+
+
Shares
अबिच्युरी :

कहिल्यै नभेटिएकी इला म्याम, जसलाई कहिल्यै बिर्सन सक्दिनँ

सम्भवत: जीवनको उत्तरार्द्धतिर उनीसँग सबैकुरा पुग्दो थियो । धन दौलत, सामाजिक प्रतिष्ठा । खुट्टा तन्काएर आरमका दिनहरू सहजतापूर्वक बिताउन सक्थिन् ।

शिव मुखिया शिव मुखिया
२०८२ असार २९ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारमा स्नातकोत्तर उनी मान्छेहरूबाट भने आजित थिइन्, जसले पशुमाथि बेपर्वाह हिंसा गरिरहेका छन्।

‘इला शर्मालाई कार्डियक अरेस्ट भयो रे’ यो खबरले मेरो मनमा विस्मयको हुरी चल्यो । म अस्थिर र अधीर भएँ । एकतमासले हृदय गति बढ्यो । यस्तो किन भयो ?

मैले उनलाई कहिल्यै भेटेको थिइनँ । कहिल्यै देखेको थिइनँ । राजनीतिप्रति उदासीन मलाई उनको पृष्टभूमि थाहा थिएन । उनको सामाजिक मान-मर्यादा थाहा थिएन । एउटै कुरा थाहा थियो, उनको मुटु सच्चा र सहृदयी छ । त्यही मुटु, जसले उनलाई धोका दियो ।

भौतिक रुपमा नभेटे पनि मलाई उनको हृदयको तरंगले स्पर्श गरेको थियो । त्यो कोमल, स्नेहवती र करुणाले भरिपूर्ण तरंगलाई म राम्ररी महसुस गर्न सक्थें । त्यसैले त इला म्यामलाई म अनुभूत गर्न सक्थें । उनको इच्छा र समर्पणलाई बुझ्न सक्थें ।

हप्तादिन अघि मात्र हुनुपर्छ, उनको म्यासेज आयो । ‘शिवजी, तपाईं यहीँ हुनुहुन्छ ? प्रत्यक्ष भेट्न पाए हुन्थ्यो ।’ त्यसदिन होटल एभरेष्टमा एनिमल नेपालको कार्यक्रम थियो, जहाँ म गएको थिइनँ । मैले आफ्नो अवस्था बताएर जवाफ फर्काएँ । उनको अर्को म्यासेज आयो, ‘ठिकै छ, प्रभात रिमाल, प्रमदा शाह, तपाईं र म छिटैं भेटौं ।’

तर, त्यो भेटको साइत नजुर्दै उनी हामीबाट अलग भइन् । यसरी अलग भइन्, अब कहिल्यै भेटिनेछैन । ‘कहिल्यै भेटिनेछैन’ भन्ने बोधले मलाई गहिरो ग्लानी र पीडा दिएको छ।

किनभने उनी भेट्न चाहन्थिन् । भेटेर धेरै कुरा भन्न चाहन्थिन् । भन्नका लागि उनीसँग कति कुरा थिए होलान् ?

त्यो व्यक्तिगत कुरा थिएन । कुरा थियो, अवोध प्राणीहरूको । पशुप्राणीमाथि हुने बर्बर हिंसा, क्रुरता र अपहेलनाको । त्यही कुराले सायद उनको मुटु दुखाउँथ्यो । बारम्बार रुवाउँथ्यो ।

गत हिँउदको बेला । सानेपामा एउटा सडक कुकुरलाई कसैले बेस्सरी कुटेछन् । यसरी कुटेछन्, खुट्टाको हड्डी टुक्र-टुक्रा भएछ । इला म्यामले मलाई म्यासेजमा भनिन्, ‘७ वर्षको त्यो बुढो कुकुर, जो त्यहीँ जन्मेर जीवनभर त्यही बसे । आज कसैले उसलाई नराम्ररी थला पारेको छ । यो जाडोमा ऊ आफ्नो जीवनका लागि संघर्ष गर्दैछ । आखिर उसले कसको के बिगारेको थियो ?’

सोही कुकुरलाई उपचार गर्न र न्याय दिलाउनका लागि उनले धेरै दौडधूप गरिन् ।

सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारमा स्नातकोत्तर उनी मान्छेहरूबाट भने आजित थिइन्, जसले पशुमाथि बेपर्वाह हिंसा गरिरहेका छन् ।

निर्वाचन आयोगकी आयुक्त भइसकेकी, कानूनकी ज्ञाता, पत्रकारिताको लामो अनुभव सँगालेकी उनी त्यसबेला भने निरीह हुनुपर्थ्यो, जब कुनै पशुप्राणीका खातिर लड्न तयार हुन्थिन् ।

सम्भवत: एकलकाँटे र स्वार्थी मान्छेहरूबाट उनी भयभीत थिइन् । ती मान्छेहरूले पशुप्राणीलाई दुःख दिनसक्छ, सताउन सक्छ भन्ने कुराले उनलाई बेचैन बनाएको थियो । त्यो बेचैनी बेलाबखत प्रकट भइरहेको हुन्थ्यो ।

एकदिन उनले मलाई फोनमा सोधेकी थिइन्, ‘साँच्चै तपाईंले कसरी पशुलाई माया गर्न थाल्नुभयो ?’

मैले आफ्नो कथा सुनाइसकेपछि उनले उत्साहित हुँदै भनेकी थिइन्, ‘ठ्याक्कै म पनि छोरीहरूले गर्दा हो । मेरी छोरीहरू पशुप्राणीको दुःख देख्न सक्दैनन् । असाध्यै माया गर्छन्, सम्मान गर्छन् ।’

सम्भवत: जीवनको उत्तरार्द्धतिर उनीसँग सबैकुरा पुग्दो थियो । धन दौलत, सामाजिक प्रतिष्ठा । खुट्टा तन्काएर आरमका दिनहरू सहजतापूर्वक बिताउन सक्थिन् । तर, उनको सुखमा भाँजो हाल्ने एउटै कुरा थियो मान्छेहरूको पाखण्डीपन । खासगरी पशुप्राणीलाई मान्छेहरूले गर्ने दुर्व्यवहारले उनको चैन खोसिदिएको थियो ।

ती अबोध पशुप्राणीका खातिर केही गर्न सकिएला कि ? यही प्रश्नले उनलाई घेरा हालेको थियो ।

त्यसैले त कतै पशुमाथि अत्याचार भएमा खबरदारी गर्थिन् । न्यायको लागि हारगुहार गर्थिन् । भोको र घाइते पशुका लागि आर्थिक सहयोग गर्थिन् । आफ्नो हिसाबले ती सबै गर्थिन्, जति उनी सक्छिन् । त्यसमा उनको कुनै स्वार्थ थिएन, लोभ थिएन । एकदमै चोखो मनले उनी साथ र सहयोग गर्थिन् ।

एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘जीवनको एउटा धोको छ । उत्तरार्द्धमा यस्तो सामुदायिक मोडल बनाउने जहाँ अन्य प्राणी र प्रकृतिसँग सन्तुलनमा बाँच्न सकियोस् । पारम्परिक तरिकाको कृषि, पर्मा फरेस्ट, फुड फरेस्ट, अनवान्टेड सामुदायिक जनवारहरूको आश्रमसमेतको एउटा मोडल गाउँ बनाउने इच्छा छ ।’

तर, उनलाई समयले पर्खिएन ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?