
News Summary
Generated by OK AI. Editorially reviewed.- सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेले बेलायतको क्याम्ब्रिजमा आयोजित सम्मेलनमा काठमाडौं मेट्रो रेल विकासको रूपरेखा प्रस्तुत गर्यो।
- डा. विनोदलाल अमात्यले काठमाडौंमा मेट्रो रेलको आवश्यकताको वकालत गर्दै यसको लागत र सम्भाव्य स्रोतहरू उल्लेख गरे।
- डा. अमात्यका अनुसार मेट्रो रेलले काठमाडौं उपत्यकाभित्रका १८ नगरपालिकाका साथै ललितपुरको गोदावरी र काभ्रेको बनेपासम्म जोड्न सकिन्छ ।
लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोने यूके) ले गत साता बेलायतको क्याम्ब्रिजमा गरेको दशौं वार्षिक सम्मेलन विशेषगरी विज्ञान, प्रविधि र इन्जिनियरिङमा केन्द्रित थियो ।
उक्त सम्मेलनमा विज्ञहरुले कुल ८ वटा कार्यपत्र पेश गरेकामा एउटा थियो ग्रेटर काठमाडौँ उपत्यकामा मेट्रो रेल विकासको रुपरेखा । कार्यपत्र प्रस्तुतकर्ता थिए- सिभिल इन्जिनियर डा. विनोदलाल अमात्य ।
जुन तेश्रो साता सत्तारुढ दल एमालेका महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा रहँदा पनि सोसाइटीले दूतावासमा एक कार्यक्रम राखेरै काठमाडौंमा मेट्रो रेल सम्भाव्यताबारे बेलिविस्तार लगाएको थियो ।
एमाले महासचिव पोखरेल र राजदूत चन्द्र कुमार घिमिरेसमक्ष सोने यूके अध्यक्ष सुवोध तिमिल्सिना, डा. अमात्य लगायतले भनेका थिए, ‘काठमाडौं उपत्यकामा अब मेट्रो रेल जरुरी भइसक्यो । मास्टर प्लान बनाएर प्रोजेक्ट शुरु गरे २० वर्षसम्म त बन्थ्यो । बरु हामी बेलायतका इन्जिनियरहरु पनि काम गर्न तयार छौं ।’
डा. अमात्यको प्रस्ताव र लागन अनुमान
डा. अमात्यका अनुसार मेट्रो रेलले काठमाडौं उपत्यकाभित्रका १८ नगरपालिका जोड्न सकिन्छ । सिटी सेन्टरबाट ५ वटा लाइनले पूर्व पश्चिम, उत्तर दक्षिण कनेक्ट गर्छ । यो रुट १९२. ५ किमी दुरी छ र जग्गा अधिग्रहणसहित यसको अनुमानित बजेट २५ बिलियन डलर लाग्ने आकलन छ ।

काठमाडौं लाइन अन्तर्गत बनेपा, भृकुटीमण्डप थानकोट एवं पाटनलाइन अन्तर्गत गोदावरी, भृकुटी मण्डप र बुढानीलकण्ठ गरी दुई रुटको दुरी ६२. ५ किमी लामो हुनेछ । यसको बजेट १० बिलियन डलर र निर्माण कार्य सम्पन्न गर्न करिब १२ वर्ष लाग्ने अनुमान छ ।
माथि उल्लेखित दुई रेल लाइन चलाउन ३ हजार ५ सय वर्क फोर्स (कामदार) आवश्यक हुन्छ भने निर्माणका बेला त हजारौंले रोजगारी पाउनेछन् । निर्माण सामग्रीका कम्पनीहरु पनि चल्ने भए । रेलसँगै कमर्सियल युनिट वृद्धि र समग्र जीडीपी नै बढ्ने उनी बताउँछन् ।
तर, यति ठूलो खर्च कसरी जुटाउने ? डा. अमात्य भन्छन्, ‘प्रत्यक्ष वैदेशिक लगानी, थोरै ब्याजदरमा ऋण (सफ्ट लोन), ग्रीन क्लाइमेट फण्ड, करदाताबाट उठाएको रकम, पब्लिक शेयर, निजी क्षेत्रको लगानी जस्ता श्रोतबाट मेट्रो रेल असम्भव छैन ।’
दूरदर्शी दृष्टिकोण आवश्यक
पूर्वाधार निर्माणमा दख्खल राख्ने बेलायती कन्सल्टयान्ट कम्पनी आरएसके ग्रुपमा कार्यरत सिभिल इन्जिनियर डा. विनोदलाल अमात्यले काठमाडौं उपत्यकामा मेट्रो रेलको वकालत गर्न थालेको यूके आएयता १५ वर्ष भयो ।
उनले आफ्नो अध्ययनको निष्कर्ष नेपालमा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड नेपाल आदिमा सुनाइसके । ‘मैले खासमा नीति निर्मातालाई बुझाउन खोजिरहेको हुँ । तर नेपालमा मन्त्री, ब्युरोक्रयाट्स परिवर्तन भइरहने हुँदा केही काम हुँदैन’, उनले गुनासो गरे । उनी १०, २०, ५०, १०० वर्षको साहसी र दूरदर्शी विकास दृष्टिकोण चाहिने औंल्याउँछन् ।
काठमाडौं मेट्रो रेल विकासको फ्रेमवर्क आउन जरुरी रहेको विज्ञहरुको तर्क छ । फ्रेमवर्कभित्र मोबिलिटी एण्ड कनेक्टिभिटी, (चलायमान र जोड्ने), भूमिगत ठाउँको विकास, व्यवस्थित शहरीकरण, स्टेशनको दायाँ-बायाँ वस्ती विकास (रि-जेनेरेसन), खुल्ला ठाउँको संरक्षण, सभ्यता र संस्कृति प्रवर्द्धन एवं संरक्षण, आर्थिक समृद्धि, एकीकृत यातायात आदि पर्छन् ।
रोजगारी, आर्थिक सम्भावना र उज्ववल भविष्य खोज्दै मानिसहरु काठमाडौंमै आएर बस्ने, घर बनाउने सपनाले गर्दा राजधानी कंक्रिटको जंगल भएको छ, सौन्दर्य नै कुरुप भएको छ । वायु प्रदूषणको ५० प्रतिशत यातायात साधनबाट सृजित इमिसनका कारण भइरहेको छ ।
विज्ञहरु भन्छन् नेपालमा विकासको भिजन नगण्य छ । ट्राफिक जाम भयो भनेर सांस्कृतिक सम्पदा, मन्दिर, पाटी पौवा नष्ट गरेर बाटो फराकिलो पारिन्छ । तर यसबाट मात्र समाधान निस्कने होइन किनकि सवारी साधन फेरि बढिहाल्छन् ।
विगतका प्रयास
काठमाडौं उपत्यकामा रेल सञ्चालनका लागि केही पहल नभएका भने होइनन् । रेल विभागले सन् २०१२ मा कोरियन परामर्शदाताबाट अध्ययन शुरु गरेको थियो ।
जावलाखेलबाट लगनखेलसम्म आकाशे पुलबाट रेल चलाउने सोचका साथ कोरियनले थालेको अध्ययनमा पछि चिनियाँ थपिए । तर, सयौं वर्ष पुरानो मच्छिन्द्रनाथ रथ तान्ने रुट त्यहीँ पर्ने भएकाले ललितपुर नगरपालिकामा छलफल हुँदा त्यसको विरोध भएर अध्ययन नै बन्द भयो ।
सन् २०१८ मा मोनोरेल बनाउने भनेर काठमाडौं र ललितपुर महानगरपालिका मिलेर डीपीआर बनाए तर कार्यान्वयन भएन ।
त्यही साल महाप्रसाद अधिकारी सीईओ भएका बेला लगानी बोर्ड नेपालले इष्ट-वेष्ट लाइन बनेपा, धुलिखेलदेखि थानकोटको रुटमा मेट्रो रेल अध्ययनका लागि टेन्डर आह्ववान गरेको थियो तर अगाडि बढेन ।
ट्राफिक जामका कारण आर्थिक गतिविधिबाट वार्षिक १.२ बिलियन डलर नोक्सान भइरहेको डा. एस चन्दले गरेको एक अध्ययनमा छ ।ट्राफिक जाम हुँदा समय बर्बाद, ट्राफिक व्यवस्थापनमा खर्च, इन्धनमा थप खर्च, दुर्घटना वृद्धि, कार्बन उत्सर्जन वृद्धि आदि हुन्छ । यसकारण मेट्रो रेल उपयुक्त हुने विज्ञहरु बताउँछन् ।
प्रतिक्रिया 4