
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीका सुदेश पराजुलीले पार्टी नेतृत्वमाथि प्रहार भएको भन्दै आपत्ति जनाए।
- रामकुमारी झांक्रीले अध्यक्ष माधव नेपालमाथि अभिव्यक्ति दिएर पार्टीभित्र आलोचना सुरु भएको थियो।
- पराजुलीले राजनीतिक प्रतिशोध र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दुरुपयोगको आरोप लगाए।
२० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले केही मान्छेहरू पार्टी नेतृत्वमाथि प्रहार गर्न थालेको भन्दै आपत्ति जनाएका छन् ।
विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा स्थायी कमिटी सदस्य रामकुमारी झांक्रीतर्फ इंकित गर्दै ‘सेलिब्रेटि बन्न र स्टन्टबाजी’ गर्न मूल नेतृत्वमाथि प्रहार भएको बताएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा दर्ता भएसँगै अध्यक्ष माधव नेपालमाथि विशेष अदालतबाट ३५ लाख धरौटी माग गर्दै छाडिएको थियो ।
सोही विषयलाई लिएर स्थायी कमिटी सदस्य झांक्रीले रुपन्देहीमा पुगेर अध्यक्ष नेपालमाथि दिएको अभिव्यक्तिलाई लिएर पार्टी पंक्तिमा आलोचना सुरु भएको थियो । लगत्तै, पार्टी अनुशासन विभागले उनलाई स्पष्टीकरण पनि सोधेको छ ।
‘कोही कोही मान्छेहरू सेलिब्रेटि बन्न र स्टन्टबाजी गर्नका लागि हाम्रो पार्टीका मूल नेतामाथि प्रहार गर्न थालेका छन्,’ रामकुमारीको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै पराजुलीले भने, ‘म भन्न चाहन्छु, यो देशमा समकालीन राजनीतिमा निष्कलंक मान्छे भनेको कमरेड माधव नेपाल मात्रै हो । यसमा कुनै द्वीविधा छैन ।’
उनले बजारमा भइरहेका यस्ता स्टन्टबाजी गरिरहेको भन्दै समय आएपछि गुन तिर्ने पनि बताए ।
‘हामीले बजारमा गएर स्टन्टबाजी गरिरहेको हेरिरहेका छौं । समय आएको छैन । समय आएपछि राम्रैसँग गुन तिर्न आउँछ,’ पराजुलीले भने ।
उनले अध्यक्ष नेपालविरुद्ध राजनीतिक प्रतिशोध रहेको भन्दै त्यसविरुद्ध डटेर सामना गर्ने पनि बताए ।
‘हामी डटेर सामना गर्छौं । राजनीतिक प्रतिशोध र ष्ड्यन्त्रको । हामीले एउटा राजनीतिक प्रतिशोधनको डटेर सामना गर्छौं भन्दा कानुनी प्रक्रियालाई पनि डटेर सामना गर्छौं,’ पराजुलीले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारलाई दुरुपयोग गरेको पनि बताए ।
‘हिम्मत नहार्न भन्दै तमाम पंक्ति र पार्टी कार्यकर्ता रहेका छन्,’ पराजुलीले भनेका छन्, ‘बुख्याँचा बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गरेको आरोप लगाउँदै हिसाबकिताब गर्ने पनि उनले बताए ।’
प्रतिक्रिया 4