+
+
Shares

गुल्मीमा आजदेखि एक हप्तामा चार पटक हवाई सेवा सञ्चालन

नयाँ लागु गरिएको भाडादर अनुसार काठमाडौंबाट रेसुङ्गाका लागि १० हजार ९०२ रुपैयाँ र रेसुङ्गाबाट काठमाडौंका लागि १० हजार ७०२ रुपैयाँ निर्धारण गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते १३:३९

५ वैशाख, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।

यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुङ्गाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुङ्गा–काठमाडौंको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए । नयाँ लागु गरिएको भाडादर अनुसार काठमाडौंबाट रेसुङ्गाका लागि १० हजार ९०२ रुपैयाँ र रेसुङ्गाबाट काठमाडौंका लागि १० हजार ७०२ रुपैयाँ निर्धारण गरिएको उनले बताए ।

निगमले यसअघि काठमाडौँबाट रेसुङ्गाका लागि सात हजार ५०० रुपैयाँ र गुल्मीबाट काठमाडौंका लागि सात हजार ३०० रुपैयाँ भाडादर निर्धारण गरेको थियो ।

विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुङ्गा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा तीन हजार ४०२ रुपैयाँ मूल्य वृद्धि गरिएकोे स्टेसन प्रमुख थापाले जानकारी दिए ।

वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ । नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौँ–रेसुङ्गा सेवा सञ्चालन हुँदै आएको छ ।

गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन् । सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ । गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?