News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वमा तेस्रो विश्वयुद्धको खतरा बढ्दै गएको छ र जैविक हतियारको प्रयोग भएमा ठूलो विनाश निम्त्याउन सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।
- जैविक हतियारमा भाइरस, ब्याक्टेरिया वा विषाक्त वस्तुको प्रयोग हुन्छ र यसको असर लामो समयसम्म रहन्छ भन्ने तथ्यले यसलाई घातक बनाउँछ।
विश्वमा धेरै देशहरूबीचको तनाव तथा चर्किँदै गएका क्षेत्रीय युद्धहरूका कारणले तेस्रो विश्वयुद्धको खतरा बढ्दै गएको देखिन्छ । आणविक शक्तिको होडबाजी र आम विनाशकारी हतियार प्रयोगको सम्भावनाका कारण यदि तेश्रो विश्वयुद्ध भएमा त्यसले ठूलो विनाश निम्त्याउने चेतावनी विश्लेषकहरूले दिने गरेका छन् ।
तेस्रो विश्वयुद्ध भइहालेमा जैविक हतियारको विषयमा पनि चर्चा र बहस अवश्य नै हुनेछ । यिनीहरू सामान्य हतियारभन्दा धेरै घातक हुन्छन् र यिनको असर लामो समयसम्म रहन्छ ।
विभिन्न अन्तर्राष्ट्रिय सन्धि र संयुक्त राष्ट्र संघको चेतावनीका बाबजुद पनि समय–समयमा जैविक हतियारसम्बन्धी षड्यन्त्रका सिद्धान्तहरू चल्दै आएका छन् । रुसले त युक्रेनमा पनि अमेरिकी सहयोगमा गोप्य प्रयोगशालाहरू सञ्चालन भइरहेको आरोप लगाएको थियो। सन् २००० को सुरुवाती वर्षहरूमा अमेरिकाले इराकमा आक्रमण गर्दा पनि इराकसँग जैविक हतियार रहेको आरोप लगाएको थियो ।
के हो जैविक हतियार ? कसरी काम गर्छ ?
जैविक हतियार भनेका ती हतियारहरू हुन्, जसमा गोली–बारुद नभई जीवित वस्तुहरू जस्तै भाइरस, ब्याक्टेरिया वा तीबाट निर्मित विषाक्त वस्तुको प्रयोग गरिन्छ ।
यस्तो जैविक हतियारको कार्य प्रणाली एकदमै सरल हुन्छ । कुनै खास ब्याक्टेरिया वा जीवाणुलाई हावा, पानी, खाना वा जनावरमार्फत फैलाइन्छ अनि त्यो शरीरमा पुग्नेबित्तिकै रोग निम्त्याउन थाल्छ ।
यसले बिस्तारै असर गर्ने भएकाले तुरुन्तै पत्ता लाग्दैन। त्यसैले जैविक हतियारलाई शान्त तर अत्यन्तै घातक हतियार मानिन्छ।
इतिहासमा जैविक हतियारको प्रयोग
जैविक हतियारको प्रयोग इतिहासमा पटक–पटक भएको छ, जसका केही उदाहरण यस्ता छन्ः
बिफरको आक्रमण
१८औं शताब्दीमा बेलायती सैनिक र रैथाने अमेरिकीहरूबीचको संघर्षमा यसको प्रयोग भएको थियो । बेलायती सैनिक कमान्डरहरूले रैथाने अमेरिकीहरूको शक्ति कमजोर पार्न बिफर अर्थात् ‘स्मलपक्स’ बाट संक्रमित भएका व्यक्तिहरूले प्रयोग गरेका ब्लांकेट र रुमालहरू अमेरिकी नागरिकलाई उपहारको रूपमा दिएका थिए।
त्यसबेला बिफरको कुनै उपचार थिएन । त्यसैले उपहारको रूपमा दिइएका ती सामानबाट भाइरसको संक्रमण फैलियो । बिफर रोगबाट धेरै रैथाने अमेरिकीहरूको ज्यान गयो। यो नै विश्वको आधुनिक इतिहासमा रेकर्ड भएको पहिलो जैविक आक्रमण थियो।
भियतनाम युद्धमा ‘एजेन्ट ओरेन्ज’
भियतनाम र अमेरिका बीचको युद्धमा जैविक रूपमा असर गर्ने रासायनिक हतियारको प्रयोग गरियो । ‘एजेन्ट ओरेन्ज’ नामक उक्त रसायनलाई विमानमार्फत बालीनालीमा छर्किएको थियो । त्यो रसायन मानिसका लागि अत्यन्त घातक साबित भयो । लाखौं भियतनामीहरू क्यान्सर र गम्भीर छालाका रोगबाट पीडित भए । भियतनाम युद्धमा यस्तो घातक रसायन प्रयोग गरेको कुरा पछि अमेरिकाले स्वीकार गरेको थियो ।
जैविक हतियारमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध
जैविक हतियारलाई संसारले सबैभन्दा खतरनाक हतियारमध्ये एक मानेको छ । यो हतियारले कम लागतमा ठूलो विनाश गर्न सक्छ । यसमाथि रोक लगाउन विश्वमा कैयन् नियमहरू तय गरिएका छन् ।
तीमध्ये सन् १९२५ को जेनेभा प्रोटोकल एक हो । यो नै पहिलो सम्झौता थियो, जसले जैविक हतियारको प्रयोगमा रोक लगाउन आह्वान गर्यो । तर यसले जैविक हतियार बनाउनमा भने रोक लगाउँदैनथ्यो।
सन् १९७२ को जैविक हतियार महासन्धी यस क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सन्धि हो। यस अन्तर्गत कुनै पनि देशले जैविक हतियार नबनाउने, नराख्ने र प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।
हरेक पाँच वर्षमा यो महासन्धीका सदस्य राष्ट्रहरूको बैठक बसेर नयाँ रोग, प्रविधि र खतराहरूलाई ध्यानमा राखेर नियमहरूलाई थप बलियो बनाउने काम हुने गरेको छ।
के जैविक हतियारको परीक्षण कतै भइरहेको छ ?
आधिकारिक रूपमा कुनै पनि देशले आफूले जैविक हतियार बनाइरहेको स्वीकार गर्दैन किनभने जैविक हतियार महासन्धी अनुसार यसो गर्नु गैरकानूनी हो । तर यससँग सम्बन्धित कैयन् षड्यन्त्रका सिद्धान्तहरू व्याप्त भइरहेका हुन्छन् । जस अनुसार ठूला शक्ति राष्ट्रहरूले निरन्तर गोप्य रूपमा भाइरसहरूमा अनुसन्धान गरिरहेका छन्।
विश्वका धेरै प्रयोगशालाहरूमा द्वैध प्रयोगको प्रविधि हुन्छ । जसमा रोग कारक जीव अर्थात् प्याथोजेनमाथि गरिएको अनुसन्धान औषधिहरू तयार पार्नका लागि मात्र नभई हतियारहरूका लागि पनि प्रयोग हुन्छ।
रुस–युक्रेन युद्धका बीचमा जैविक हतियारको विषय झनै चर्चामा आयो । सन् २०२२ मा रुसले युक्रेनमा अमेरिकाको सहयोगमा गोप्य जैविक हतियारमाथि काम भइरहेको दाबी गरेको थियो । यद्यपि, युक्रेन र अमेरिका दुवैले यो आरोप अस्वीकार गरे । संयुक्त राष्ट्रसंघले पनि रूसी दाबीको जाँच गरेर युक्रेनमा जैविक हतियार कार्यक्रमको कुनै प्रमाण नभएको बताएको थियो।
तेस्रो विश्वयुद्धमा जैविक हतियार प्रयोग होला ?
विश्वमा तेश्रो महायुद्ध भयो भने कस्ता हतियार प्रयोग होलान् ? के शक्ति राष्ट्रहरूले आफ्ना शत्रु मुलुकविरुद्ध जैविक हतियारको प्रयोग गर्लान् ? विश्लेषकहरूका अनुसार यस्तो हुने सम्भावना धेरै कम छ । यसका केही कारणहरू छन् ।
पहिलो हो प्रतिरोधको अधिकार । वास्तवमा विश्वमा हरेक देशहरूसँग आत्मरक्षाका लागि प्रतिरोधको अधिकार छ । यदि कुनै देशले जैविक आक्रमण गर्छ भने त्यसको विरुद्धमा परमाणु हतियारसम्म प्रयोग गर्न सकिने सम्भावना हुने भएकाले जैविक हतियार प्रयोग गर्ने मूर्खता कसैले नगर्ला भन्ने अनुमान लगाउन सकिन्छ ।
त्यसैगरी दोश्रो कारण चाहिँ आत्मघाती असरको जोखिम रहेको छ । वास्तवमा जैविक हतियारले आक्रमणकारी स्वयंलाई नै मार्न सक्छ । यस खालका जैविक हतियारको असर आक्रमण गरिएको देशमा मात्रै पर्छ भन्ने हुँदैन । त्यसको असर फैलिँदै आफ्नैं देशमा आउन सक्ने जोखिम धेरै रहन्छ । कुनै पनि सरकारले आफ्नो देशमा नै फैलिएर लाखौंको ज्यान लिने यस्तो हतियार प्रयोग गर्ने ठूलो जोखिम लिन चाहँदैन भन्ने आँकलन गर्न सकिन्छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4