+
+
Shares

नेपाल-जर्मन उद्योग वाणिज्य संघद्वारा ‘नेपाल-यूके लगानी बैठक’ आयोजना

बैठक २ जुलाई २०२५ मा लन्डनस्थित हाउस अफ लर्ड्समा सम्पन्न भएको हो । बैठकको उद्देश्य नेपाल र बेलायतबीचको व्यापार तथा लगानी सम्भावनाबारे छलफल गर्नु र लगानी प्रवर्द्धन गर्नु थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २० असार काठमाडौंमा नेपाल–यूके लगानी बैठक २ जुलाई २०२५ मा लन्डनमा सम्पन्न भयो।
  • बैठकको उद्देश्य नेपाल र बेलायतबीच व्यापार र लगानी सम्भावनाबारे छलफल गर्नु थियो।
  • नेपालले लगानीमैत्री वातावरण सुधार गरेको र ऊर्जा, पर्यटन, पूर्वाधार क्षेत्रमा आकर्षक अवसरहरू रहेको बताए।

२० असार, काठमाडौं । नेपाल-जर्मन उद्योग वाणिज्य संघ र नेपाल सेन्टर यूकेसँगको संयुक्त सहकार्यमा ‘नेपाल–यूके लगानी बैठक’ आयोजना गरेको छ ।

उक्त बैठक २ जुलाई २०२५ मा लन्डनस्थित हाउस अफ लर्ड्समा सम्पन्न भएको हो । बैठकको उद्देश्य नेपाल र बेलायतबीचको व्यापार तथा लगानी सम्भावनाबारे छलफल गर्नु र लगानी प्रवर्द्धन गर्नु थियो ।

बैठकमा नेपाल तथा बेलायत सरकारका उच्च तहका अधिकारीहरू तथा वरिष्ठ व्यवसायीहरूको सहभागिता थियो । लगानी बोर्ड नेपाल (आईबीएन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले नेपालका ऊर्जा, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रमा रहेको लगानी सम्भावनाबारे जानकारी गराए ।

नेपालले लगानीमैत्री वातावरण सुधार गरिसकेको बताउँदै अहिलेको समयमा विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गएको उनले उल्लेख गरे । ज्ञवालीले नेपालले प्रक्रियाहरू सरल बनाइसकेको तथा विभिन्न आकर्षक प्रोत्साहन पनि प्रदान गरिरहेको जानकारी दिए ।

उनले जलविद्युत, विमानस्थल आधुनिकीकरण तथा आतिथ्य क्षेत्र (हस्पिटालिटी) मा लगानी भित्र्याउने प्रक्रियामा रहेको जनाउँदै बेलायती लगानीकर्तालाई नेपालका असीमित सम्भावना उपयोग गर्न आग्रह गरे ।

सोही बैठकमा बारोनेस बर्माले नेपाल, भारत र चीनको बीचमा रणनीतिक रूपमा अवस्थित भएकाले लगानीका लागि उपयुक्त गन्तव्य भएको विचार राखिन् । उनले बेलायती व्यवसायले पनि नेपाललाई महत्त्वपूर्ण लगानी गन्तव्यका रूपमा लिनुपर्ने आवश्यकता औंल्याइन् ।

त्यसैगरी बेलायतस्थित उद्यमीहरूले लगानीमैत्री सुधारलाई प्रशंसा गरे तापनि कार्यान्वयनमा देखिने चुनौतीबारे पनि चिन्ता व्यक्त गरे । लन्डनस्थित प्रविधि उद्यमी जर्ज चाकोले नेपालका नीतिलाई आशाजनक भनेका थिए तर कार्यान्वयनमा निरन्तरता आवश्यक रहेको सुझाव पनि दिए ।

‘गिनी लन्डन’ का रविन्द्रजंग लामिछानेले लगानीका क्रममा देखिने विभिन्न प्रशासनिक झन्झटको विषयमा बताए । बैठक आयोजना गर्न सहजीकरण नेपाल-जर्मन उद्योग वाणिज्य संघ अध्यक्ष सन्तोषचन्द्र कुँवरले गरे । उनले इच्छुक सबै लगानीकर्तालाई नेपालमा लगानी गर्न अनुरोध गर्दै नेपाल विदेशी लगानीका लागि आशाजनक गन्तव्य बन्दै गएको बताए ।

बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले गम्भीर लगानीकर्ताहरूलाई आवश्यक सहयोग प्रदान गर्न दूतावास तयार रहेको बताए । उनले नेपालमा रहेका लगानी सम्भावना तथा लगानीलाई दिगो र आकर्षक बनाउने उपायबारे प्रकाश पारे ।

बैठकमा बेलायत–नेपाल सहकार्यका सफल उदाहरण पनि प्रस्तुत गरिएको थियो, जसमा फेसन डिजाइनर संयुक्ता श्रेष्ठले आफ्नो अनुभव सुनाएकी थिइन् ।

नेपाल सेन्टर यूकेका निर्मलकुमार थापाले उक्त लगानी संवादले नेपाल–यूकेबीचको आर्थिक साझेदारी सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले बेलायती व्यापार प्रतिनिधिमण्डल यसै वर्ष काठमाडौं भ्रमणमा आउने अपेक्षा रहेको पनि जानकारी गराए । थापाले विभिन्न बेलायती कम्पनीहरूले नेपाली व्यवसायमा चासो देखाइरहेका संकेत प्राप्त भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?