+
+
Shares

यी चार क्षुद्रग्रहमा किन छ वैज्ञानिकको नजर ?

क्षुद्रग्रहहरूमाथि निरन्तर निगरानी र अध्ययन अनुसन्धान भइरहनुको कारण केवल यिनीहरु पृथ्वीको लागि सम्भावित खतरा मात्र भएर होइन । वास्तवमा यी क्षुद्र ग्रहहरुले जीवनको उत्पत्तिको बारेमा समेत महत्वपूर्ण रहस्य बोकेका हुन्छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैज्ञानिकहरूले लगातार क्षुद्रग्रहहरूको निगरानी गरिरहेका छन् किनभने ती पृथ्वीको लागि खतरा र जीवनको उत्पत्तिको रहस्य बोकेका हुन्छन्।
  • अप्रोफिस, २०२९ मा पृथ्वीको नजिकै गुज्रने क्षुद्रग्रह, पृथ्वीको गुरुत्वाकर्षणले यसको कक्ष र बनावटमा असर पार्न सक्छ।
  • नासाले २०२२ मा डिमोर्फोसमा स्पेस यान ठोक्काएर परीक्षण गरेको थियो, जुन सफल भएको छ।

काठमाडौं । जब कुनै साइन्स फिक्सन फिल्ममा पृथ्वीमा ठोक्किन आउँदै गरेको क्षुद्रग्रह देखाइन्छ, तब मात्र हामीले क्षुद्रग्रह त खतरनाक आकाशीय पीण्ड रहेछ भनेर सोच्ने गर्छौं। तर हामी आम सर्वसाधारणले यी आकाशीय पिण्डको बारेमा ध्यान नदिएपनि विश्वका वैज्ञानिक तथा खगोलशास्त्रीहरुले लगातार यी चट्टानी पीण्डहरूलाई नजिकबाट निगरानी गरिरहेका हुन्छन्।

यसरी क्षुद्रग्रहहरूमाथि निरन्तर निगरानी र अध्ययन अनुसन्धान भइरहनुको कारण केवल यिनीहरु पृथ्वीको लागि सम्भावित खतरा मात्र भएर होइन । वास्तवमा यी क्षुद्र ग्रहहरुले जीवनको उत्पत्तिको बारेमा समेत महत्वपूर्ण रहस्य बोकेका हुन्छन्।

क्षुद्रग्रह के हो?

झन्डै ४.६ अर्ब वर्षअघि जब सौर्यमण्डलको निर्माण भयो । त्यसबेला ग्रह तथा उपग्रह बाहेक बाँकी रहेका केही चट्टानी टुक्राहरूलाई नै आज हामी एस्टेरोइड वा क्षुद्रग्रह भन्छौं।
आजसम्म १० लाखभन्दा बढी क्षुद्रग्रहहरू पहिचान भइसकेका छन्। तीमध्ये धेरैजसो मंगल र वृहस्पति ग्रहको बीचमा रहेको मेन एस्टेरोइड बेल्टमा पाइन्छन्।

तर कहिलेकाहीँ केही क्षुद्रग्रह पृथ्वीको धेरै नजिक आउँछन्। कतिपय त पृथव्वीसँग ठोक्किने खतरा समेत हुने भएकाले संसारभरका वेधशाला अर्थात् प्लानेटेरियमबाट वैज्ञानिकहरुले ती क्षुद्रग्रहमा नजर राखिरहेका हुन्छन्।

बेलायतको ओपन युनिभर्सिटीकी प्रख्यात खगोलशास्त्री प्राध्यापक मोनिका ग्रेडीका अनुसार धेरै क्षुद्रग्रहहरूमा जैविक यौगिक पाइन्छ। जुन जीवनको सुरुवातका लागि आवश्यक तत्वहरू हुन्। सम्भवतः यीनै पीण्डहरूमार्फत पृथ्वीमा जीवको विजारोपण भएको हुनसक्छ।

त्यसैले यी क्षुद्रग्रह पृथ्वीमा जीवनको विकासका बारेमा रहस्य पत्ता लगाउने दस्तावेज हुन् । तथापि यी खतरनाक पीण्ड पृथ्वीमा ठोक्किने जोखम पनि हुने गर्दछ।

वैज्ञानिकहरूको निगरानीमा रहेका चार प्रमुख क्षुद्रग्रह

१. अपोफिस (Apophis) : २०२९ मा पृथ्वीको नजिकैबाट गुज्रने

सन् २००४ मा फेला परेको अपोफिसको व्यास करिब ३४० मिटर छ, जुन तीन वटा फुटबल मैदानजति ठूलो हो।

सन् २०२९ मा यो क्षुद्रग्रह पृथ्वीको सतहबाट मात्र ३२ हजार किलोमिटर टाढाबाट गुज्रनेछ। यो दूरी यति कम हो कि यसलाई नांगो आँखाले पनि देख्न सकिनेछ।

वैज्ञानिकहरूका अनुसार अपोफिस यतिधेरै नजिक आउँदा पृथ्वीको गुरुत्वाकर्षणले यसको कक्ष र बनावटमा असर पार्न सक्छ। जसले गर्दा यो पीण्ड पृथ्वीसँग ठोक्किने जोखिम पनि हुनसक्छ।

२. २०२४  YR४ : चन्द्रमासँग ठोक्किने जोखिम

नासाले सन् २०२४ मा पत्ता लगाएको यो क्षुद्रग्रह करिब १५ तले भवन बराबर अर्थात ६५ मिटर भन्दा लामो छ। सुरुमा यो क्षुद्र ग्रह पृथ्वीमा ठोक्किन सक्ने अनुमान थियो। तर पछि त्यो खतरा अस्वीकार गरियो।

खगोलविदका अनुसार यो क्षुद्रग्रह चन्द्रमासँग ठक्कर खाने सम्भावना ३.८% छ। तर, यो पिण्ड चन्द्रमासँग ठोक्किए पनि यसले चन्द्रमाको कक्ष तथा गति प्रभावित हुनेछैन।

३. डिडिमोस र डिमोर्फोसः क्षुद्रग्रह र यसको चन्द्रमा

डिडिमोस एक क्षुद्रग्रह हो भने डिमोर्फोस यसको चन्द्रमा हो। सन् २०२२ मा अमेरिकी अन्तरीक्ष संस्था नासाले डार्ट मिशन मार्फत् डिमोर्फोसमा स्पेस यान ठोक्काएर एउटा महत्वपूर्ण परीक्षण सम्पन्न गरेको थियो।

अन्तरीक्षयान ठोक्काएर कुनै खतरनाक पीण्डको दिशा बदल्न सकिन्छ कि सकिँदैन भन्ने परीक्षण नासाले गरेको थियो, जुन सफल भयो। युरोपेली अन्तरिक्ष एजेन्सीको हेरा मिशन सन् २०२६ मा उक्त क्षेत्रमा पुगेर विस्तृत अध्ययन गर्नेछ।

४. साइकः पृथ्वीको भित्री भाग बुझ्ने चाबी

साइक एक धातुले भरिएको क्षुद्रग्रह हो, जुन मंगल र वृहस्पति ग्रहको बीचमा छ। साइक कुनै प्राचीन ग्रहको केन्द्र भाग अर्थात् कोर हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ।

उक्त क्षुद्रग्रहको विस्तृत अध्ययनले पृथ्वीको आन्तरिक संरचना कसरी बन्यो भन्ने कुरा बुझ्न ठूलो सहयोग पुग्नेछ। नासाले सन् २०२३ मा विशेष मिशन सुरु गरी यसलाई नजिकबाट अवलोकन गरिरहेको छ।

हजारौँ नयाँ क्षुद्रग्रह पत्ता लाग्दै

अघिल्लो महिना दक्षिण अमेरिकी मुलुक चिलीको भेरा रुबिन प्लानेटोरियमले १० घण्टामा नै २ हजार वटा नयाँ क्षुद्रग्रहहरू पत्ता लगायो। सामान्यतया पृथ्वी र अन्तरिक्षका यस्ता वेधशालाहरूले एक वर्षमा करिब २० हजार नयाँ क्षुद्रग्रहहरू पत्ता लगाउँछन्।

आम सर्वसाधारणको दृष्टिमा यी क्षुद्रग्रह महत्वहीन वा विनाशकारी मात्रै लाग्न सक्दछन्। तर वैज्ञानिकहरूको दृष्टिमा चाहिँ यी आकाशीय पीण्डहरू जीवनको सुरुवातदेखि लिएर पृथ्वीको रक्षासम्मका लागि अत्यन्त महत्वपूर्ण स्रोत हुन्। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?