
News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशका अन्तरिम सरकारका प्रमुख प्रा. मुहम्मद युनुसले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतलाई उपहारस्वरूप एक हजार किलो हरिभङ्गा आँप पठाएका छन्।
- यो कूटनीतिक अभ्यासलाई 'म्याङ्गो डिप्लोमेसी' भनिएको छ र भारतसँगको सम्बन्ध सुधारको प्रयासस्वरूप गरिएको हो।
- बंगलादेश सरकारले भारतलाई हिल्सा माछा निर्यातमा रोक लगाएको थियो, तर पछि ३००० टन माछा पठाउने अनुमति दिएको थियो।
३० असार, काठमाडौं । बंगलादेशका अन्तरिम सरकारका प्रमुख प्रा. मुहम्मद युनुसले एक हजार किलो आँप भारत पठाएका छन् ।
‘हरिभङ्गा’ जातका यी आँप भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कूटनीतिक अधिकारीहरू तथा अन्य सरकारी प्रतिनिधिहरूलाई उपहारस्वरूप पठाइएको हो । उत्तरी बंगलादेशमा उत्पादन हुने यो आँप निकै महंगो छ ।
बंगलादेशबाट कूल एक हजार किलो आँपमध्ये पहिलो खेप भारत आइपुगेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भारतसँगको सम्बन्ध सुधारको प्रयासस्वरूप युनुसको यो कूटनीतिक अभ्यासलाई ‘म्याङ्गो डिप्लोमेसी’ अर्थात् ‘आँप कूटनीति’ भनिएको छ ।
बंगलादेशको अन्तरिम सरकारले भारतको केन्द्र सरकारका साथै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र त्रिपुराका मुख्यमन्त्री माणिक साहालाई पनि हरिभङ्गा आँप पठाएको छ ।
बंगलादेशमा हरिभङ्गा आँपलाई प्रिमियम अर्थात् उच्चस्तरीय जातको मानिन्छ । यसको गुणस्तर निकै उच्च हुने विश्वासका कारण भारतमा यसको अत्यधिक माग छ ।
डेली सनका अनुसार, भारतका लागि बंगलादेशी दूतावासका एक अधिकारीले यो उपहार सद्भावको प्रतीकस्वरूप पठाइएको र सोमबारसम्म नयाँ दिल्ली पुग्ने जानकारी दिएका छन् ।
भारतलाई आँप पठाउने परम्परा भने नयाँ होइन । विगतका सरकारहरूले पनि यो परम्परा कायम राख्दै आएका थिए । तर यसपटक यो प्रयास विशेष मानिएको छ, किनभने विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनपछि शेख हसिनाको सरकार पतन भएको थियो ।
हसिनाको सत्ता पतनपछि भारत–बंगलादेश सम्बन्धमा चिसोपन आएको छ ।
बंगलादेशमा सत्ता परिवर्तनसँगै पछिल्लो वर्ष सेप्टेम्बरमा बंगलादेश सरकारले भारतलाई हिल्सा माछा निर्यातमा रोक लगाएको थियो। घरेलु बजारमा आपूर्ति सुनिश्चित गर्न यस्तो कदम चालिएको थियो ।
भारतमा दुर्गा पूजाअघि विशेष गरी हिल्सा माछाको आपूर्ति महत्त्वपूर्ण मानिन्छ । यसले ‘हिल्सा डिप्लोमेसी’ को रूपमा भारत–बंगलादेश सम्बन्धमा विशेष स्थान ओगटेको थियो ।
शेख हसिनाको सरकार पतनपछि यो माछा निर्यातमा पूर्ण रोक लागेको थियो। यद्यपि २१ सेप्टेम्बरमा बंगलादेशले रोक हटाउँदै ३००० टन हिल्सा भारत पठाउने अनुमति दिएको थियो ।
प्रतिक्रिया 4