४ चैत, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ अन्तर्गत पर्ने छल्दी टारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्माण कार्य निर्धारित समयभन्दा ५ महिना अगावै सम्पन्न भएको छ । स्थानीय बासिन्दा तथा विद्यार्थीहरूको आवतजावत सहज बनाउने उद्देश्यले निर्माण थालिएको उक्त पुल अब सञ्चालनमा ल्याउने तयारी छ ।
सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको १४६ मिटर लामो सस्पेन्सन एन–टाइपको पुल निर्माणको जिम्मा आस्था सम्झना जेभी, अर्घाखाँचीले लिएको थियो । पुल निर्माणका लागि कुल १ करोड ७१ लाख ८४ हजार ४६० रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
निर्माण व्यवसायीसँग २०८२ साल भदौ ३ गते सम्झौता सम्पन्न भई २०८३ साल भदौ ३ गतेभित्र काम सक्ने लक्ष्य राखिएको थियो । तर निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएपछि स्थानीयवासीमा खुसी छाएको छ ।
वर्षायाममा खोलामा पानीको बहाव बढ्दा स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरूलाई आवतजावतमा ठूलो जोखिम मोल्नुपर्ने अवस्था थियो । पुल नहुँदा कतिपय अवस्थामा विद्यार्थीहरू विद्यालय जानबाट बञ्चित हुने अवस्था रहेको रमेश श्रेष्ठले बताए । पुल निर्माण सम्पन्न भएसँगै यी समस्या अन्त्य हुने श्रेष्ठले बताए ।
यो पुल केवल दुई बस्ती जोड्ने संरचना मात्र नभई स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ । अब यसले सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4