
News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको कोप्चे क्षेत्रलाई ‘अरेन्ज सिटी’ नामकरण गरी पर्यटक आकर्षित गर्न स्थानीयले अभियान थालेका छन्।
- स्थानीय युवाले घर र संस्कृति संरक्षण गर्दै ‘डिजिटल फास्टिङ जोन’ र पर्यटकमित्र वातावरण निर्माण गर्न प्रयास गरिरहेका छन्।
- कोप्चे फेस्टिभल र होमस्टे सञ्चालनले पर्यटक संख्या बढ्दै गएको र क्षेत्रको पुनर्जागरण हुने अपेक्षा गरिएको छ।
२० असार, धनकुटा । भारत जयपुरको पहिचान हो ‘पिंक सिटी’ । संसारमा धेरै यस्ता सहर छन्, जसले कुनै न कुनै हिसाबमा आफ्नो पहिचानका लागि नौलो प्रयोग गर्छन् ।
यस्तै नवीन प्रयोग गर्दै नेपालको पूर्वी पहाडी जिल्ला धनकुटाका स्थानीय यतिबेला पर्यटक आकर्षित गर्न जुटेका छन् । धनकुटा सदरमुकाम धनकुटा बजारको तल्लो बेल्ट ‘कोप्चे’ नेवार समुदायको बाहुल्य भएको क्षेत्र हो । कोप्चेलाई स्थानीयले सुन्तला रङले रङ्ग्याएका छन् ।
स्थानीय सबै घरमा स्वस्फूर्त सुन्तला रङ लगाएर ‘अरेन्ज सिटी’ अभियान थालिएको अभियन्ता भविश्यक कर्माचार्यले जानकारी दिए ।
‘यहाँ कुनै कुनै घर सय वर्ष पुरानासम्म छन्,’ कर्माचार्यले अनलाइनखबरसँग भने, ‘यी घर ठुल्ठूला भूकम्पबाट पनि ढलेनन् ।’
कोप्चेका ९० प्रतिशत घर माटोले बनेका छन् । सुरुमा सेतो रङ पोतिएका घरमा स्थानीयले पछिल्लो ३/४ वर्षयता सुन्तला रङ लगाउन थालेका हुन् । यसका लागि स्थानीय तथा अन्य तहको सरकारबाट कुनै खर्च नलिइएको कर्माचार्यले बताए ।
विगतमा धनकुटा सुन्तलाका लागि समेत चर्चित थियो । अहिले सुन्तलाका बोट मासिएका छन् । तर, पहिचान कायम राख्न युवाले अब नयाँ अवधारणा थालेका हुन् ।
यी घर र स्थानीय संस्कृति संरक्षण गर्दै युवा अहिले धनकुटाको कोप्चेलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन जुटेका छन् । ‘अब बिस्तारै हामी यो सबै क्षेत्रलाई ‘भेहिकल फ्रि जोन’ बनाउँदै छौं,’ उनले भने ।
अरेन्ज सिटीलाई परम्परामा ढाल्ने स्थानीय युवाको तयारी छ । ‘घर अगाडि स–साना केटाकेटी स्वस्फूर्त खेल्न सकुन्, वृद्ध बुबाआमा टोल छिमेकमा विना कुनै डर टहलिन सकुन्, हामी अरेन्ज सिटीलाई सोही अवधारणामा विकास गर्दैछौं,’ उनले थपे, ‘हामीले पछाडि छाडेको हाम्रो संस्कृति देख्न, अनुभव गर्न र समीपमा पुग्न यहाँ पुग्नुपर्छ भन्ने मान्यता स्थापित गर्ने लक्ष्य छ ।’
अरेन्ज सिटीलाई ‘डिजिटल फास्टिङ जोन’ बनाइने उनले बताए । ‘कम्तीमा एकदिन भए पनि तपाईं डिजिटल दुनियाँबाट पर बस्न सक्नु हुन्छ,’ कर्माचार्यले भने, ‘आज मानिसले चाहेर पनि यस्तो वातावरण पाउन सकेको छैन ।’
उनका अनुसार यो क्षेत्रमा अहिले ९० प्रतिशत नेवार समुदायको बसोबास छ । कोप्चेमा मात्र १ सय हाराहारी घरमा सुन्तला रङ पोतिएको छ । पछिल्लो समय खुलेका होटल र होमस्टे समेत सोही अवधारणा अनुसार बनाइएको छ ।
धनकुटा बजारको मुख्य चहलपहल भन्दा कोप्चे तल पर्छ । तुलनात्मक रूपमा शान्त छ । ‘कोप्चेरामै भएकाले यो ठाउँलाई कोप्चे भनिएको हो,’ कर्माचार्य भन्छन्, ‘यहाँको कमजोरीलाई नै हामी हाम्रो बलियो पक्ष बनाउन जुटेका छौं ।’
कोप्चेलाई अरेन्ज सिटीका रूपमा विकास गर्न थालेपछि पहिले घर छाडेर गएका स्थानीय क्रमशः घर फर्कन थालेका छन् । नेवारी संस्कृति अनुसार यहाँ नियमित मेला पर्व आयोजना हुन्छन् ।
फ्लोरिकल्चर फेस्टिभल, फुड फेस्टिभल मार्फत यहाँ पर्यटक तान्न खोजिएको उनले बताए । धनकुटाका सबैभन्दा चर्चित गन्तव्य भेडेटार तथा हिलेमा अहिले पनि सबैजसो मौसममा पर्यटक चहलपहल छ । यी दुवै गन्तव्यमा आन्तरिक तथा वाह्य पर्यटक पर्याप्त पुग्छन् । यिनको तुलनामा सदरमुकाम धनकुटा बजारमा कम पर्यटक पुग्छन् ।
संघीयता कार्यान्वयन र गाउँ–गाउँमा सडक सुविधा पुगेसँगै बजारमा क्रमशः चहलपहल घट्दो छ । यसको परिपूर्तिका लागि नवीन खोजमार्फत पर्यटक आकर्षित गर्न खोजिएको स्थानीयले बताए ।
स्थानीय विनोद प्रधानका अनुसार धनकुटा बजारको माथिल्लो बेल्टमा सडक विस्तार हुँदै गएपछि पुरानो बजार कोप्चेको व्यापार–व्यवसाय धराशायी बनेको थियो । त्यसपछि निराश युवाले पुराना घरलाई ऐतिहासिक सम्पदाका रूपमा विकास गरी पर्यटक तान्ने जमर्को थालेका हुन् ।
हाल कोप्चे पुनर्जागरण अभियान चलाइएको छ । अभियानमा युवा बाहुल्य छ । सोही अभियानको आयोजनामा १ वैशाख २०८२ का दिन कोप्चे फेस्टिभल चलाइन्छ । पछिल्लो समय पुरानो सहर हेर्न आउने पर्यटक संख्या बढ्दो क्रममा रहेको समेत स्थानीयले जानकारी दिए ।
अहिले कोप्चेमा मात्र आधा दर्जन होमस्टे सञ्चालनमा छन् । स्तरीय होटल र लजसमेत खुलेका छन् । होटलहरूले आफ्ना उत्पादन विस्तार गरिरहेका छन् ।
स्थानीय कर्माचार्य होटलले स्केटिङ गेममार्फत आन्तरिक आगन्तुक आकर्षित गरिरहेको जानकारी दिएको छ । कोप्चे आसपास पदमार्ग बनाइएको छ । जसमा पर्यटकले मर्निङ वाक गर्दै आनन्द लिन सक्छन् ।
धनकुटासम्म सहज सडक यातायातको सुविधा छ । भेडेटार र हिलेजस्ता आकर्षक गन्तव्यका बीचमा रहेको धनकुटा बजार आफैं अब गन्तव्य बन्ने प्रयासमा छ । यसले एकदिन भए पनि पर्यटकको बसाइ लम्ब्याउने स्थानीयले आश गरेका छन् ।
कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहँदा कोप्चे पर्यटक स्वागत गर्न तयार देखिएको छ ।
प्रतिक्रिया 4