हाम्रो आन्द्रामा १० करोडभन्दा बढी स्नायु कोषहरू हुन्छन् र यसले हाम्रो शरीरमा ९५ प्रतिशत सेरोटोनिन उत्पादन गर्छ । सेरोटोनिन एक रसायन हो, जुन हाम्रो मुड र खुसीसँग जोडिएको हुन्छ ।
हालै, केही नयाँ अनुसन्धानले देखाएको छ कि, आन्द्राको माइक्रोबायोटा अर्थात् यसमा रहेका खर्बौँ ब्याक्टेरिया, भाइरस, फंगस र अन्य साना सूक्ष्म जीवहरू हाम्रो शरीर र दिमागको स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण छन् ।
यसले हाम्रो आन्द्रा र मस्तिष्क एक-अर्कासँग जोडिएका छन् र एक अर्कालाई असर गर्छन् भन्ने कुरा स्पष्ट पार्छ । कुनै महत्त्वपूर्ण बैठक अघि अत्यास लाग्ने वा वाकवाकी महसुस हुन्छ भने यो सबै यसै सम्बन्धको प्रभाव हो ।
मस्तिष्कमा दबाब पर्दा पेटमा के हुन्छ ?
मस्तिष्क र आन्द्रा तीन तरिकाले एक अर्कासँग जोडिने डा. मनोज कुमार शाह बताउँछन् । शाहका अनुसार आन्द्रासँग जोडिने पहिलो भाग स्नायु हो, जुन स्नायु प्रणालीको एक अत्यन्तै महत्त्वपूर्ण संरचना हो । यो स्नायुले मस्तिष्कलाई मुटु र आन्द्रा जस्ता महत्त्वपूर्ण अङ्गहरूसँग सिधै जोड्छ ।
दोस्रो तरिका भनेको हर्मोनको सहयोगमा मस्तिष्क र आन्द्रा बीचको सम्बन्ध हो र तेस्रो रोग प्रतिरोधात्मक क्षमता हो ।
‘धेरै मान्छेलाई लाग्न सक्छ प्रतिरक्षा कोषहरू रगत वा लिम्फ नोडहरूमा मात्र पाइन्छन्, तर वास्तवमा तिनीहरूको ठूलो भाग आन्द्रामा सक्रिय हुन्छ’ शाह भन्छन्, ‘यसले मस्तिष्क र सम्पूर्ण शरीरलाई जोड्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’
मस्तिष्कलाई काम गर्न धेरै ऊर्जा चाहिने भएकाले यो सम्बन्ध जोडिएको हुने शाहले बताए ।
आन्द्रा हाम्रो शरीरलाई ऊर्जा प्रदान गर्ने ‘पावर हाउस’ रहेको पेट तथा कलेजो रोग विशेषज्ञ डा. खलिल मिया बताउँछन् । उनका अनुसार मस्तिष्कको तौल हाम्रो शरीरको तौलको लगभग दुई प्रतिशत हुन्छ, तर यसले शरीरको २० प्रतिशत ऊर्जा प्रयोग प्रयोग गर्छ ।
‘मस्तिष्कले आन्द्रालाई र आन्द्राले मस्तिष्कलाई असर गर्ने डा.मिया बताउँछन् । ‘दैनिक जीवनमा धेरै उदाहरणहरू मार्फत यो कुरा बुझ्न सकिन्छ’ डा.मिया भन्छन्, ‘जब हामी अप्ठ्यारो परिस्थितिमा हुन्छौँ, विशेष काम वा परीक्षामा सामेल हुँदैछौँ भने दिमागमा एक किसिमको दवाव उत्पन्न हुन्छ ।
यस्तो अवस्थामा पहिलो शारीरिक प्रतिक्रिया हाम्रो पेटमा हुन्छ । यस्तो अवस्थामा वाकवाकी लाग्न सक्छ, पेट दुख्न सक्छ वा कहिलेकाहीँ पखाला पनि लाग्न सक्छ ।’
हामी कसैलाई माया गर्छौं र यसबारे कल्पना गर्छौं भने हामीलाई पेटमा काउकुती लागेको जस्तो महसुस हुने उनी सुनाउँछन् । यो एक भावनात्मक प्रतिक्रिया भएको र यो हाम्रो प्रियजन वरिपरि हामीले महसुस गर्ने उत्साहसँग सम्बन्धित भएको डा.खलिलको भनाइ छ ।
अर्कोतर्फ, यदि कब्जियत भएको छ र दिसा पास हुन समस्या भएको छ भने यसले चिडचिडापन र तनाव निम्त्याउन सक्ने उनले बताए ।
पेटभित्र पुरै संसार
हाम्रो आन्द्रामा १० ट्रिलियन भन्दा बढी माइक्रोबियल कोषहरू हुन्छन्, जुन ब्याक्टेरिया, भाइरस, फंगल, प्रोटोजोआ र अन्य सूक्ष्म जीवहरू मिलेर बनेका हुन्छन् र यो सङ्ख्या व्यक्तिको शरीरमा पाइने मानव कोषहरूको सङ्ख्या भन्दा बढी भएको डा.मिया बताउँछन् ।
विगत दुई दशकमा, माइक्रोबायोटा र हाम्रो स्वास्थ्यमा यसको प्रभावको बारेमा धेरै नयाँ कुराहरू आएको उनले जानकारी दिए । वैज्ञानिकहरूले विकास गरेका नयाँ उपकरणहरू र परीक्षणहरूले आन्द्रामा बस्ने सूक्ष्म जीवहरू बुझ्न मद्दत गरेको उनको भनाइ छ ।
मुसामा २०११ मा गरिएको एउटा अध्ययनले ग्यास्ट्राइटिस जलनले डिप्रेसन र चिन्ता जस्ता दीर्घकालीन व्यवहारिक समस्याहरू निम्त्याउन सक्छ भन्ने पत्ता लगाएको थियो । अन्य अनुसन्धानहरूले पनि डिस्बायोसिस वा आन्द्राको माइक्रोबायोटाको असन्तुलन मोटोपना, मुटु रोग र क्यान्सरसँग पनि जोडिएको देखाएको छ ।
जनावरहरूमा गरिएका अन्य अध्ययन र मानिसमा गरिएका केही अनुसन्धान अनुसार आन्द्रामा हुने समस्याले चिन्ता वा डिप्रेसन निम्त्याउन सक्छ, तर के यी समस्याहरू प्रत्यक्ष रूपमा आन्द्राको कारणले हुन्छन् त ? यो प्रश्नको उत्तर भने वैज्ञानिक रुपमा पत्ता लागेको छैन ।
राम्रो माइक्रोबायोटाका लागि स्वस्थ आहार
हरेक व्यक्तिको शरीरमा ब्याक्टेरिया, भाइरस र अन्य सूक्ष्म जीवहरूको संरचना फरक हुन्छ भन्ने कुरा माइक्रोबायोटा र पेट–मस्तिष्क सम्बन्धमा हालैको नयाँ अनुसन्धानले देखाएको डा. शाह बताउँछन् ।
पेटमा रहने सूक्ष्म जीवहरूबीच सन्तुलन बनाइराख्न र आन्द्राको स्वास्थ्यका लागि सन्तुलित र स्वस्थ आहारको जरुरी हुने शाहको भनाइ छ ।
डा.शाहका अनुसार यसका लागि प्रोबायोटिक्स राम्रो विकल्प मानिन्छ । प्रोबायोटिक्स भनेको पाचन प्रणालीका लागि राम्रो खाना हो । प्रोबायोटिक्सको सबैभन्दा राम्रो उदाहरण दही हो । साथै फलफूल र तरकारीहरू पनि राम्रो विकल्प हुने शाहले बताए ।
‘आहार विविधता धेरै महत्त्वपूर्ण छ, विशेष गरी बोटबिरुवामा आधारित खानाहरू लाभदायक हुन्छन्’ उनी भन्छन् ‘प्रत्येक व्यक्तिले आफ्नो आहारमा फलफूल, तरकारी, अन्नहरू र दाल सबै कुरा समावेश छ कि छैन भनेर ध्यान दिनुपर्छ ।’
धेरै अध्ययनहरूका अनुसार एक हप्तामा औषत ३० प्रकारका वनस्पतिमा आधारित खाना खाने मानिसहरूको शरीरमा स्वस्थ माइक्रोबायोम हुने उनले बताए । आहारमा परिवर्तनले भावनाहरूलाई असर गर्न सक्छ र डिप्रेसन जस्तो अवस्थासँग सामना गर्न मद्दत गर्न सक्छ ।
अक्सफोर्ड विश्वविद्यालयले यसबारे एक अध्ययन गरेको छ । विज्ञहरूले डिप्रेसनबाट पीडित ७१ स्वयंसेवकहरूलाई दुई समूहमा विभाजन गरे । पहिलो समूहलाई चार हप्तासम्म प्रोबायोटिक खाना दिइयो । अनि अर्को समूहलाई प्लेसिबो अर्थात् नक्कली औषधि दिइयो ।
उक्त अध्ययनका क्रममा धेरै परीक्षणहरू गरिएका थिए र ती परीक्षणहरू र्यालमा रहेको मुड, चिन्ता, निद्रा र कोर्टिसोल र तनावसँग सम्बन्धित हर्मोन अन्य जस्ता कारकहरू मापन गर्ने उद्देश्यले गरिएको थियो ।
रीता बायो पोर्चुगलको लिस्बन विश्वविद्यालय संस्थानमा सामाजिक विज्ञान स्कुलमा सहायक प्राध्यापक हुन् र यो अध्ययन उनकै नेतृत्वमा गरिएको थियो । उनीहरूले डिप्रेसनबाट पीडित व्यक्तिहरूले सामान्यतया तटस्थ वा सकारात्मक संकेतको सट्टा नकारात्मक भावनाहरू र अनुहारको भावमा बढी ध्यान दिने गरेको बताएका थिए ।
प्रोबायोटिक सेवनले मस्तिष्कले भावनात्मक जानकारी प्रशोधन गर्ने तरिकालाई असर गर्न सक्छ । प्रोबायोटिक समूहमा, उनीहरू अनुहारको भाव र अन्य भावनात्मक संकेतहरू पहिचान गर्दा नकारात्मक संकेतहरूमा प्रतिक्रिया दिन कम गरेको पाइयो ।
रीता बायोका अनुसार प्रोबायोटिक्सले डिप्रेसनका केही लक्षणहरू कम गर्न मद्दत गर्न सक्छ, तर थप अनुसन्धान आवश्यक छ । यसलाई प्रमाणित गर्न अझै पनि थप बलियो तथ्यांक चाहिन्छ, तर प्रोबायोटिक्सले कम साइड इफेक्टका साथ सकारात्मक प्रभाव पार्न सक्छ भन्ने केही संकेतहरू छन् ।
माइक्रोबायोमको संरचना परिवर्तन गर्न धेरै दशक लाग्न सक्छ । तर, केही बानीहरू धेरैजसो मानिसहरूलाई लामो समयसम्म कायम राख्न धेरै गाह्रो हुन्छ ।
प्रतिक्रिया 4