
News Summary
Generated by OK AI. Editorially reviewed.- गत असोज दोस्रो सातामा काभ्रेपलाञ्चोकमा आएको बाढी-पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्यायो । सरकारले ती क्षेत्रलाई अति प्रभावित सूचीमा राखेको छ।
- जिल्ला समन्वय समिति काभ्रेले भौगर्भिक अध्ययन बिना खानी तथा क्रसर उद्योग सञ्चालन भइरहेको र अध्ययन प्रतिवेदन नबुझाइएको जनाएको छ।
- बेथानचोक गाउँपालिकाले मापदण्ड विपरीत खानी तथा क्रसर उद्योगलाई १५ दिनको म्याद दिएर नियमअनुसार सञ्चालन गर्न निर्देशन दिएको छ र नमाने बन्द गर्ने चेतावनी दिएको छ।
३० असार, काभ्रेपलाञ्चोक । गत असोज दोस्रो सातामा गएको बाढी-पहिरोबाट काभ्रेपलाञ्चोकमा ठूलो मानवीय तथा भौतिक क्षति भयो । धेरै क्षति भएका पालिकाहरूलाई सरकारले अति प्रभावित सूचीमा राख्यो ।
बाढी-पहिरोले अति प्रभावित तिनै पालिकाहरूमा खानी तथा क्रसर उद्योग भने निर्वाध चलिरहेका छन् । विपदपछिको जमिन कस्तो छ भनेर परीक्षणसमेत नभई खानी तथा क्रसर सञ्चालन हुँदा स्थानीय त्रसित भएका छन् ।
सरकारले अति प्रभावित घोषणा गरेको बेथानचोक गाउँपालिकामा भौगोलिक तथा वातावरणीय मूल्याङ्कन समेत पैसामा किनेर खानी सञ्चालनमा आएका छन् । बेथानचोकमा मात्र होइन, जिल्लाका सबै खानी र क्रसर अध्ययनबिना नै सञ्चालनमा आएको पाइएको छ ।
जिल्लामा बाढी-पहिरो प्रभावितस्थलको भौगर्भिक अध्ययन गराई उक्त अध्ययन प्रतिवेदनका आधारमा मात्र खानी तथा क्रसर सञ्चालन गर्ने निर्णय भएको छ । तर अहिलेसम्म प्रतिवेदन नबुझाइएको जिल्ला समन्वय समिति काभ्रेले जनाएको छ ।
बन्द गर्ने भने पनि अनुमतिविनै पुनः सञ्चालन
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको अध्यक्षतामा बसेको बैठकले बाढी-पहिरोपछि खोलाको बहाबले धार परिवर्तन गरेको, बस्तीहरू जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएको, बगाएको, पहिरो गएको, गेग्रानले खोलाहरूको सतह बढेको उल्लेख गरेको थियो ।
बैठकले बस्ती, खानी, खोला, वन क्षेत्र भौगर्भिक अवस्था लगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, गत कात्तिकमै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले समेत गैरकानुनी सञ्चालित ढुंगा तथा क्रसरबाट ठूलो जनधनको क्षति भएको जनगुनासो आएको ठहर गर्दै अवैध सञ्चालन रहेका ढुंगा र क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो ।
तर, दुवै निर्णय कार्यान्वयन नगरी खानी तथा क्रसर उद्योग अनुमतिविनै पुनः सञ्चालनमा आएका छन् । यस्ता खानी न पालिकाले गर्न रोक्छ, न त निर्णय गर्ने निकायले नै ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतमले भूगर्भविद्ले रिपोर्ट दिएपछि मात्र खानी तथा क्रसर चलाउने भन्ने निर्णय भए पनि कार्यान्वयन नभएको बताए । ‘खानी तथा क्रसर व्यवस्थापनमा स्थानीय पालिकाहरू नै जिम्मेवार हुने र जिल्ला समन्वय समितिको अनुगमन गर्ने काम भएकाले के आधारमा स्थानीय पालिकाहरूले खानी तथा क्रसर सञ्चालन गरे, पुनः अनुगमन गर्दैछौं,’ गौतमले भने, निर्णयलाई अटेर गरेका कारण स्थानीय पालिकासँग मिलेर पनौतीका खानीहरू बन्द गरेका छौं ।’
बेथानचोकका खानीलाई एक हप्ताको अल्टिमेटम दिएर ‘वेस्ट क्लियर’ गरेर चलाऊ नत्र बन्द गर्छौं भनेको उनले बताए ।
प्रशासन कार्यालयले ३ माघमा जिल्लाका सबै पालिकालाई गैरकानुनी रूपमा सञ्चालित ढुंगाखानी र क्रसर बन्द गर्न पत्राचार गरेको थियो । तर पत्राचार भए पनि कार्यान्वयनमा गए/नगएकोबारेमा कोही जानकार छैनन् ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग बस्ती, खानी, खोला र वन क्षेत्रको भौगर्भिक तथा वातावरणीय विज्ञ समूहको माग गरे पनि अहिलेसम्म नपठाएको जानकारी दिए ।
क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्डमा राजमार्ग, खोला, नदी, पुल, तालतलैयाबाट ५०० मिटर टाढा, शिक्षण संस्था, स्वास्थ्य संस्था, बस्ती, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक स्थान र सुरक्षा निकायबाट २ किलोमिटर टाढा सञ्चालन हुनुपर्ने उल्लेख छ ।
विशेषगरी बाढी प्रभावित रहेका पालिकाहरू पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढी क्रसर तथा खानी छन् । बेथानचोक गाउँपालिकामा ३ खानी र क्रसर उद्योग सञ्चालनमा छन् । नमोबुद्ध नगरपालिकामा रहेका ४ खानी र क्रसर उद्योगमध्ये विपद्बाट ३ वटामा क्षति पुगेको थियो । अहिले एउटा मात्र सञ्चालनमा छ ।
रोशीमा रहेका ५ मध्ये २ वटा चलेका छन् । पनौतीमा १४ क्रसर तथा खानीमध्ये विपद्पछि ७ खानी र ५ क्रसर उद्योग खुलेका छन् ।
अनुगमनका क्रममा बेथानचोकमा रहेका अधिकांश उद्योगले मापदण्ड पूरा नगरेको र सञ्चालकले बाढी-पहिरोबाट कागजात क्षति भएको भन्दै देखाउन नसकेको स्थलगत अनुगमनका लागि गठित कार्यदलका सदस्य सचिव तथा जिल्ला समन्वय समितिका सूचना अधिकारी भरत सापकोटाले जानकारी दिए ।
पुनः अनुगमन सञ्चालनमा रहेका खानी र क्रसर उद्योगले मापदण्ड पालना नगरेको पाइएकाले स्थलगत अनुगमनका लागि कार्यदल गठन भएको छ । अहिले समितिले पुनः अनुगमनको काम गरिरहेको सापकोटाको भनाइ छ ।
अनुगमन क्रममा अधिंकाश क्षेत्रमा भूधरातलमा परिवर्तन देखिएकाले उक्त स्थानमा नयाँ आईई प्रतिवेदन बनाई उक्त जमिनको भौगर्भिक अध्ययनपछि मात्र खानी तथा क्रसर सञ्चालन गर्नुपर्ने देखिएको सापकोटाले बताए ।
बेथानचोकका खानीमा कसको लगानी ?
बेथानचोकमा रहेका खानी तथा क्रसरमा पूर्व जनप्रतिनिधिहरूको समेत लगानी देखिएको छ । राधाकृष्ण निर्माण सेवामा रामकृष्ण प्याकुरेल र अच्युत संजेलको लगानी छ ।
आधिकारिक रूपमा कागजमा नदेखिए पनि आपसी सहमतिको कागजमा भने यस खानीमा सेयरधनी भनेर बेथानचोक गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिना, पूर्ववडाध्यक्षहरु लालबहादुर श्रेष्ठ र दिलबहादुर श्रेष्ठको समेत लगानी छ ।
यसमा स्थानीयले प्रतिटिपर २ हजार लिने गरी जग्गा भाडामा दिएका छन् । राधाकृष्ण निर्माण सेवाले खानी मात्र सञ्चालन गरेको छ भने भने यसको कच्चा पदार्थ चण्डेश्वरी रोडा ढुंगाले प्रयोग गर्छ ।
चण्डेश्वरी रोडा ढुंगामा रामकृष्ण प्याकुरेल र अच्युत संजेलको लगानी छ । त्यस्तै चलाल गणेशस्थान रोडा ढुंगा उद्योगमा राजाराम कार्की लगायत १० जनाको लगानी छ ।
चलाल गणेशस्थान खनिज उद्योगमा अच्युतराज भण्डारी लगायतको लगानी छ । खानी केही समय पहिले सुरज लामाले सञ्चालन गरेका थिए । यस खानीमा स्थानीय ३२ घरधुरीका स्थानीयले खर्च कटाएर आधाआधा भाग लगाउने सर्तमा जग्गा भाडामा दिएका हुन् । स्थानीयको नेतृत्व भने स्थानीय डिगमान लामाले गरेका छन् ।
अख्तियारमा मुद्दा परेर एसएस कम्पनी बन्द भएको छ । बेथानचोक गाउँपालिकाले समेत उक्त उद्योग बन्द गरेको छ ।
त्यस्तै भर्खरै स्थापना हुन आएको दियालो खानी तथा क्रसर उद्योग दर्ताको प्रोसेसमा रहेको तर उत्खनन् भइरहेको छ । गोर्खामान लामा सञ्चालक रहेको खानीले हाल बन्द भएको एसएस कम्पनीको क्रसर सञ्चालन गरेको छ ।
खानीवालाहरूको पनि छुट्टै गुनासो छ । पछिल्लो समय बैंकबाट लिएको ऋण तिर्न समस्या भएको छ । बेथानचोक- ४ का स्थानीय ६० देखि ७० जनाले टिपरमा लगानी गरेका छन् ।
जग्गा दिएर सञ्चालक बनेका डिगमान लामा खानीको कारण स्थानीय स्तरमा फाइदा पुगेको दाबी गर्छन् ।
गत विपदमा नै पनि खानीका मेसिन थिएनन् भने गाउँपालिकाले महिनौं दिनमा पनि सडक सञ्चालन गर्न नसक्ने अवस्था थियो । तर खानीकै १७-१८ वटा मेसिन चलाएर सडक खोलेको लामाको भनाइ छ ।
चलाल गणेशस्थान खनिज उद्योग प्रालिमा सुक्खा पहिरो, सञ्चालकलाई दशैं, स्थानीयमा त्रास
काभ्रेको बेथानचोक गाउँपालिकामा रहेको चलाल गणेशस्थान खनिज उद्योग प्रालिमा सुक्खा पहिरो गएको छ । माथिबाट खनेर तलतिर झर्दै खन्नुपर्नेमा तलतिर कपेर खन्दा सुक्खा पहिरो खसेको हो । सुक्खा पहिरो खस्ने स्थानको माथितिर बस्ती नभए पनि खानी वरपर बस्ती तथा गणेश आधारभूत विद्यालय छ ।
खानीमा ब्रेकर चलाएका बेला जमिन थर्किन्छ । बालबालिका तर्सिन्छन् । खानीबाट निस्कने धुलोले विद्यार्थी लगायत स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम छ ।
‘घरको सामुन्ने नै उत्खनन् भइरहेको छ, सबै जोखिममा छौं, चिन्ता लाग्छ । बस्ती यहीँ छ, घर यहीँ छ, खेतीकमाइ यहीँ छ, बालबच्चाको पढाइ यहीँ छ, छाडेर कहाँ जानु,’ बेथानचोक- ४ का रामबहादुर तामाङले भने ।
यसरी बस्ती नै जोखिममा पारेर उत्खनन् गर्दा भविष्यमा ठूलो क्षति हुने चिन्ता स्थानीयलाई छ ।
बस्तीमाझ सञ्चालित खानी तथा क्रसर उद्योगका कारण आफूहरू सधैं त्रासमा बस्नुपरेको बेथानचोक-४ चलाल दोभानकी ५० वर्षीया सुनमाया तामाङले बताइन् । ‘डरैडर छ, डर लागेर जाउँ भने कहाँ जानु, खोला घर छेउँमै आयो, त्यतिखेर भागेर ज्यान जोगाइयो ।’
अन्त जान पनि ठाउँ नभएपछि डर लागेर बस्नुको विकल्प नभएको उनको भनाइ छ । ‘पहिलेको घर भूकम्पले ढलायो, अहिले बाढीको त्रास छ । पानी पर्यो कि डर लाग्छ । घर वरिपरि खानी छ, त्यो झरेर खोला थुन्छ कि भन्ने डर छ,’ सुनमायाले बताइन् ।
बाढीको सँगै टिपरको आवाजले राम्रेसँग सुत्न समेत नपाएको सुनमायाको गुनासो छ । ‘रातभर टिपर गुड्छन्, आवाजले सुत्नै सकिँदैन । गुनासो कोसँग गर्नु,’ उनले दिक्दारी सुनाइन् ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी भने मापदण्डविपरीत चलेका खानी तथा क्रसर पालिकाले बन्द गर्ने बताउँछन् ।
उनले अनिवार्य रूपमा वातावरण मूल्यांकन नगरी खानी सञ्चालन गर्न नपाउने बताए । ‘हामीले खानी सञ्चालकहरूसँग बैठक बसेर नियमसंगत खानी चलाउन १५ दिनको म्याद दिएका छौं । त्यस अवधिमा माटो फाल्ने ठाउँ, खानी तथा क्रसरमा तारबार, माटो राख्ने ठाउँमा आरसीसी वाल लगाएर छेक्नपर्ने, खोलामा माटो हाल्न नपाइने गरी सहमति भएको छ,’ पालिका अध्यक्ष अधिकारीले भने, ‘हामीले दिएको म्याद गुज्रिन लाग्यो, यदि अटेर गरे भने नियमानुसार कारबाही हुन्छ ।’
बेथानचोक गाउँपालिकाले अव्यवस्थित तथा मापदण्डविपरीत सञ्चालित खानी तथा क्रसर उद्योगलाई व्यवस्थित बनाउने विषयमा ४ असारमा खानी तथा क्रसर सञ्चालकसँग बैठक राखेको थियो । बैठकमा एक साताको समय राखेर खानीबाट निस्केको डस्टको व्यवस्थापन, खानी तथा क्रसरसँग सम्बन्धित सवारी साधन अव्यवस्थित गरेर पार्किङ गर्न नपाउने, दर्ता तथा नवीकरण, राज्यलाई तिर्नुपर्ने रोल्यटी समयमै बुझाउनुपर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।
तर, पालिकाले दिएको अल्टिमेटम सकिएको पनि झन्डै एक महिना पुगेको छ । पालिकाले सञ्चालित खानी र क्रसर उद्योगलाई तत्काल मापदण्डअनुरूप सञ्चालन गर्न निर्देश गरेको छ । यदि मापदण्ड अनुरूप सञ्चालन नगरे एक हप्तामा बन्द गर्ने गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।
पालिकाले खानी तथा क्रसरलाई नियममा आउन भने पनि पालिका आफैंले कर लिनका लागि ठेकेदार खोजेर सूचना निकालेको छ । पालिकाभित्र रहेका खानी उत्खनन्बाट उत्पादन हुने ढुंगा, रोडा, गिट्टी, ग्राभेल, बेस, माटो, चिप्स, डस्ट आदिको बिक्री÷स्रोत उपयोग शुल्क भनेर मूल्य अभिवृद्धि करबाहेक १३ करोड २ लाख ९० हजार ९६२ रुपैयाँमा ठेक्काको सूचना प्रकाशन गरिएको छ ।
प्रतिक्रिया 4