+
+
Shares

‘नानो स्पेस’बारे मन्त्री पन्तलाई अन्तरिक्ष प्रतिष्ठान नेपालको ब्रिफिङ, यस्तो छ प्रगति

उपग्रह निर्माणमा नेपाल आफैं सक्षम रहेको र प्रक्षेपणका लागि अन्तराष्ट्रिय सहयोग आवश्यक हुने भन्दै मास्केले मन्त्रालयसँग समन्वय गरिदिन पनि अनुरोध गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तरिक्ष प्रतिष्ठान नेपालले भू–उपग्रह निर्माण प्रगति र विद्यार्थीको सहभागिता जानकारी गराएको छ।
  • भारत र चीनको सहायतामा नेपालले साना उपग्रह निर्माण र प्रक्षेपणको तयारी गरिरहेको छ।
  • मन्त्री रघुजी पन्तले आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताएका छन्।

२० असार, काठमाडाैं । भू–उपग्रह निर्माणको प्रगतिबारे  अन्तरिक्ष प्रतिष्ठान नेपालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जानकारी गराएको छ ।

शुक्रबार प्रतिष्ठानका तर्फबाट वैज्ञानिक आभास मास्केले नेपालमा भू–उपग्रह निर्माण प्रक्रिया, प्राप्त सफलताहरु र विद्यालयस्तरका विद्यार्थीले समेत निर्माणमा सहभागिता जनाएको अनुभवबारे मन्त्रालयलाई जानकारी गराएका हुन् ।

सन् २०१७ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सहकार्यमा भू–उपग्रह निर्माण योजना अघि बढाइएको थियो ।

अहिले तयार पारेको उपग्रह (नानो स्पेस) को तौल करिब एक किलोग्राम रहेको र यसलाई भारत वा चीनको सहायतामा प्रक्षेपण गर्ने तयारी भइरहेको मास्केले जानकारी दिए ।

भारतको अनन्थ नामक संस्थासँग प्राविधिक सहकार्य भइरहेको र संयुक्त राष्ट्रसंघको अन्तरिक्ष शाखा युएनओओएसएसँग पनि समन्वय भइरहेको उनले बताए ।

उपग्रह निर्माणमा नेपाल आफैं सक्षम रहेको र प्रक्षेपणका लागि अन्तराष्ट्रिय सहयोग आवश्यक हुने भन्दै मास्केले मन्त्रालयसँग समन्वय गरिदिन पनि अनुरोध गरे ।

ठूला उपग्रह (करिब ५० देखि ६० किलोग्रामसम्मका उपग्रह) निर्माण गर्न सक्ने क्षमताबारे पनि जानकारी दिँदै मास्केले त्यसका लागि मन्त्रालयमार्फत प्रस्ताव पेस गर्नुपर्ने आवश्यकता औंल्याए ।

हाल तयार ‘नानो स्पेस’ नाम दिइएको सो उपग्रहले भने रियल टाइम डाटा सङ्कलन गर्न सक्ने, साना सन्देश सेवा (रिमोट स्मल मेसेजिङ सर्भिस) मार्फत विभिन्न भौगोलिक क्षेत्रबाट सूचना पठाउन सक्ने, मल्टिस्पेक्ट्रल डाटा र वातावरणीय तथ्याङ्क प्रदान गर्न सक्ने क्षमताको रहेको अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ ।

वैज्ञानिक मास्केका अनुसार यसमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी ‘सुपर रेजोल्युसन’ प्राप्त गर्नसमेत सकिन्छ ।

मास्केको प्रस्तुतिकरण पछि मन्त्री रघुजी पन्तले मन्त्रालयमा प्रस्ताव आएपछि अध्ययन गरी आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताउँदै अनुसन्धान र नवीन प्रयासमा निरन्तर लागिरहन सुझाव दिएका थिए ।

यसअघि वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले मिलेर ‘नेपाली स्याटलाइट–१’ निर्माण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?