+
+
Shares

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘मैले गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा उहाँ क्रान्तिको पनि नेता हो, शान्तिको पनि नेता हो।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले गिरिजाप्रसाद कोइरालालाई क्रान्ति र शान्तिको नेता बताए।
  • उनले कोइरालाले लोकतान्त्रिक आन्दोलन र गणतन्त्र स्थापनामा नेतृत्व दिएको उल्लेख गरे।
  • कार्यक्रममा विभिन्न नेताहरूले कोइरालाको योगदान र नेतृत्वको प्रशंसा गरे।

२० असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘मैले गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा उहाँ क्रान्तिको पनि नेता हो, शान्तिको पनि नेता हो।’

राष्ट्रपति पौडेलले राजनीतिको दिशा बदल्ने सामथ्र्य राखेर गिरिजाप्रसादले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने, शान्ति प्रक्रियालाई अगाडि बढाउने र गणतन्त्र स्थापन गर्ने पछिल्लो कालखण्डको महत्त्वपूर्ण तीन राजनीतिक परिघटनालाई नेतृत्व लिएको स्पष्ट पारे । ‘जीवनको उत्तरार्द्धमा गिरिजाप्रसाद कोइराला नेताबाट राजनेताको स्थान प्राप्त गर्न सफल हुनुभयो जो, हामी सबैका लागि सधैँ प्रेरणाको स्रोत रहिरहनुभयो।’ राष्ट्रपति पौडेलले भने ।

उनले आफ्नो निर्णयमा जस्तोसुकै जोखिम मोल्ने आँट राख्ने कोइरालामा आत्मविश्वास अजेय भएको बताए । उनले भने, ‘त्यसैले उहाँ निरन्तर लोकतन्त्रको लडाइँमा लागिरहनुभयो । काममा नथाक्ने र साथीहरूलाई अगाडि बढ्न प्रेरित गर्ने उहाँको बानी थियो । अप्ठ्यारोमा पनि उहाँभित्रको लोकतन्त्रको दियो कहिल्यै निभेन।’

राष्ट्रपति पौडेलले शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट मात्र हामीले राखेको मुलुकको समृद्धिको लक्ष्य पूरा हुने बताए ।

उनले भने, ‘जनता आफैँले बनाएको संविधान हामीले पाएका छौँ । जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राखेको अभिष्ट हो । शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट मात्र यो लक्ष्य पूरा हुन्छ।’

उनले आर्थिक विकासको मोडेलमा दार्शनिक मतभिन्नता रहँदारहँदै पनि पुँजीवादी र कम्युनिष्ट चिन्तनबीच मध्यमार्गी धार समाएर गिरिजाप्रसदको कार्यकालमा आर्थिक विकासको मोडेलले संसारभर विभिन्न नकारात्मक आर्थिक झड्का आउँदा पनि नेपालको अर्थतन्त्र केही हदसम्म जोगिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र राजनीतिक दलहरूले जनताको सेवाका लागि विश्वास र भरोसा बढाउन केन्द्रित हुनुपर्ने बताए । साथै उनले अहिले प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै सबैको अपनत्व बढाएर जनताको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व गिरिजाप्रसाद कोइराला सबैले मानेका अविभावक भएकामा सबैको सहमति रहेको उल्लेख गरे । उनले शान्ति प्रक्रियापछिका घटनाले स्व कोइराला परिपक्वता बढाएर देश र जनताको सेवामा नेतृत्व गर्ने सामथ्र्य बढाएको नेता हुनुभएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्व कोइराला दृढ इच्छाशक्ति, क्रियाशीलता र सक्रियता भएका नेता रहेको बताउँदै उनका योगदानको चर्चा गरे । त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समानता र समावेशितासहितको लोकतन्त्रलाई अघि बढाउन स्व कोइरालाको योगदान रहेको भन्दै प्रसंशा गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू महेश आचार्य र सुजाता कोइरालाले स्व गिरिजाप्रसाद कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको अतुलनीय योगदान चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?