+
+
Shares

‘धान फल्ने खेतमा घर फल्यो, के असार के झरी ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धुम्म आकाश र झरीले प्राकृतिक सौन्दर्य र कृषिमा प्रभाव पारेको छ।
  • गायक गुरुङले फेसबुकमा समाजको परिवर्तन र कृषिको वर्तमान अवस्थालाई व्यङ्ग्य गरे।
  • सामाजिक प्रतिक्रिया र सरकारी असक्षमतालाई आलोचना गर्दै कृषिमा परनिर्भरता र भू-अतिक्रमणको समस्या देखिएको छ।

धुम्म आकाश छ । पानी पर्लापर्ला जस्तो छ । वर्षातको पीडा सहन वरिपरि हरिया जङ्गल तयार छ । तर झरी पछि जीवन पाउने खेतहरू छैन । जसलाई उपत्यकाको सम्म भागमा रोपिएको कंक्रिट बालीले विस्थापित गरिसकेको छ ।

त्यहाँ धेरैको सपना फल्ला फुल्ला-अलग्गै कुरा । धेर पर नजाऔं, यो मौसममा दशकअघि त्यहाँ धान फलिरहेका हुन्थे । किसानहरू असारे भाका गाउँदै गह्रा मिलाइरहेका हुन्थे । महिलाहरू धानको बीउ उखालिरहेका हुन्थे । धानका बीउ रोपिरहेका हुन्थे ।

कठै ! अब फोटो/भिडिओमा बाहेक त्यो दृश्य देख्न पाइन्न ।

सायद नेपथ्यका अमृत गुरुङले यही सोचे । फोटोग्राफीमा सौखिन उनले डाँडाबाट पोखरा उपत्यकाको फोटो खिचे । र, आफ्नो भाव पोख्न फेसबुकमा लेखिदिए-धान फल्ने खेतमा घर फल्यो, के असार के झरी ?

स्टाटस दुई पङ्क्तिको छ । तर, शहरभन्दा टाढा बसेर कृषिमा रमाइरहेका गुरुङले तितोसत्य लेखे । आफूलाई पोलेको ‘ऐया’ लेखे । दु:खेको मन लेखे । समाजको फेरिँदो अनुहारमाथि गहिरो व्यङ्ग्यचित्र कोरे । नोस्टालियाको एटम बम फ्याँके।

उनका यी दुई पङ्क्ति यति शक्तिशाली छन्, जसले हाम्रो यथार्थ देखाएको छ । हाम्रो विवशता देखाएको छ । भविष्य देखाएको छ ।

उनी भन्छन्, धान रोप्ने खेत छैन भने झरीको पनि काम छैन । झरीसँग कोमल मनहरू कसरी टाढिन सक्छ? तर, टाढिनु पर्ने अवस्था जाइलाग्यो । यसको एउटै कारण – असारमा धान रोप्ने खेत छैन । त्यहाँ घर फलिसकेको छ ।

ऐया! गायक गुरुङले बेस्मारी झापड नै हाने ।

अन्योलता आउँछ । गायक । कृषक । यात्रु । फोटोग्राफर । विचारक । के भन्ने उनलाई । बिल्ला जे सुकै होस्, असारमा उनी शुद्ध किसान हुन् ।

खेतमा रमाउने मनले जब खेत नै देख्दैन, के त्यो सजाय भन्दा कम हुन्छ र !

त्यसैले त उनको उक्त पोस्टमा धेरै प्रयोगकर्ताले उही भावका कमेन्ट गरेर बाढी ल्याएका छन् । नेपाल क्रमश: धानमा परनिर्भर हुँदै गइरहेको कुरा सम्झेका छन् । अव्यवस्थित सहरीकरणमाथि प्रश्न गरेका छन् । सरकारको असक्षमतालाई लिएर सवाल उठाएका छन् ।

तिनैमध्येका एक इड्हिङ्गो कुमार लिम्बुले लेखिदिए, ‘खेतमा प्लटिङ घाटी र गमलामा धान, इन्डियन चामल खाएर नेपालीको शान’

अनि पिताम्बर ढकाल पनि लेख्छन्, ‘पैसा पाए जहाँ पनि घर फल्न दिन्छ सरकार’

त्यस्तै मानन्धर शरणले लेख्छन्, ‘रेमिट्यान्सको प्रतिफलले भन्दा पनि सरकारी जागिरेहरू, मन्त्री, सांसदहरूको राज्यको ढुकुटी घिच्नेहरूको प्रतिफल हो यो,’

उनीहरू रिपोर्टका लागि टिपिएका प्रतिनिधि प्रयोगकर्ता हुन् । तर सङ्क्षिप्तमा अहिले भइरहेको भू-अतिक्रमण, कृषि पेशामा कमि आइरहेको रुचि, बालीमा बढ्दो परनिर्भरता आदिबारे प्रश्न उठाइएका छन् ।

000

सङ्गीत र लोक कल्याणले बनाएको गायक गुरुङको पहिचान त छँदै छ । आजकल उनी कम गायक, बढी किसान हुँदै गइरहेका छन् । उनलाई कृषक भन्दा मन फिटिक्कै दु: ख्दैन ।

आमनेपाली जस्तै उनले पनि सानैदेखि खेतीपातीलाई नजिकबाट नियालेका छन् । परिवारको मुख्य पेसा कृषि नै भएकाले उनी खेतीको महत्त्व र यसको दुःखसुख दुवैबाट परिचित छन् ।

संगीत पछि आएको हो । नाम, दाम त पछि पाएको हो । तिनको भोक गर्न चाहेको भए उनले सहजै कृषि पेशा छाड्न सक्थे । बजारमै बसेर अन्य कुनै ठाउँमा उब्जेको खानेकुरा किनेर खान सक्थे ।

तर आफ्नो जरा नबिर्सने र माटोसँग जोडिएर बस्न रुचाउने उनले सहरिया जीवन त्यागिदिए । र, पोखरा नजिकैको आफ्नो पुर्ख्यौली गाउँमा खेतीपातीमा रमाउन थाले ।

कृषक जीवनबारे उनले विभिन्न मिडिया अन्तर्वार्ता तथा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आइरहेका छन् ।

000

यो लेखिरहँदा पनि बाहिर सिमसिम असारे झरि दर्किरहेको छ । नजिकै कहीँ कतै धान खेत छैन । खेत नभएपछि धान रोप्ने कुरै भएन । धान रोप्न नसकिने भएपछि असारे झरीको कामै भएन ।

उनकै गीतको याद आयो,

टाढा, धेरै टाढा उडेका रंगीन चरा
धर्तीमा कहिले फिर्लान् ?
आकाशको कालो मैलो हटी
घाम जुन, कहिले खुल्लान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?