
News Summary
Generated by OK AI. Editorially reviewed.- मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालको नजिक सरेकाले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लामा बढी पानी पर्ने पूर्वानुमान छ।
- खडेरीसँग जुधिरहेको मधेश प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
- विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको सूचना जारी गरेको छ।
३१ असार, काठमाडौं । मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालको नजिक सरेको छ । यसको प्रभावले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा अघिल्लो दिनको तुलनामा बढी पानी पर्ने पूर्वानुमान छ ।
सुक्खा खडेरीको मारमा परेको मधेश प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार आज राति मधेश प्रदेशका पूर्वी भूभागमा र भोलि राति पूरै मधेश प्रदेशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।
मनसुनको अवधिमा समेत मधेश प्रदेशका जिल्लामा लामो समयदेखि पानी नपर्दा सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । पानी नपर्दा अधिकांश खेतमा धान रोपाइँ हुन सकेको छैन । रोपाइँ गरेका खेत पनि पानी अभावले चिरा परेका छन् । खानेपानीका मुहान समेत सुक्न थालेपछि मधेशमा पानीको हाहाकार छ ।
आज र भोलिको वर्षाले खडेरीमा हल्का राहत मिल्नसक्ने सम्भावना छ । यद्यपि कतिसम्म पानी पर्छ भनेर अहिले नै अनुमान गर्न भने गाह्रो रहेको मौसमविदहरु बताउँछन् ।
मौसमविद महर्जनका अनुसार आज र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भाना छ । यी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद महर्जनले जानकारी दिइन् ।
गएराति पनि ओखलढुंगाको मानेभञ्ज्याङ, सिन्धुलीको सिन्धुलीमाडी, पर्वतको पञ्चासे, अर्घाखाँची लगायतका वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको थियो ।
काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम
मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सर्न थालेपछि बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको सूचना जारी गरेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने साना नदीहरुमा बहाव आकस्मिक रुपमा बढ्न सक्ने छ ।
महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर र आसपासकका जिल्ला भई बग्ने साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने चेतावनी जारी गरेको छ ।
यसैगरी इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत जिल्लामा पनि बाढीको मध्यम जोखिम छ ।
बाढीको मध्यम जोखिम रहेका अन्य जिल्लाहरुमा लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला समेत छन् ।
विभागले सूचना जारी गरी बाढीको जोखिम रहेका क्षेत्रहरुमा सतर्कता अपनाउन भनेको छ ।
प्रतिक्रिया 4