
News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त परिवारमा कामकाजी महिलाले कार्यालय, घर र परिवारका अपेक्षाहरूको जिम्मेवारी एकसाथ निभाउँछिन्।
संयुक्त परिवारमा बस्नु एउटा अनौठो अनुभव हो जहाँ माया, ममता, आपसी सम्मान र सम्बन्धहरूको तानाबाना एकै ठाउँमा बुनिन्छ, तर कहिलेकाहीँ त्यही तानाबानामा गाँठो पनि पर्छ । विशेषगरी, कामकाजी महिलाका लागि यो अनुभव झन् जटिल बन्छ । उसको काँधमा कार्यालय वा संस्थाको जिम्मेवारी, घरको व्यवस्थापन र परिवारका अपेक्षाहरूको बोझ एकसाथ हुन्छ।
यस्तो अवस्थामा, बासस्थानलाई साँच्चिकै ‘घर’ बनाउनु कला हो, जसले धैर्य, समझदारी र संवेदनशीलताको हरेक सदस्यबाट माग गर्छ । तर, जब परिवारका सदस्यहरूले एकले अर्काको पीडा नबुझ्ने प्रवृत्ति देखाउँछन्, तब यो कला अझ चुनौतीपूर्ण बन्न जान्छ।
वासस्थान र घरको फरक
वासस्थान त भौतिक संरचना हो जो इँटा, माटो/सिमेन्ट र छाना/छत आदिले बनेको ठाउँ । तर घर ? घर त भावनाको मन्दिर हो, जहाँ प्रेम, विश्वास र आपसी समझदारीले आकार लिएको हुन्छ । एउटी कामकाजी महिलाका लागि, यो मन्दिर बनाउनु सधैं सजिलो हुँदैन ।
बिहान चाँडै उठेर खाना बनाउने, घरका आन्तरिक व्यवस्थापन गर्ने, कार्यालय वा संस्थाको समयसीमामा काम पूरा गर्ने र फर्केर आएपछि घरको जिम्मेवारी सम्हाल्ने । यो दैनिकी उनका लागि सामान्य बनेको हुन्छ । तर, यी सबै जिम्मेवारीहरू निभाउँदा उनको मनमा एउटा प्रश्न उठ्छ, ‘के मेरो परिवारले मेरो थकान र भावनालाई बुझ्छ ?
परिवारिक झमेला र एकले अर्काको पीडा नबुझ्ने संयुक्त परिवारमा आम हुने गर्दछ । हरेक व्यक्तिको आफ्नै संसार हुन्छ । आफ्नै जिम्मेवारी र बोझ हुन्छ । सासू–ससुराको परम्परागत सोच, श्रीमानको आफ्नै व्यस्तता, बच्चाहरूको माग र घरका अन्य सदस्यहरूका फरक–फरक स्वभावले घरको वातावरण जटिल बन्छ ।
यस्तोमा, कामकाजी महिलाको भावनालाई बुझ्ने कोही नहुँदा उनको मन भारी हुनु स्वभाविक नै हो । उदाहरणका लागि, जब उनी कार्यालय वा संस्थाबाट थकित भएर घर फर्किन्छिन्, घरका मुलीले कुनै न कुनै बहानामा केही रुखो वचन सुनाउछन् । उनको मनमा लाग्छ, ‘मैले पनि त दिनभरि काम गरेको छु, मेरो थकान कसले बुझ्ने ?’
यस्ता स-साना कुराहरूले परिवारमा तनाव बढ्छ र बासस्थान घरजस्तो नलागेर बन्दीखाना जस्तो लाग्छ।
हरेक क्रियाको प्रतिक्रिया हुन्छ नै । कसैले मनमा दबाएर भित्र भित्र पिल्सिएका हुन्छन्, कसैले बोलेर वा जवाफ फर्काएर जनाउँछन् त कसैले झगडा नै गरेर । त्यो, आ-आफ्ना संस्कार र पारिवारिक बनोटमा भर पर्छ ।
वासस्थानलाई घर बनाउने उपायहरूः
१. खुला संवाद : परिवारमा हरेक सदस्यले एकअर्कालाई बुझ्न खुला संवाद गर्नु जरुरी छ ।
२. जिम्मेवारीको बाँडफाँट : संयुक्त परिवारमा सबैले आ–आफ्नो जिम्मेवारी लिनुपर्छ ।
३. आफ्नो समय : कामकाजी महिलाले आफ्ना लागि पनि समय निकाल्नुपर्छ । किताब पढ्ने, ध्यान गर्ने वा साथीहरूसँग समय बिताउने जस्ता गतिविधिले उनको मानसिक स्वास्थ्य बलियो हुन्छ । जब उनी आफूलाई माया गर्छिन्, उनले परिवारलाई पनि अझ राम्रोसँग माया गर्न सक्छिन्।
४. संवेदनशीलता र सहानुभूति : परिवारका हरेक सदस्यले एकले अर्काको भावनालाई सम्मान गर्न सिक्नुपर्छ । यदि सासू-ससूराले कामकाजी बुहारीको थकान बुझ्छन् वा श्रीमानले उनको मेहनतको कदर गर्छन् भने घरमा सकारात्मक वातावरण बन्छ ।
कामकाजी महिलाको मनमा कहिलेकाहीँ एउटा गहिरो पीडा हुन्छ, ‘मेरो मेहनत कसैले देख्दैन ।’ कार्यालय वा संस्थामा राम्रो काम गरेको कदर हुन्छ, तर घरमा उनको योगदानलाई सामान्य ठानिन्छ । जब परिवारले उनको मेहनतलाई ‘कर्तव्य’को रूपमा मात्र लिन्छ, उनको मनमा एक्लोपन र निराशा जन्मिन्छ । यो भावनालाई बुझ्न र समाधान गर्न परिवारको सामूहिक प्रयास जरुरी छ।
एउटा वासस्थानलाई घर बनाउनका लागि माया, विश्वास र आपसी समझदारी चाहिन्छ । संयुक्त परिवारमा हरेक व्यक्तिको योगदानले घरको जग बलियो हुन्छ । जब परिवारका सदस्यहरूले एकले अर्काको पीडा बुझ्छन् र सँगै मिलेर जिम्मेवारी बाँड्छन्, तब मात्र बासस्थान साँच्चिकै ‘घर’ बन्छ, जहाँ हरेक व्यक्तिको मनले शान्ति र सुख पाउँछ।
(लेखक पूजा खड्का दाङ लमही–६ स्थित गोरखा मोडेल सेकेन्डरी स्कुलमा कार्यरत शिक्षिका हुन्।)
प्रतिक्रिया 4