
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको पञ्जाबमा भारतीय वायु सेनाको धावनमार्गको १५ एकड जमीन किन्ने र बेच्ने घटनामा अनुसन्धान भइरहेको छ।
- फिरोजापुर जिल्लाका आमा छोरा विरुद्ध सरकारी सम्पत्ति बेचबिखनको मुद्दा दर्ता गरिएको छ।
१९ असार, काठमाडौं । भारतको पञ्जाबमा आमा छोराले धावनमार्गको जग्गा नै बेचिदिएको पाइएको छ ।
कुनै हलिउड र बलिउड चलचित्रको कथाजस्तो लाग्ने यो घटना भारत–पाकिस्तान सीमा नजिक पर्ने पञ्जाबको फिरोजापुर जिल्लाको हो ।
फिरोजापुरको फत्तुवाला गाउँमा अवस्थित भारतीय सेनाको ऐतिहासिक धावनमार्ग बिक्री भएको पाइएको घटना सार्वजनिक भएको बीबीसीले जनाएको छ ।
उक्त धावनमार्ग भारतीय सेनाले युद्धका बेला प्रयोग गर्ने गरेको थियो । करोडौं रुपैयाँ पर्ने सरकारी सम्पत्तिको अपचलनको घटना सन् १९९७ कै भएपनि हालै मात्र घटनामा संलग्नविरुद्ध अनुसन्धान अघि बढाइएको छ ।
उक्त धावनमार्ग १५ एकड क्षेत्रफलमा फैलिएको समाचारमा उल्लेख छ । पञ्जाब प्रहरीका अनुसार किर्ते गरी सरकारी सम्पत्ति बेचबिखनमा संलग्न आमा छोराविरुद्ध मुद्दा दर्ता गरिएको छ । उनीहरुले १५ एकड चर्चेको भारतीय वायु सेनाको धावनमार्ग आफ्नो नीजि जग्गा भनेर बेचेको खुलेको छ ।
प्रहरीले बताएअनुसार उक्त जमीन धावनमार्गका लागि भारतको स्वतन्त्रता प्राप्ति अघि नै किसानहरुलाई मुआब्जा दिएर खरिद गरिएको थियो ।
तर, राजस्व अभिलेख (मालपोत)मा भने हालसम्म उक्त जमीन सरकारीकरण नगरी उनै किसानहरुका नाममा रहेको खुलेको छ ।
अभिलेखमा सरकारीकरण नभएको फाइदा उठाउँदै उनीहरुले पछि जग्गा बेचेको देखिएको छ । यसबारे पञ्जाब र हरियाणा उच्च अदालतले आदेश दिएपछि पञ्जाब प्रहरीले घटनाबारे चासो दिएको थियो ।
धावनमार्गको बेचिएको जग्गाबारे सन् २०२३ को डिसेम्बरमा अवकाशप्राप्त अधिवक्ता निसान सिंहले पञ्जाब र हरियाणा उच्च अदालतमा याचिका दायर गरेका थिए ।
पञ्जाब र हरियाणा उच्च अदालतले ३० अप्रिल २०२५ मा पञ्जाब सतर्कता ब्यूरोका महानिर्देशकलाई चार हप्ताभित्र जाँच पूरा गर्न निर्देशन दिएको थियो ।
ब्यूरोले २० जुनमा जाँच पूरा गरी प्रतिवेदन जारी गर्यो । त्यसपछि २८ जुनमा अभियुक्तहरुविरुद्ध उजुरी दर्ता गरेको हो ।
पञ्जाब प्रहरीले फिरोजापुर जिल्लाको कुलगढी थानास्थित ऊषा अंसल र उनका छोरा नवीन अंसलविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।
उनीहरु फिरोजापुर जिल्ला निवासी भएपनि हाल भने दिल्लीमा बस्दै आएका छन् । प्रहरीका अनुसार उनीहरुविरुद्ध भारतीय दण्ड संहिताको धारा ४१९, ४२०, ४६५, ४६७, ४७१ र १२० बी अनुसार मुद्दा दायर गरिएको छ ।
अभियुक्त नवीन अंसलतर्फबाट पैरवी गरिरहेका अभिवक्ता प्रतीक गुप्ताले उनीहरुले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको बताएका छन् ।
घटनाबारे अनुसन्धान गरिरहेका डीसएपी करन शर्माले ‘उनीहरुले उक्त जमीन अझै पनि आफ्नै भएको बताए’ तर, यथार्थमा सो भारतीय वायु सेनाको नै भएको बताउँछन् ।
यस्तो छ घटनाको अन्तर्य
द्वितिय विश्व युद्धका बेला सन् १९३९ माा ब्रिटिस सरकारले रोयर एयर फोर्सको प्रयोगका लागि टुक्रिनुअघिको भारतमा ९८२ एकड जमीन खरिद गरेको थियो । उक्त धावनमार्ग पनि त्यसैको हिस्सा हो । तर, बिभाजनपछि उक्त धावनमार्ग भारतीय वायु सेनाको स्वामित्व रहन गयो ।
सन् १९६४ मा तत्कालीन भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले खाद्यान्न संकटका दौरान रक्षा मन्त्रालयको स्वामित्वमा रहेको जग्गा खेतीका लागि प्रयोग गर्ने योजना अघि बढाएका थिए ।
उक्त योजनाअनुसार खेतीको रेखदेखका लागि भन्दै धावनमार्गको जमीन मदन मोहन लाल र उनका भाई टेक चन्द्रलाई दिइयो । तर, मदन मोहनको मृत्युपछि उनको नामबाट अधिकार प्रत्यायोजन पत्रका आधारमा जमीन बिक्री गरियो ।
पञ्जाब सतर्कता ब्यूरोको प्रतिवेदन अनुसार डुमनी वाला गाउँका एक महिला र उनका छोराले राजस्व विभागका केही अधिकारीसँगको साँठगाँठमा सन् १९९७ मा उक्त जमीन नीजिकरण गर्न सफल भएको खुलेको हो । नीजिकरणपछि उनीहरुले धावनमार्गको १५ एकड जमीन अरुलाई नै बेचिदिएका हुन् ।
पञ्जाब सतर्कता ब्यूरोका अनुसार फत्तुवाला र त्यस आसपासको चार गाउँको जमीन वायु सेनाले स्वतन्त्रताअघि नै खरिद गरेको थियो । त्यसपछि त्यहाँ अवतरण र उडानका लागि धावनमार्ग बनाइएको थियो ।
तर, अभिलेखमा केही जमीन वायु सेनाको नाममा हस्तान्तरण नहुँदा व्यक्तिकै नाममा रहन गयो ।
जमीन किन्ने भन्छन्– हामीलाई अनावश्यक अदालत तानिँदैछ
धावनमार्गको जमीन खरिद गरेका व्यक्ति जागीर सिंहले आफूले नीजि जमीन खरिद गरेको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘सेनासँग हाम्रो कुनै लडाइँ थिएन, हामीले यो जमीन सिधै मालिकसँग किनेका हौं तर, अब अनावश्यक तनाव दिँइदैछ, उक्त जमीनमाथिको कब्जालाई लिएर उच्च अदालतमा हाम्रो मुद्दा चलिरहेको छ ।’
बीबीसी हिन्दीमा प्रकाशित रिपोर्ट अनुसार जमीन खरिद गरेका व्यक्ति सिंहले सन् १९७५ मै त्यहाँ खेती गर्दै आएको र सन् १९९७ मा खरिद गरेका बताएका छन् । उनले सन् २००१ मा वायु सेनाले आफूहरुलाई त्यहाँबाट निकालिदिएको र मुद्दा लड्दै आएको बताएका छन् ।
उनले भनेका छन्, ‘हाम्रो एउटा पानी तान्ने मोटर अहिले पनि त्यहीँ छ, हाम्रो एउटै माग छ– हाम्रो जमीन फिर्ता देऊ ।’
धावनमार्गको इतिहास
उच्च अदालतमा मुद्दा दायर गरेका निशान सिंहका अनुसार भारतीय वायु सेनाले सन् १९६२, १९६५ र १९७१ को लडाइँका दौरान उक्त धावनमार्ग प्रयोग गरेका थिए ।
यो धावनमार्ग सन् १९३२ देखि प्रयोगमा आएको उनले बताए । भारतीय वायु सेनाले पनि आफ्नो याचिकामा सो कुरा उल्लेख गरेको छ । सन् १९३२ अघि नै वायु सेनाले अधिग्रहण गरेको जमीन हाल वायु सेनाकै कब्जामा छ ।
प्रतिक्रिया 4