News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको हिमाली गाउँपालिका–३ बौडीस्थित नेती खोलामा १५ वर्षअघि सुरु भएको झोलङ्गे पुल निर्माण अझै सम्पन्न भएको छैन।
- पुल नहुँदा वर्षादमा काठेसाँघु बगाएर आवतजावत बन्द हुन्छ र १० वर्षमा नौलेलगायत ३ जनाको मृत्यु भएको छ।
- झोलङ्गे पुल निर्माणका लागि गरिबी निवारण कोष, गाउँपालिका र स्थानीयवासीले रकम खर्च गरिसके पनि काम अलपत्र अवस्थामा छ।
१७ वैशाख, बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ बौडीस्थित नेती खोलामा १५ वर्षअघि सुरु भएको झोलङ्गे पुल निर्माण अझै सम्पन्न भएको छैन । नेती खोलामा पुल नहुँदा विकट गाउँ बौडी तथा आसपासका स्थानीयलाई आवतजावतमा निकै समस्या हुने गरेको छ ।
२०६७ सालमा निर्माण सुरु भएको पुल १५ वर्षदेखि अलपत्र अवस्थामा रहेको हिमाली गाउँपालिका–३ का पूर्ववडाध्यक्ष ध्यानबहादुर रोकायाले बताए ।
उक्त पुल गरिबी निवारण कोषले २ वर्षमा निर्माण गरिसक्ने गरी सम्झौता गरेको थियो । तर निर्माण सुरु भएको १५ वर्षसम्म पनि सम्पन्न नभएको तत्कालीन निर्माण समितिका अध्यक्ष रङ्गलाल लुवारले बताए ।
सदरमुकाम मार्तडीबाट एक साता लाग्ने उक्त खोलामा झोलङ्गे पुल निर्माणका लागि ४३ लाख २९ हजार ६६८ रुपैयाँ लागत स्टमेट गरिएको थियो । तर रकम अपुग हुने भन्दै ५१ लाख ७२ हजारको स्टमेट बनाइएको थियो । २५ लाख बढी खर्च भए पनि पुल बन्ने–नबन्ने कुनै टुंगो छैन । पुल बन्ने स्थानमा काम भएको वा गरिरहेको निसान समेत छैन ।
पुल नहुँदा केही समय पहिला खोला तर्ने बेला स्थानीय नौले रोकायाको मृत्यु भएको थियो । १० वर्ष यता नौलेलगायत ३ जनाको खोला तर्ने क्रममा मृत्यु भएको छ ।
वर्षादको समयमा काठेसाँघु बगाएर आवतजावत नै बन्द हुन्छ । हिउँदमा पनि काठेसाँघुबाट खसेर ५ वर्ष यता १३ जना घाइते भएको स्थानीय अगंलाल रोकायाले बताए ।

बौडी गाउँको कक्षा ८ सम्म पढाइ हुने विद्यालय नेती खोलाभन्दा पारि रहेको छ । पुल नहुँदा वर्षादका चार महिना विद्यालय बन्द हुने गरेको स्थानीय लालबहादुर रोकायाले बताए । बच्चाहरू काठेसाँघु तर्न नसक्ने र आवतजावत गर्न निकै जोखिम हुने भएकाले विद्यालय बन्द गर्नुपरेको उनले बताए । पुल निर्माणका लागि पटकपटक पहल गर्दा पनि कतैबाट वास्ता नभएको उनको गुनासो छ ।
झोलङ्गे पुल निर्माणका लागि गरिबी निवारण कोषमार्फत १६ लाख, गाउँपालिका बाट २ लाख, जिल्ला समन्वय समितिबाट १ लाख रुपैयाँ खर्च भइसकेको छ । त्यस्तै, स्थानीयवासीले एक घरबाट ६ हजारका दरले ६ लाख रुपैयाँ संकलन गरेर सामान खरिद गरेको भए पनि पुल निर्माण कार्य भने अलपत्र अवस्थामै छ ।
‘त्यो रकम अपुग भएपछि घरबाट संकलन गर्यौं । गरिबी निवारण कोषले थप पैसा दिएन । त्यसपछि कतैबाट सहयोग नभएपछि सामान ढुवानी र निर्माण नै अलपत्र रह्यो,’ निर्माण समिति अध्यक्ष रङ्गलाल लुवारले भने ।
खरिद गरिएको सामान ७ वर्षदेखि कोल्टी बजारमै अलपत्र रहेको थियो । त्यो बेला पटकपटक पुल निर्माणका लागि गरिबी निवारण कोष तथा जिल्ला विकास समितिलाई आग्रह गर्दा पनि नबनाएको हिमाली गाउँपालिका अध्यक्ष गाबिन्द्रबहादुर मल्लले बताए । अहिले भने पुल बनाउनका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरिरहेको उनले बताए ।
प्रतिक्रिया 4