु भइसकेको छ । यस सिजनको पहिलो गेस्टमा अभिनेता सलमान खान आएका थिए । त्यसको उद्देश्य उनको फिल्म ‘सिकन्दर’को प्रचार गर्नु थियो । तर, कपिल र उनको टिमले सलमानलाई फिल्मदेखि निजी जीवनसम्मका विभिन्न प्रश्नहरू सोधे ।
एउटा प्रश्नको उत्तर दिने क्रममा सलमान खानले आफ्नोबारे महत्त्वपूर्ण खुलासा गरे । जसअनुसार अहिले उनी ‘ब्रेन एन्युरिज्म’ नामक रोगसँग जुधिरहेका छन् ।
‘सिकन्दरको सुटिङ गर्दै गर्दा मेरो छातीको हाडमा चोट लागेको थियो । अहिले हरेक दिन हड्डी भाँच्चिरहेको जस्तो हुन्छ,’ उनले कार्यक्रममा भनेका छन्, ‘मलाई ट्राइजेमिनल न्युराल्जिया (एक प्रकारको नसा रोग) छ । दिमागमा एन्युरिज्म छ । तर अझै पनि काम गरिरहेको छु । … म एक्सन गर्छु । अझै नाचिरहेको छु । यस्तै यस्तै चलिरहेको छ मेरो जीवनमा…’
सलमानको उक्त खुलासापछि धेरैले इन्टरनेटमा ब्रेन एन्युरिज्म सम्बन्धी जानकारी खोज्न थालेका छन् । आखिर के हो त ब्रेन एन्युरिज्म ? यो कत्तिको खतरनाक छ ?
के हो ब्रेन एन्युरिज्म ?
सामान्यतया रक्तनली फुल्नुलाई चिकित्सकीय भाषामा एन्युरिज्म भनिन्छ । विशेषगरी दुई भागमा छुट्टिएका रक्तनलीहरूमा यस्तो हुने गर्छ । त्यसको प्रमुख कारण रक्तनली कमजनोर हुनु हो ।
जब त्यस्तै कमजोर रक्तनलीबाट रगत बहन्छ, त्यहाँ दबाब सिर्जना हुन्छ । जसले गर्दा नला फुल्ने गर्छ । एन्युरिज्म शरीरको जुनसुकै रक्तनलीमा हुन सक्छ । तर धमनी अथवा दिमागमा बढी मात्रामा हुने गर्छ ।
यदि दिमागका रक्तनलीहरू सुनिने/फुल्ने गर्छ भने त्यसलाई ब्रेन एन्युरिज्म भन्ने गरिन्छ । सलमान खानलाई अहिले भएको यही हो ।
ब्रेन एन्युरिज्मका प्रकार
चिकित्सा विज्ञानमा ब्रेन एन्युरिज्मलाई मुख्य रूपमा तीन भागमा वर्गीकृत गरिएको छ
१. सर्कुलर एन्युरिज्म
यसलाई बेरी एन्युरिज्म पनि भनिन्छ । हेर्दा यो एन्युरिज्म अंगुर जस्तो देखिन्छ । तर त्यसमा रगतले भरिएको हुन्छ । जुन मुख्यत: धमनीबाट निस्केको हुन्छ । अनि यो प्राय: दिमागको तल्लो भागका धमनीहरूमा हुने गर्छ । यसलाई सबैभन्दा सामान्य प्रकारको एन्युरिज्म मानिन्छ ।
२. फ्युसिफर्म एन्युरिज्म
यसमा सम्पूर्ण धमनी नै चारैतिर फुल्छ । त्यसले गर्दा त्यो भाग सुन्निएको देखिन्छ ।
३. माइकोटिक एन्युरिज्म
यो संक्रमणको कारणले हुने एन्युरिज्म हो । संक्रमणले धमनीलाई कमजोर बनाउँछ । र, त्यहाँ एन्युरिज्म बनाउँछ ।
ब्रेन एन्युरिज्मका लक्षण
फुलेको नसा नफुटेसम्म ब्रेन एन्युरिज्म खतरा हुँदैन । तर फुटिसकेपछि भने यो अत्यन्तै गम्भीर हुन्छ । जुन अवस्थालाई सबएराक्नोइड ह्यामरेज भनेर चिनिने गरिन्छ । यस्तो अवस्थामा रगत दिमागभर फैलिन्छ ।
यसका केही लक्षणहरू यस्ता हुन्छन्:
-कसैले टाउकोमा कडा वस्तुले हिर्काए जस्तो लाग्नु
-घाँटीको भाग बेस्सरी दुख्नु
-बान्ता अथवा वाकवाकी लाग्नु
-उज्यालोमा हेर्दा आँखा दुख्नु
तर नफुटेको एन्युरिज्मका पनि लक्षणहरू हुन्छन् । त्यसमा एन्युरिज्म कत्रो छ भन्ने कुराले फरक पार्ने गर्छ । यदि सानो छ भने सामान्यतया केही पनि लक्षण देखिँदैन । तर यदि ठूलो छ भने टाउको दुख्ने, हेर्न गाह्रो हुने, अनुहार सुन्निनेजस्ता लक्षण देखिन सक्छ ।
किन हुन्छ ब्रेन एन्युरिज्म ?
ब्रेन एन्युरिज्मको मुख्य कारण नै रक्तनली कमजोर हुनु हो । तर रक्तनली किन कमजोर हुन्छन् भन्ने कुरा ठ्याक्कै पुष्टि भइसकेको छैन । तर त्यसका कारण भने छन् ।
-धूम्रपान
-उच्च रक्तचाप
-वंशानुगत कारण
-जन्मजात कमजोर रक्तनली
-टाउकोमा चोट
-मदिरा र लागू पदार्थको सेवन
यो रोग जुनसुकै उमेरमा हुन सक्छ । तर, ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा हुने सम्भावना बढी हुन्छ । त्यसमा पनि पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ ।
के छ उपचार ?
स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने अमेरिकी संस्था मायो क्लिनिकका अनुसार एन्युरिज्म फुटे उपचारका निम्न उपचार हुन्छन्:
१. सर्जिकल क्लिपिङ
यसमा एन्युरिज्मलाई पूर्णरूपमै बन्द गरिन्छ । त्यसका लागि न्यूरोसर्जन टाउकाको हड्डी हटाएर एन्युरिज्मसम्म पुग्छन् । त्यसपछि फुटेको रक्तनलीमा धातुको सानो क्लिप राखिन्छ ।
यस उपचार विधिलाई धेरै हदसम्म प्रभावकारी मानिन्छ । किनकि क्लिप लगाएपछि एन्युरिज्म फेरि बन्न सक्दैन ।
२. एन्डोभास्कुलर ट्रिटमेन्ट
यो सर्जिकल क्लिपिङको तुलनामा कम चिरफार गर्ने विधि हो । यसमा एउटा पातलो नली (क्याथेटर)लाई रक्तनलीमार्फत् एन्युरिज्मसम्म पुर्याइन्छ । त्यसपछि त्यहाँ विशेष धातुका क्वाइल राखिन्छ ।
यसो गर्दा दिमागमा रगत चुहिने जोखिम हुन्छ । तर, एन्युरिज्म फेरि देखिन सक्छ ।
३. फ्लो डाइभर्जन
यो पनि एउटा एन्डोभास्कुलर जस्तै उपचार विधि हो । यसमा गरिने भनेको रगतलाई एन्युरिज्मबाट हटाएर अर्को दिशामा तिर मोड्नु हो । त्यसो गर्दा एन्युरिज्म फुट्ने खतरा तत्काललाई टर्छ ।
यसबाट कसरी बँच्ने ?
एन्युरिज्म हुन नदिन वा ठूलो भएर फुट्न नदिन तलका उपायहरू अपनाउन सकिन्छ:
-धूम्रपान नगर्ने
-तारेको वा चिल्लो खाना कम खाने
-उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने
-मोटोपन घटाउने वा नियन्त्रणमा राख्ने
बीबीसीबाट
प्रतिक्रिया 4