+
+
Shares

हर्क साम्पाङ लेख्छन्, ‘उसले कति खेर जियो त जीवन ?’

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८२ असार २९ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरानका मेयर हर्क साम्पाङले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पारिवारिक र भावनात्मक पीडालाई सामाजिक सञ्जालमा सेयर गरेका छन्।
  • साम्पाङले देशमा रोजगारी र सुशासनको अभावले नेपालीहरू विदेशिन बाध्य भएको यथार्थ उजागर गर्दै सुधारको आवश्यकता औंल्याएका छन्।

धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा सेयर गरेको एउटा तस्वीर र त्यसमा लेखिएको सन्देशले अहिले व्यापक चर्चा पाइरहेको छ ।

गत बिहीबार (जुलाई १०) मा उनले फेसबुकमा सेयर गरेको यो पोस्टले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पारिवारिक र भावनात्मक पीडालाई मार्मिक रूपमा उजागर गरेको छ । यो सन्देश सामाजिक सञ्जालमा भाइरल बनेर धेरैको मन छोएको छ ।

हर्क साम्पाङले आफ्नो फेसबुक पेजमा लेखेका छन्, हेर्दा मजाकजस्तो देखिने, नौटंकी जस्तो देखिने यो तस्बीरमा एउटा आम नेपाली छोराको पीडा देख्छु म । दिनभर काममा जोतिएर बेलुकी बास स्थानमा आएर आफ्नो साना नानी र अर्धाङ्गिणीको यादमा रातभर कोल्टे फेर्ने त्यो अभागी नेपाली छोराको नियति देखिन्छ ।’

उनले रोजगारका लागि विदेशिनु पर्दा नेपाली युवाले भोग्नुपरेका विभिन्न समस्याबारे उल्लेख गरेका छन् ।

नेपालीको जीवन कहाँको, घरको कि घाटको ? देशको कि परदेशको ? साङपाङले प्रश्न गरेका छन्, ‘उसले कति खेर जियो त जीवन ? ‘

तर मेरो कुरा बुझ्न यो देशलाई २०–२५ वर्ष लाग्ने तर आफूले छिट्टै बुझाउन कोसिस गरिरहेको दावी उनले गरेका छन् ।

यो सन्देशले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको जीवनमा भोग्नुपर्ने भावनात्मक र शारीरिक कष्टलाई गहिरोसँग चित्रण गरेको छ । उनले देशमा रोजगारी र सुशासनको अभावले नेपालीहरू विदेशिन बाध्य भएको यथार्थलाई उजागर गर्दै सुधारको आवश्यकता औंल्याएका छन् ।

पोस्टमा प्रतिक्रिया

हर्क साम्पाङको यो पोस्टमा हजारौंले मर्मस्पर्शी कमेन्टहरू गरेका छन् । धेरैले उनको विचार र नेतृत्वको प्रशंसा गर्दै देशमा परिवर्तनको आशा व्यक्त गरेका छन् ।

साम्पाङको सन्देशमा प्रतिक्रिया दिँदै बिनोद कुमार गौतम लेख्छन् ‘हर्क सर, सबै मेरो कथा लेख्नु भएछ । रुदारुदै थाकेको यो मन यो कथा पढेर फेरि भक्कानिएँ । मेरो जस्तै कथामा बाँच्नेहरूका लागि कथा परिवर्तन गर्न तपाईंको खाँचो छ, सबै वेथिति हटाउन तपाईंकै खाँचो छ, देशमा सुशासन कायम गर्न तपाईंकै खाँचो छ, देशले काँचुली फेर्न तपाईंकै खाँचो छ ।

यो कथालाई सुल्टयाएर लेख्ने समय ल्याउन तपाईंकै खाँचो छ । त्यसैले यो देशले खोजेको एक असल र सपूत मान्छे तपाईं नै हो, तपाईंको विचार, उद्देश्य, ज्ञान र भिजनले देश ढपक्क ढाक्नुपर्छ, अनि तपाईंकै चोखो, स्पष्ट र पारदर्शी भिजनले देश लहलह हुनुपर्छ, विकासको सुन्दर फूलझैं देश फूल्नुपर्छ । तपाईं हाम्रो जीवनको एक अपरिहार्य मान्छे हो, तपाईंलाई सलाम छ हर्क सर ।’

अर्का लिम्बुवान रिभुलेसन नामका प्रयोगकर्ता लेखेका छन् यो पीडा र रियालिटी नेपाली नागरिकलाई लगभग एमाले कांग्रेस सरकार आएदेखि ७० प्रतिशत देखिन्छ कारण रोजीरोटी छैन, पढेर सर्टिफिकेट सिरानी राख्नुपरेको, बिदेसिनु बाध्यता । मैले आफैं भोगिरहेको छु । त्यसैले सानोतिनो रोजगारको व्यवस्था यहाँ बनाइदिए घरजम, बालबच्चासँग दु:खसुख परिवारिक जीवन चल्छ, नत्र कि कफिनमा कि एक्लै बुढेसकालमा हुन्छ ।’

कमेन्टमा तुलसी प्रसाद लेख्छन् ‘परदेशीको पीडा शब्दले पोख्न मिल्ने नै हुँदैन । कति कहालीलाग्दो छ, भोग्नेलाई मात्र थाहा छ । त्यही पसिना बेचेर साहु तिर्न र घर चलाउन पठाएको पैसाको कमिसनले बाँचेका शासकहरूका लागि रेमिट्यान्स अर्थतन्त्रको खम्बा । क्रान्ति धेरै भए तर कुनै क्रान्तिले यस्ता समवेदनालाई छोएन ।

आज केही नयाँ युवाहरू राजनीतिमा आउँदा नयाँ आशाले त्यो चोट सहन सहज बनाएको पक्कै छ तर नेपालीहरूको रगतपसिना चुसेर ढाडिएर नअघाएका भ्रष्ट जुकाहरूलाई सिध्याउने गरी युवा जमातहरूको ऐक्यबद्धता र जनसमर्थन मिल्ने दिन नेपाल र नेपालीको नयाँ जीवनको सुरुवात हुनेछ । तपाईंको अभियानले सार्थकता पाउनेछ । साँच्चिकै देश र देशबासीको सेवाका लागि राजनीतिमा आएको हो भने एकताको प्रयास गर्नैपर्ने हुन्छ । अब नयाँहरू मिलेर पुराना दलहरूलाई हराउन सक्ने गरी मिलेर आउँदो चुनावमा जनतामा जान सल्लाह दिए ।’

हर्क साम्पाङको यो सन्देशले नेपालको वर्तमान सामाजिक र आर्थिक अवस्थालाई गहिरोसँग उजागर गरेको छ । वैदेशिक रोजगारीमा गएका लाखौं नेपालीहरूको पीडा, परिवारबाट टाढा रहँदाको भावनात्मक कष्ट र देशमा रोजगारीको अवसर नहुँदा उत्पन्न बाध्यताले नेपाली समाजको यथार्थ चित्रण गरेको छ ।

उनले देशमा सुशासन र रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने आवश्यकतामाथि जोड दिंदै आफूलाई एक अभियान्ताको रूपमा प्रस्तुत गरेका छन् । उनको यो सन्देशले नेपाली समाजमा गहिरो छलफलको थालनी गरेको छ र धेरैलाई देशमा परिवर्तनको आवश्यकता महसुस गराएको छ ।

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?