
News Summary
Generated by OK AI. Editorially reviewed.- बाम्का बजारको आगलागी पीडितका लागि एक करोड रुपैयाँ सहयोग संकलन भएको छ।
- आगलागी २०८२ जेठ २३ गते भएको थियो र करिब १८ करोडको क्षति भएको थियो।
- सहयोगमा सरकारी, गैरसरकारी र व्यवसायी समूहले रकम र सामग्री प्रदान गरेका छन्।
१७ असार, बाजुरा। बाजुराको बाम्का बजारका आगलागी पीडितका लागि हालसम्म एक करोड सहयोग भएको छ । २०८२ जेठ २३ गते दिउँसो भएको भीषण आगलगीबाट पीडितका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट राहत सामग्री तथा आर्थिक सहित एक करोड सहयोग भएको हो ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँको संयोजकत्वमा बनेको राहत संकलन तथा व्यवस्थापन समितिका अनुसार हालसम्म ८३ लाख ६९ हजार ६ सय १७ रुपैया आर्थिक सहयोग भएको छ । जसमा बैंकमार्फत ६६ लाख २७ हजार ६ सय ३२ रुपैयाँ, नगद हस्तान्तरण १४ लाख ४० हजार ९ सय ८५, घोषणा भई बाँकी रहेको २ लाख ११ हजार र समितिमा नगद प्राप्त ९० हजार सहयोग भएको छ ।
त्यस्तै नगर प्रमुख राम बहादुर बानियाँले विभिन्न निकायबाट पुनःस्थापनाका लागि करिब १८ लाख बराबरका आवश्यक सामग्री सहयोग भएको छ । उनले समितिको खातामा जम्मा भएको ६७ लाख ८२ हजार ८ सय ६७ रुपैयाँको चेक आइतवार एक औपचारिक कार्यक्रमकाविच पीडितलाई हस्तान्तरण गरिएको बताए ।
उक्त आगलागीबाट पीडितका लागि यसअघि सुदूरपश्चिम प्रदेश सरकारले केही राहत सामग्रीसहित ४० लाख आर्थिक सहयोग गर्ने घोषण गरेको थियो । त्यस्तै पीडितलाई जिल्लाका स्थानीय तह, विभिन्न व्यक्ति तथा गैरसरकारी संघ संस्थाबाट समेत आर्थिक सहयोग भएको छ ।
त्रिवेणी नगरपालिकाले आगलागी पीडितलाई १० लाख सहयोगको घोषणा गरेको छ भने बुढीगंगाले ५ लाख रुपैयाँ खातामा जम्मा गरेको थियो । त्यस्तै बाम्का बजारका व्यवसायीको पहलमा मात्रै पीडितका लागि ९ लाख ३ हजार २ सय ८० र बाजुरा उद्योग वाणिज्य संघको पहलमा ३ लाख ५४ हजार १ सय ५० संकलन भएको थियो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय बाजुरालगायत विभिन्न निकाय तथा संस्थाबाट राहत सामग्री सहयोग भएको जनाएको छ । बाम्का बजारका आगलागी पीडितहरुका लागि अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट राहत संकलन भइरहेको छ ।
आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन धमाधम टहरा निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको जनाएको छ । २०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो ।
उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक क्षति भएको छ । आगलागि बाट १८ करोड बढीको क्षति भएको थियो ।
प्रतिक्रिया 4